कांग्रेसको चेतावनी– आरोप झुटो भए गृहमन्त्रीलाई गलहत्त्याउनुपर्छ

मंगलबार, ८ जेठ २०८१, २:५४ PM
post-image

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना सांसदमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको छ । कांग्रेसका सहमहामन्त्री समेत रहेका सांसद बद्र्री पाण्डेले सोमबारको प्रतिनिधिसभा बैठकमा यस्तो चुनौती दिएका हुन् ।

“सभामुख महोदय, अस्ति हामीले उहाँले बोल्न पाऊँ भनेको हुँदा उहाँलाई बोल्नका लागि सहजीकरण गर्‍यौँ । हामीलाई लागेको थियो, उहाँ बोल्नुहुनेछ, हामीलाई धेरै कुरा पढाउनुहुनेछ,” पाण्डेले भने, “तर, उहाँ बोल्नु भएन, बर्बराउनुभयो मात्र । उहाँले बर्बराउने क्रममा नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीका विषयमा अनर्गल आरोप लगाउनुभयो ।”

त्यससँगै सूचना बेच्नेलाई सदनबाट गलहत्त्याउन पाण्डेले माग गरे । आरोप झुटो भएमा संसद् बैठकबाट गृहमन्त्रीलाई नै गलहत्त्याउनुपर्ने उनको चेतावनी थियो ।

“सभामुखज्यूमार्फत म गृहमन्त्रीलाई भन्न चाहन्छु कि विदेशीलाई सूचना बेच्ने एजेन्टलाई सदनबाट गलहत्त्याउनुस्,” उनले भने, “होइन भने तपाईंलाई नै हामीले सदनबाट गलहत्त्याउनुपर्ने हुन्छ ।”

पाण्डेले गृहमन्त्रीलाई चुनौती दिँदै सभामुख देवराज घिमिरेसँग ‘रुलिङ’ मागेका थिए । “सभामुख महोदय, गृहमन्त्रीले सदनको रोस्ट्रममा उभिएर लगाएका आरोप पुष्टि गर्नका लागि रुलिङ गर्न माग गर्दछु,” उनले भने, “पुष्टि गर्न सक्नु हुन्न भने त्यस्तो भनाइ संसद्को रेकर्डबाट हटाउन पनि माग गर्दछु ।”

सभामुख घिमिरेले भने प्रतिपक्षको मागमा कुनै रुलिङ गरेनन् । गम्भीर विषय उठाएकामा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनी बैठकको कार्यसूचीमा प्रवेश गरेका थिए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}