मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : कानुनमन्त्री सोबिता गौतम सातौंबाट तेस्रो वरीयतामा

परराष्ट्रमन्त्री शिशिर खनालसहित चार मन्त्री एक–एक स्थान तल झरेका छन् भने अर्थमन्त्री वाग्ले दोस्रोमै छन् ।

Artha Kendra Artha Kendra
बिहिबार, १० मंसिर २०८३, ६:५२ PM
—
फन्ट
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर : कानुनमन्त्री सोबिता गौतम सातौंबाट तेस्रो वरीयतामा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार (मंसिर १० गते) मन्त्रिपरिषद्का सदस्यहरूको वरीयता परिवर्तन गरेका हुन् ।

नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम सातौं स्थानबाट तेस्रो स्थानमा उक्लिएकी छन् । गौतमको वरीयता चार स्थानले बढेसँगै यसअघि तेस्रोदेखि छैटौं स्थानसम्म रहेका चार मन्त्री एक–एक स्थान तल झरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मर्यादाक्रम हेरफेर गरिएको जानकारी दिएका छन् । प्रधानमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री शाह पहिलो र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत् छन् ।

को कुन स्थानमा ?

स्थान फेरिएका पाँच मन्त्री

सोबिता गौतम (कानुन, न्याय तथा संसदीय मामिला) : सातौंबाट तेस्रो

शिशिर खनाल (परराष्ट्र) : तेस्रोबाट चौथो

विराजभक्त श्रेष्ठ (ऊर्जा, जलस्रोत तथा सिँचाइ) : चौथोबाट पाँचौं

सुधन गुरुङ (गृह) : पाँचौंबाट छैटौं

सुनिल लम्साल (पूर्वाधार विकास) : छैटौंबाट सातौं

आठौंदेखि १७औं स्थानसम्म यथावत्

आठौंदेखि १७औं स्थानसम्मका मन्त्रीको वरीयतामा भने कुनै परिवर्तन गरिएको छैन ।

८. महावीर पुन : विज्ञान, प्रविधि तथा नवप्रवर्तन

९. सीता बादी : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा

१०. प्रतिभा रावल : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

११. निशा मेहता : स्वास्थ्य तथा खाद्य स्वच्छता

१२. सस्मित पोखरेल : शिक्षा तथा खेलकुद

१३. खडकराज पौडेल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१४. डा. विक्रम तिमिल्सिना : सूचना तथा सञ्चार

१५. गीता चौधरी : कृषि, वन तथा पर्यावरण

१६. दीपककुमार साह : उद्योग, वाणिज्य तथा आपूर्ति

१७. रामजी यादव : युवा, श्रम तथा रोजगार

पार्टीको पदीय वरीयतासँग तालमेल

गौतम सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उपसभापति हुन् । चितवनमा भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत असार १२ गते भएको पदाधिकारी निर्वाचनमा उनी डा. तोसिमा कार्कीलाई पराजित गर्दै उपसभापतिमा निर्वाचित भएकी थिइन् । उनी रास्वपाकी पहिलो निर्वाचित महिला उपसभापति हुन् । अर्थमन्त्री वाग्ले भने उपसभापतिमा निर्विरोध निर्वाचित भएका थिए ।

पार्टीको नेतृत्व तहमा उनको वरीयता बढेपछि मन्त्रिपरिषद्को मर्यादाक्रम पनि सोहीअनुरूप मिलाइएको बताइएको छ । यससँगै रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह, उपसभापति वाग्ले र उपसभापति गौतम मन्त्रिपरिषद्मा पनि क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा पुगेका छन् ।

पेसाले अधिवक्ता रहेकी गौतम चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । यसअघि उनी २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन् ।

चैतमा पनि फेरिएको थियो वरीयता

बालेन्द्र शाह नेतृत्वको सरकार २०८२ चैत १३ गते गठन भएको थियो । गठन भएको ११ दिनमै चैत २४ गते पनि मन्त्रीहरूको वरीयता हेरफेर गरिएको थियो । त्यतिबेला गृहमन्त्री सुधन गुरुङ तेस्रोबाट पाँचौं स्थानमा झरेका थिए भने परराष्ट्रमन्त्री खनाल तेस्रो र गौतम सातौं स्थानमा पुगेका थिए ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा मंसिर ६ गते अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि भ्रमण टोलीमा रहेकाले वरीयतामा चौथो रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो । नयाँ मर्यादाक्रममा श्रेष्ठ पाँचौं स्थानमा छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.