दुईदिने राजकीय भ्रमणमा प्रधानमन्त्री शाह दिल्ली पुगे, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

आइतबार साँझ विदेशमन्त्री जयशंकरसँग भेट गर्ने प्रधानमन्त्री सोमबार मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् ।

Artha Kendra Artha Kendra
आइतबार, ६ मंसिर २०८३, ४:२६ PM
—
फन्ट
दुईदिने राजकीय भ्रमणमा प्रधानमन्त्री शाह दिल्ली पुगे, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

काठमाडौं । दुईदिने राजकीय भ्रमणका लागि भारत गएका प्रधानमन्त्री बालेन्द्र शाह नयाँदिल्ली पुगेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट आइतबार दिउँसो काठमाडौंबाट प्रस्थान गरेका उनी नेपाली समयअनुसार ३ बजेर ३० मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

विमानस्थलमा भारत सरकारका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भइरहेको यो भ्रमण प्रधानमन्त्री बनेपछि शाहको पहिलो द्विपक्षीय विदेश भ्रमण हो । उनको स्वागतमा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झन्डासहित दुवै देशका प्रधानमन्त्रीको तस्बिर राखिएको छ ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहितको टोली दिल्ली पुगेको छ ।

पहिलो दिन जयशंकरसँग भेट

दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री शाह विमानस्थलबाट सिधै होटल ताज मानसिंह जाने तालिका छ । त्यहीँ आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले उनीसँग शिष्टाचार भेट गर्नेछन् ।

सोही साँझ अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनालसहित नेपाल र भारतका उद्योगी–व्यवसायीबीच लगानीसम्बन्धी अन्तरक्रिया हुने कार्यक्रम छ ।

सोमबार मोदीसँग वार्ता

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाह भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गर्नेछन् । नयाँदिल्लीको हैदराबाद हाउसमा प्रधानमन्त्री मोदीसँग उनको एकल वार्ता र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि संयुक्त पत्रकार सम्मेलन र मोदीले आयोजना गर्ने दिवाभोजको कार्यक्रम छ ।

भ्रमणका क्रममा निर्माण सम्पन्न भएका ऊर्जा तथा कनेक्टिभिटी परियोजनाको संयुक्त उद्घाटन र नयाँ परियोजनाको शिलान्यास हुनेछ । विभिन्न क्षेत्रका समझदारीपत्र आदानप्रदान हुने तथा नेपाल–भारत व्यापार मञ्च (बिजनेस फोरम) पनि आयोजना हुने कार्यक्रम छ । आर्थिक प्याकेज र थप हवाई प्रवेशमार्ग वार्ताका मुख्य विषय हुने बताइएको छ ।

प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम पनि छ । उनी सोमबार साँझ स्वदेश फर्किनेछन् ।

कुन प्रधानमन्त्रीलाई कसले गरेका थिए स्वागत ?

भारतले राजकीय भ्रमणमा आउने विदेशी प्रधानमन्त्रीलाई सामान्यतया विमानस्थलमा राज्यमन्त्री तहबाट स्वागत गर्ने गरेको छ । सन् २००६ यताका अधिकांश भ्रमणमा नेपाली प्रधानमन्त्रीलाई पनि राज्यमन्त्री वा प्रमुख शिष्टाचार अधिकारीले स्वागत गरेका थिए । केही भ्रमणमा भने भारतले त्योभन्दा माथिल्लो तहबाट स्वागत गरेको थियो ।

गिरिजाप्रसाद कोइराला (२०६३ जेठ) : जनआन्दोलन २०६२/६३ पछि प्रधानमन्त्रीका रूपमा पहिलो विदेश भ्रमणमा भारत पुगेका कोइरालालाई तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह स्वयं विमानस्थलमा स्वागत गर्न पुगेका थिए ।

केपी शर्मा ओली (२०७२ फागुन) : छदिने राजकीय भ्रमणमा भारत पुगेका ओलीलाई तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले विमानस्थलमा स्वागत गरेकी थिइन् ।

केपी शर्मा ओली (२०७४ चैत) : तीनदिने भ्रमणमा भारत पुगेका ओलीलाई तत्कालीन गृहमन्त्री राजनाथ सिंहले विमानस्थलमा स्वागत गरेका थिए ।

यो पनि पढ्नुहोस्

वरीयतामा चौथो रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ बने कार्यवाहक प्रधानमन्त्री

प्रधानमन्त्रीसँगै दोस्रो र तेस्रो वरीयताका अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि भारत गएका छन् ।

जनकपुरधाम–अयोध्या साप्ताहिक रेल सोमबार उद्घाटन हुँदै, ६०४ किलोमिटरको यात्रामा १० बिसौनी

प्रधानमन्त्री शाह र मोदीले नयाँदिल्लीबाट उद्घाटन गर्ने रेल जनकपुरधामबाट हरेक शनिबार चल्नेछ ।

प्रधानमन्त्रीको घोषणा : एनपीएलका आठै टिमका आफ्नै फ्लडलाइटसहितका रंगशाला, छैटौँ संस्करणदेखि होम एन्ड अवे

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका लागि फ्लडलाइटसहितका आफ्नै क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने घोषणा गरेका छन् । छैटौँ संस्करणदेखि प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने गरी रंगशाला बन्नेछन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमण : २ अर्ब डलर सहायता, व्यापार घाटा र बिजुली व्यापार मुख्य आर्थिक एजेन्डा

प्रधानमन्त्री बालेन्द्र शाह मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जाँदैछन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.