एनपीएल फाइनल : पहिलो उपाधिका लागि सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य, दिलीप नाथको अविजित ३९ रन

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको छ । पहिलो उपाधिको खोजीमा रहेको सुदूरपश्चिम रोयल्सलाई जित्न १५६ रन आवश्यक छ ।

Artha Kendra Artha Kendra
शनिबार, ५ मंसिर २०८३, ७:१० PM
—
फन्ट
एनपीएल फाइनल : पहिलो उपाधिका लागि सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य, दिलीप नाथको अविजित ३९ रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार टस जितेको सुदूरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो । लुम्बिनीका लागि दिलीप नाथले ३१ बलमा ३ छक्कासहित अविजित ३९ रन बनाए ।

लुम्बिनीको ब्याटिङ

लुम्बिनीको सुरुवात कमजोर रह्यो । ओपनर आसिफ शेख १ रनमै स्कट कुगलेइनको बलमा एलबीडब्ल्यू भए । अर्का ओपनर डार्सी सर्ट १८ बलमा २१ रन बनाएर कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए ।

विकेटकिपर निरोशन डिकवेलाले १७ बलमा २८ रन जोडे । उनलाई थरिन्दु रत्नायकेले बोल्ड गरे । कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाए । दिलीप नाथसँग तालमेल नमिल्दा रोहित रनआउट भए । दुवैले चौथो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए ।

सन्दीप जोरा ४ रनमा आउट भएपछि अली शेखले १२ बलमा २ चौका र २ छक्कासहित २४ रन बनाए । दिलीप र अलीले छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरे । रुबेन ट्रम्पलम्यान ४ रनमा अविजित रहे ।

सुदूरपश्चिमको बलिङ

सुदूरपश्चिमका लागि स्कट कुगलेइनले २ विकेट लिए । हेमन्त धामी, थरिन्दु रत्नायके र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

तेस्रो फाइनलमा पहिलो उपाधिको खोजी

लगातार तेस्रो पटक फाइनल खेलिरहेको सुदूरपश्चिम अघिल्ला दुवै संस्करणमा उपविजेता बनेको थियो । पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणको फाइनलमा लुम्बिनीसँग ऊ पराजित भएको थियो । अब पहिलो उपाधि जित्न सुदूरपश्चिमलाई १२० बलमा १५६ रन आवश्यक छ ।

लुम्बिनी भने लगातार दोस्रो उपाधिको दाउमा छ । यो सिजन लुम्बिनीले सुदूरपश्चिमलाई उद्घाटन खेलमा ७ विकेट र पहिलो क्वालिफायरमा ६ विकेटले हराएको थियो । सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनल पुगेको हो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.