जनकपुरधाम–अयोध्या साप्ताहिक रेल सोमबार उद्घाटन हुँदै, ६०४ किलोमिटरको यात्रामा १० बिसौनी
प्रधानमन्त्री शाह र मोदीले नयाँदिल्लीबाट उद्घाटन गर्ने रेल जनकपुरधामबाट हरेक शनिबार चल्नेछ ।
काठमाडौं । जनकपुरधाम र भारतको अयोध्यालाई सिधै जोड्ने साप्ताहिक रेलसेवा मंसिर ७ गते सोमबार उद्घाटन हुँदै छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट भर्चुअल माध्यममार्फत रेलसेवाको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ ।
भारतीय रेल मन्त्रालयले कात्तिक २८ गते जनकपुरधाम–अयोध्या क्यान्ट साप्ताहिक रेलसेवा सञ्चालनको स्वीकृति दिएको थियो । प्रधानमन्त्री शाह आज आइतबार दुई दिने राजकीय भ्रमणका लागि नयाँदिल्ली जाँदै छन् । सोमबार उनको मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।
६०४ किलोमिटर, १० बिसौनी
भारतीय रेल मन्त्रालयका अनुसार रेलले जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म करिब ६०४ किलोमिटर दूरी पार गर्नेछ । रेल बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै अयोध्या पुग्नेछ ।
जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्याधाममा रेल रोकिनेछ । यी १० बिसौनीमा यात्रु चढ्न र ओर्लन पाउनेछन् ।
रेल जनकपुरधामबाट हरेक शनिबार र अयोध्या क्यान्टबाट हरेक सोमबार चल्नेछ । रेलसेवालाई १५५९५ र १५५९६ नम्बर दिइएको छ ।
भारतीय रेलवेले चलाउने
नेपालसँग आफ्नै रेल नभएकाले सुरुमा यो सेवा भारतीय रेलवेले सञ्चालन गर्नेछ । भाडादर र टिकटको व्यवस्थापन पनि तत्कालका लागि भारतीय रेलवेले नै गर्ने बताइएको छ ।
सेवा सुरु गर्नुअघि भारतीय रेलवेका प्रतिनिधि र प्राविधिकसहितको टोलीले भारतीय रेल जनकपुरधाम ल्याएर परीक्षण सञ्चालन गरिसकेको छ । दुवै देशका रेलवे, भन्सार र सुरक्षा निकायबीच यसका लागि छलफल भएका थिए ।
धार्मिक पर्यटन र व्यापारमा आशा
अयोध्यालाई भगवान् रामको जन्मस्थल र जनकपुरधामलाई माता सीताको जन्मस्थल मानिन्छ । भारतीय रेल मन्त्रालयले यो सेवाले दुवै देशका यात्रुलाई धार्मिक तथा सांस्कृतिक केन्द्रसम्म पुग्न सहज बनाउनुका साथै शिक्षा, व्यापार र पारिवारिक यात्रामा पनि सघाउने जनाएको छ ।
रेलसेवाले मधेस प्रदेशको पर्यटन र व्यापारलाई टेवा पुग्ने स्थानीय व्यवसायीहरूको अपेक्षा छ । अयोध्या पुग्ने भारतीय तीर्थयात्रीलाई जनकपुरधामसम्म ल्याउन यो सेवा माध्यम बन्न सक्ने उनीहरूको भनाइ छ ।
अहिले बिजलपुरासम्म मात्र यात्रुवाहक रेल
नेपालमा हाल जयनगर–जनकपुर–बिजलपुरा खण्डमा मात्र यात्रुवाहक रेल चल्दै आएको छ । जयनगर–कुर्था खण्डको रेलसेवा पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीले २०७८ चैतमा हैदराबाद हाउसबाटै उद्घाटन गरेका थिए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.