एनपीएल सकियो : च्याम्पियन सुदूरपश्चिमलाई डेढ करोड, कसले के–के जिते ?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख र उपविजेता लुम्बिनी लायन्सले ८० लाख रुपैयाँ पाएका छन् । दीपेन्द्रसिंह ऐरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए ।

Artha Kendra Artha Kendra
शनिबार, ५ मंसिर २०८३, ९:२३ PM
—
फन्ट
एनपीएल सकियो : च्याम्पियन सुदूरपश्चिमलाई डेढ करोड, कसले के–के जिते ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण शनिबार सकिएको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिम रोयल्सले पहिलो पटक उपाधि जित्यो ।

उपाधिसँगै सुदूरपश्चिमले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यस संस्करणमा शीर्ष चार टोलीका लागि कुल ३ करोड रुपैयाँ पुरस्कार छुट्याएको थियो ।

टोलीलाई कति ?

विजेता : सुदूरपश्चिम रोयल्स – १ करोड ५० लाख रुपैयाँ

उपविजेता : लुम्बिनी लायन्स – ८० लाख रुपैयाँ

तेस्रो : चितवन राइनोज – ४० लाख रुपैयाँ

चौथो : काठमाडौं गोर्खाज – ३० लाख रुपैयाँ

चितवन दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग र काठमाडौं एलिमिनेटरमा चितवनसँग पराजित भएका थिए ।

व्यक्तिगत पुरस्कार

प्रतियोगिताका उत्कृष्ट खेलाडी : दीपेन्द्रसिंह ऐरी

च्याम्पियन सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताका उत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) घोषित भए । उनले ५ लाख रुपैयाँ पाए ।

सर्वोत्कृष्ट नेपाली खेलाडी : रिजन ढकाल

प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै ओमोडा एन्ड जेकोको कार जिते । उनले उत्कृष्ट बलरको मोटरसाइकल र सर्वाधिक विकेट लिने बलरलाई दिइने ‘गोल्डेन क्याप’ पनि पाए ।

उत्कृष्ट ब्याटर : लोकेश बम

विराटनगर किङ्सका ओपनर लोकेश बम उत्कृष्ट ब्याटर बन्दै पल्सर मोटरसाइकल जिते ।

इमर्जिङ खेलाडी : राहुल यादव

जनकपुर बोल्ट्सका १७ वर्षीय बलर राहुल यादव इमर्जिङ खेलाडी बन्दै मोटरसाइकल जिते ।

एनर्जेटिक प्लेयर : कमिल मिशारा

चितवन राइनोजका श्रीलंकाली ब्याटर कमिल मिशारा रेड बुल एनर्जेटिक प्लेयर बन्दै २ लाख रुपैयाँ नगद पाए ।

फाइनलका उत्कृष्ट खेलाडी : जर्ज मुन्से

फाइनलमा ५४ बलमा ८ चौका र १२ छक्कासहित अविजित १२५ रन बनाएका सुदूरपश्चिमका ओपनर जर्ज मुन्से खेलका उत्कृष्ट खेलाडी बने । सुदूरपश्चिमले १५६ रनको लक्ष्य १३.३ ओभरमै विनाविकेट पूरा गरेको थियो ।

तीन संस्करण, तीन च्याम्पियन

एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रोमा लुम्बिनी लायन्स च्याम्पियन बनेका थिए । ती दुवै फाइनलमा पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जितेको हो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.