डेढ दशकपछि ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु
आयोजनाले वार्षिक २४ करोड ६ लाख युनिट बिजुली बेच्ने गरी प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता गरेको छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको छ । निर्माण थालेको करिब डेढ दशकपछि आयोजना परीक्षण अवधि पूरा गरेर व्यावसायिक उत्पादनमा पुगेको रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिएका छन् ।
आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट बिजुली उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरेको थियो । उत्पादित बिजुली दाना–कुश्मा २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ ।
परीक्षणकै बेला बाढीको धक्का
आयोजनाको परीक्षण उत्पादन असोज ६ गतेदेखि सुरु भएको थियो । तर असोज ११ गते कालीगण्डकी नदीको बाढीले रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह परिसरमा कटान गरी क्षति पुर्याएपछि परीक्षण अवधि लम्बिएको थियो ।
ठेक्का रद्ददेखि पुनर्संरचनासम्म
प्राधिकरणले २०६७ कात्तिक १८ गते भारतीय कम्पनी आईभीआरसीएलसँग २ अर्ब ५० करोड रुपैयाँमा सिभिल ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार काम भएको भए आयोजनाले २०७० सालमै उत्पादन सुरु गर्ने थियो । ठेकेदारको कमजोर आर्थिक अवस्थाका कारण काम अघि नबढेपछि प्राधिकरणले २०७२ सालमा ठेक्का रद्द गर्यो । त्यतिबेला आयोजनाको भौतिक प्रगति १२ प्रतिशतमा सीमित थियो ।
त्यसपछि प्राधिकरणले आयोजना पुनर्संरचना गरी क्षमता ३२ बाट ४० मेगावाट पुर्यायो र २०७३ सालमा सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर स्थापना गरी कम्पनी मोडलमा निर्माण अघि बढायो ।
भारतीय एक्जिम बैंकको ऋण
आयोजना भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको लगानीमा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) ढाँचामा बनेको हो ।
सिभिल ठेकेदार भारतीय कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) सँग ४५ महिनामा काम सक्ने लक्ष्यसहित २०७४ मंसिर ६ गते करिब ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । इलेक्ट्रोमेकानिकल कामका लागि भारत सरकारको स्वामित्वको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग २०७६ कात्तिकमा करिब १ करोड २ लाख ९३ हजार अमेरिकी डलरमा सम्झौता भएको थियो । आयोजनाको म्याद चार पटक थपिएको थियो ।
आयोजनाको बाँध रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा छ । बाँधदेखि बेनी–जोमसोम सडक छेउको तिल्केनीचौरस्थित विद्युत्गृहसम्म ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ छ, जुन २०८१ साउन १५ गते आरपार भएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.