कृषिमन्त्री अधिकारीले दिए सरकारबाट राजीनामा

मंगलबार, २४ भदौ २०८२, १०:१५ AM
post-image

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मंगलबार बिहान सरकारबाट राजीनामा दिएका छन्। भदौ २३ गतेको ‘अलोकतान्त्रिक कदम’ र त्यसपछिको दमनको विरोधमा उनले पद त्यागेको घोषणा गरेका हुन्। सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा अधिकारीले आफूलाई अपराधबोध भएको र सरकारको व्यवहार नैतिकताको विरुद्ध रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो। यसको सट्टामा भएको व्यापक दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानाशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु।” अधिकारीले कलिला छोराछोरीहरूको हत्या र दमनपछि सरकारमा बसिरहनु आफ्नो नैतिकता र दलको शिक्षाको खिलाफ हुने बताएका छन्।

धादिङ २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अधिकारी असार ३१ गते मन्त्री बनेका थिए। उनले आफ्नो दलको लोकतान्त्रिक इतिहासप्रति गर्व रहेको र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने सिद्धान्तमा अडिग रहेको बताएका छन्।

राजीनामा पत्रको अन्त्यमा उनले लेखेका छन्, “हामीभन्दा माननीय र सम्माननीय हाम्रा सार्वभौम जनता हुन् भन्ने चेतना हामी ‘नेता हौं’ भन्नेहरूमा विकास होस्।” अधिकारीको यो निर्णयले जेनजी आन्दोलनको पृष्ठभूमिमा सरकारभित्रको असन्तुष्टि झनै उजागर भएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}