एनपीएल फाइनल आज : लगातार दोस्रो उपाधिको दाउमा लुम्बिनी, तेस्रो फाइनलमा पहिलो ट्रफी खोज्दै सुदूरपश्चिम

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा आज साँझ ५ बजे कीर्तिपुरमा साविक विजेता लुम्बिनी लायन्स र लगातार तेस्रोपटक फाइनल पुगेको सुदूरपश्चिम रोयल्स भिड्दैछन् । विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

Artha Kendra Artha Kendra
शनिबार, ५ मंसिर २०८३, ८:४ AM
—
फन्ट
एनपीएल फाइनल आज : लगातार दोस्रो उपाधिको दाउमा लुम्बिनी, तेस्रो फाइनलमा पहिलो ट्रफी खोज्दै सुदूरपश्चिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज मंसिर ५ गते शनिबार साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइटमुनि हुने फाइनल साँझ ५ बजे सुरु हुनेछ ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी उपाधि जोगाउँदै एनपीएलमा लगातार दोस्रो ट्रफी जित्ने पहिलो टोली बन्ने दाउमा छ । दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम भने लगातार तेस्रोपटक फाइनल खेल्दैछ । अघिल्ला दुवै फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक पहिलो उपाधिको खोजीमा छ ।

गत वर्षको फाइनल पनि यिनै दुई टोलीबीच भएको थियो । यससँगै एनपीएलको इतिहासमा पहिलोपटक एउटै जोडीबीच लगातार दोस्रो वर्ष उपाधि भिडन्त हुँदैछ ।

फाइनलसम्मको यात्रा

लुम्बिनी : लिगमा शीर्ष, क्वालिफायरबाट सिधै फाइनल

लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनीले मंसिर १ गते मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । कप्तान ऐरीले ५१ बलमा ५२ रन बनाए ।

जवाफमा लुम्बिनीले १६.४ ओभरमै ४ विकेट गुमाएर लक्ष्य भेट्यो । निरोशन डिकवेलाले ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाउँदै प्लेयर अफ द म्याच बने । बलिङमा रुबेन ट्रम्पेलम्यानले ४ ओभरमा १४ रन दिएर २ विकेट र शेर मल्लले २७ रनमा २ विकेट लिए ।

सुदूरपश्चिम : दोस्रो मौकामा फाइनल

लिगमा दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले पहिलो क्वालिफायरको हारपछि मंसिर ३ गते बिहीबार दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्‍यो । चितवनले ९ विकेटमा बनाएको १३३ रनको जवाफमा सुदूरपश्चिमले एक बल बाँकी छँदा ७ विकेटमा १३६ रन बनायो ।

दबाबपूर्ण पछ्याइमा थरिन्दु रत्नायकेले ४२ बलमा ७ चौकासहित अविजित ५३ रन बनाए । अन्तिम दुई बलमा २ रन आवश्यक हुँदा उनले चौका प्रहार गर्दै टोलीलाई फाइनल पुर्‍याए । चितवन भने इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ६१ रनले हराएर दोस्रो क्वालिफायरमा पुगेको थियो ।

एनपीएलको तीन वर्षे इतिहास

पहिलो संस्करण : जनकपुरले खोसेको ट्रफी

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ मा आठ फ्रेन्चाइज टोलीसहित एनपीएल सुरु गरेको थियो । पहिलो संस्करणको लिगमा शीर्ष रहेको सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराएर फाइनल पुगेको थियो । तर, २०८१ पुस ६ गतेको फाइनलमा सुदूरपश्चिमले बनाएको १८४ रन पछ्याउँदै जनकपुरले ५ विकेटले जित्दै पहिलो च्याम्पियन बन्ने गौरव पायो ।

सोही संस्करणमा लुम्बिनी ७ खेलमा १ जित मात्र निकाल्दै तालिकाको पुछारमा परेको थियो ।

दोस्रो संस्करण : पुछारबाट च्याम्पियनसम्म लुम्बिनी

गत वर्ष सुदूरपश्चिमले लिगका पहिलो ६ खेल लगातार जित्दै फेरि तालिकाको शीर्ष स्थान ओगट्यो र पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराएर लगातार दोस्रो फाइनल पुग्यो । लिगमा चौथो भएको लुम्बिनीले इलिमिनेटरमा काठमान्डुलाई ४ विकेटले र दोस्रो क्वालिफायरमा विराटनगरलाई ४० रनले हरायो ।

२०८२ मंसिर २७ गतेको फाइनलमा कप्तान रोहितले ह्याट्रिक विकेट लिएपछि सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो । लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ६ विकेटले उपाधि जित्यो । फाइनलमा रोहित, शेर मल्ल र ट्रम्पेलम्यानले ३–३ विकेट लिएका थिए । प्रतियोगितामा १५ विकेट लिएका ट्रम्पेलम्यान प्लेयर अफ द सिरिज बनेका थिए भने रोहित उत्कृष्ट नेपाली खेलाडी घोषित भएका थिए ।

तेस्रो संस्करण : उद्घाटन खेलमै दोहोरियो गत फाइनल

यस वर्ष कात्तिक ९ गते सुरु भएको प्रतियोगिताको उद्घाटन खेल नै गत संस्करणको फाइनलको पुनरावृत्ति थियो । उक्त खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ८७ रनमा समेट्दै ७ विकेटले जितेको थियो ।

यसपटक सुदूरपश्चिमले पहिलो दुई संस्करणका प्रशिक्षक जगत टमाटाको ठाउँमा पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हक लाई मुख्य प्रशिक्षक बनाएको छ । तीनै संस्करणमा प्लेअफ पुग्ने सुदूरपश्चिम एक मात्र टोली हो ।

आमनेसामने : पछिल्ला तीन भेटमा लुम्बिनी अजेय

एनपीएलमा यी दुई टोलीबीच अहिलेसम्म ५ खेल भएका छन्, जसमा लुम्बिनीले ३ र सुदूरपश्चिमले २ खेल जितेका छन् । सुदूरपश्चिमले पहिलो संस्करण र दोस्रो संस्करणको लिग चरणमा लुम्बिनीलाई हराएको थियो ।

त्यसपछि भने गत वर्षको फाइनल, यस वर्षको उद्घाटन खेल र पहिलो क्वालिफायरमा लुम्बिनीले लगातार तीन जित निकालेको छ ।

विजेताले डेढ करोड

क्यानले यस संस्करणदेखि पुरस्कार राशि बढाएको छ । विजेताले १ करोड ५० लाख रुपैयाँ र उपविजेताले ८० लाख रुपैयाँ पाउनेछन् । तेस्रो र चौथो हुने टोलीले क्रमशः ४० लाख र ३० लाख रुपैयाँ पाउनेछन् ।

गत वर्ष च्याम्पियन लुम्बिनीले १ करोड १० लाख र उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँ पाएका थिए । क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार प्रतियोगिताको आम्दानी बढेकाले पुरस्कार राशि बढाइएको हो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.