सुदूरपश्चिम पहिलो पटक एनपीएल च्याम्पियन : मुन्सेको अविजित १२५ रनमा लुम्बिनीलाई १० विकेटले हरायो
सुदूरपश्चिम रोयल्सले फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पहिलो पटक एनपीएल उपाधि जितेको छ । जर्ज मुन्सेको अविजित १२५ रनको मद्दतमा सुदूरपश्चिमले १५६ रनको लक्ष्य १३.३ ओभरमै पूरा गर्यो ।
काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्यो ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले एउटा पनि विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्यो । ओपनर जर्ज मुन्सेले ५४ बलमा ८ चौका र १२ छक्कासहित अविजित १२५ रन बनाए भने विनोद भण्डारी २७ बलमा ३० रनमा अविजित रहे ।
लगातार तेस्रो पटक फाइनल खेलेको सुदूरपश्चिमको यो पहिलो एनपीएल उपाधि हो ।
मुन्सेको विस्फोटक शतक
सुदूरपश्चिमले पावरप्लेको ६ ओभरमै विनाविकेट ६० रन बनाएको थियो । मुन्सेले २८ बलमा अर्धशतक र ४९ बलमा शतक पूरा गरे । ११ ओभर सकिँदा सुदूरपश्चिमको योगफल विनाविकेट १०८ रन पुगेको थियो ।
मुन्सेले अन्तिम तीन बलमा शेर मल्लविरुद्ध लगातार तीन छक्का प्रहार गर्दै खेल सके । सुदूरपश्चिमले ३९ बल बाँकी छँदै जित निकाल्यो । लुम्बिनीका कुनै पनि बलरले विकेट लिन सकेनन् । किशोर महतोले ३ ओभरमा ३८ र शेर मल्लले ३.३ ओभरमा ३४ रन दिए ।
स्कटल्यान्डका ओपनर मुन्सेलाई सुदूरपश्चिमले प्लेअफअघि मात्र टोलीमा भित्र्याएको थियो । दोस्रो क्वालिफायरमा उनी ८ रनमा आउट भएका थिए ।
लुम्बिनीको १५५ रन
टस जितेको सुदूरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिलीप नाथले ३१ बलमा अविजित ३९, कप्तान रोहितकुमार पौडेलले ३०, निरोशन डिकवेलाले २८ र अली शेखले २४ रन बनाए ।
सुदूरपश्चिमका स्कट कुगलेइनले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए । हेमन्त धामी, थरिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
दुई फाइनलको हारपछि उपाधि
सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणको फाइनलमा लुम्बिनीसँग पराजित हुँदै उपविजेता बनेको थियो । यो सिजन लिग चरण र पहिलो क्वालिफायरमा पनि लुम्बिनीसँग हारेको सुदूरपश्चिमले फाइनलमा भने एकतर्फी जित निकाल्यो ।
लगातार दोस्रो उपाधिको दाउमा रहेको लुम्बिनी यसपटक उपविजेता बनेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.