भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्बको विकास सहायता प्याकेज, ८ समझदारीपत्रमा हस्ताक्षर

६६९ मेगावाटको तल्लो अरुणको शिलान्यास भयो, तर सहायतामा अनुदान र ऋण कति भन्ने खुलेको छैन ।

Artha Kendra Artha Kendra
सोमबार, ७ मंसिर २०८३, २:२८ PM
—
फन्ट
भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्बको विकास सहायता प्याकेज, ८ समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । भारतले नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँ अर्थात् २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहयोग प्याकेज घोषणा गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणको दोस्रो दिन मंसिर ७ गते सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन् ।

भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि उक्त रकम उपलब्ध गराइने मोदीले बताए । दुई प्रधानमन्त्रीको उपस्थितिमा ८ वटा समझदारीपत्र तथा सम्झौता आदानप्रदान भएका छन् भने ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनासहित ऊर्जा, पेट्रोलियम र सीमा पूर्वाधारका आयोजनाको शिलान्यास तथा उद्घाटन गरिएको छ ।

मोदीले नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित रहेको बताउँदै कठिन समयमा भारत नेपालसँगै रहने प्रतिबद्धता जनाए ।

तल्लो अरुणको शिलान्यास, पाइपलाइनको दोस्रो चरण उद्घाटन

दुवै प्रधानमन्त्रीले हैदराबाद हाउसबाट भर्चुअल माध्यमबाट भारतीय सहयोग र लगानीका आयोजनाको शिलान्यास तथा उद्घाटन गरे ।

तल्लो अरुण जलविद्युत् आयोजना

भारतको सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले बनाउने ६६९ मेगावाटको तल्लो अरुणको लागत ९२ अर्ब ६७ करोड रुपैयाँ अनुमान गरिएको छ । संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने आयोजना पाँच वर्षमा सक्ने लक्ष्य छ ।

९०० मेगावाटको अरुण तेस्रोको तल्लो तटीय (क्यास्केड) आयोजनाका रूपमा बन्ने तल्लो अरुणबाट नेपालले कुल उत्पादनको २१ प्रतिशत बिजुली निःशुल्क पाउनेछ । बाँकी बिजुली भारत निर्यात गरिनेछ ।

पेट्रोलियम र सीमा पूर्वाधार

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन गरिएको छ । सिलिगुडी–चारआली पेट्रोलियम पाइपलाइनअन्तर्गत झापाको चारआलीमा बन्ने पेट्रोलियम टर्मिनल र बनबसा नाकाको एकीकृत जाँच चौकी (आईसीपी) को शिलान्यास भएको छ । दार्चुला–धार्चुला जोड्ने मोटरेबल पुल पनि सोमबारको कार्यक्रममा समेटिएको थियो ।

अयोध्या र जनकपुरधामबीच चल्ने सरयू–कमला एक्सप्रेस रेल सेवा पनि दुवै प्रधानमन्त्रीले भर्चुअल रूपमा सुरु गरेका छन् ।

आठ समझदारीपत्र : अन्तरिक्षदेखि पशुपालनसम्म

स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच ‘साउथ एसिया स्याटेलाइट’ उपयोगका लागि स्याटेलाइट सञ्चार (स्याटकम) नेटवर्क स्थापना ।

फरेन्सिक विज्ञान : गुजरातको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच प्राज्ञिक तथा अनुसन्धान सहकार्य ।

प्रहरी तालिम : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपाल प्रहरी प्रतिष्ठानबीच सहकार्य ।

निजामती कर्मचारी तालिम : भारतको राष्ट्रिय सुशासन केन्द्र र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच क्षमता विकास तालिम ।

स्वास्थ्य तथा औषधि : दुवै देशका स्वास्थ्य मन्त्रालयबीच सहकार्य ।

आयुर्वेद तथा परम्परागत चिकित्सा : दुई सरकारबीच सहकार्य सम्झौता ।

दिगो सहरी विकास : दुई सरकारबीच प्राविधिक सहयोग ।

पशुपालन तथा मत्स्य विकास : दुई सरकारबीच सहकार्य ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.