राइजिङ स्टार्स एसिया कप : नेपाल २६ रनमै अलआउट, भारत ‘ए’ सँग ३०६ रनले हार

यो लिस्ट ‘ए’ क्रिकेट इतिहासकै पाँचौं न्यूनतम योग हो ।

Artha Kendra Artha Kendra
शुक्रबार, ४ मंसिर २०८३, १०:११ PM
—
फन्ट
राइजिङ स्टार्स एसिया कप : नेपाल २६ रनमै अलआउट, भारत ‘ए’ सँग ३०६ रनले हार

काठमाडौं । एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपाल भारत ‘ए’ सँग ३०६ रनले पराजित भएको छ । कतारको दोहास्थित वेस्ट एन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा शुक्रबार भएको समूह ‘बी’ को खेलमा ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै अलआउट भयो ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले भारत ‘ए’ लाई निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३२ रन बनाउन दिएको थियो । जवाफी ब्याटिङमा नेपालका कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । नेपालको २६ रन लिस्ट ‘ए’ क्रिकेट इतिहासकै पाँचौं न्यूनतम योग हो ।

भारत ‘ए’ को विशाल योग

पहिले ब्याटिङ गरेको भारत ‘ए’ ले ४२ रनमै ३ विकेट गुमाएको थियो । ओपनर अभिषेक शर्मा ९ रनमा नन्दन यादवको बलमा क्याच आउट भए भने आयुष बडोनी २ रनमा ललित राजवंशीको बलमा स्टम्प आउट भए । अर्का ओपनर वैभव सूर्यवंशी ३२ बलमा २६ रन बनाएर पवन सराफको बलमा बोल्ड भए ।

कुशाग्र र तिलकको शतक

त्यसपछि विकेटकिपर ब्याटर कुमार कुशाग्र र कप्तान तिलक वर्मा ले चौथो विकेटका लागि २०६ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याए । कुशाग्रले १०२ बलमा १० चौका र ५ छक्कासहित ११७ रन बनाए । उनी प्लेयर अफ द म्याच चुनिए । तिलकले ११३ बलमा ६ चौका र ४ छक्कासहित १०७ रन जोडे ।

अन्तिम ओभरहरूमा सूर्यांश शेडगेले १४ बलमा १ चौका र ४ छक्कासहित अविजित ३६ रन बनाए । रिंकु सिंहले ९ र शाहबाज अहमदले ८ रन जोडे ।

लामिछाने र राजवंशीलाई ३/३ विकेट

नेपालका लागि कप्तान सन्दीप लामिछाने र ललित राजवंशी ले समान ३/३ विकेट लिए । नन्दन यादवले २ र पवन सराफले १ विकेट लिए । राजवंशीले कुशाग्रलाई बोल्ड गर्दै २०६ रनको साझेदारी तोडेका थिए भने नन्दनले तिलकलाई आउट गरे ।

नेपालको ब्याटिङ ध्वस्त

लक्ष्य पछ्याउन उत्रिएको नेपालले खाता खोल्नुअघि नै पहिलो विकेट गुमायो । भारतीय फास्ट बलर प्रिन्स यादव र हर्षित राणाको आक्रमणसामु नेपाली ब्याटिङ लाइनअप टिक्न सकेन । नेपालले १७ रनमै ७ विकेट गुमाइसकेको थियो ।

पाँच ब्याटर शून्यमा आउट

ओपनर अर्जुन कुमाल र कुशल भुर्तेल सहित पाँच ब्याटर खाता नखोली आउट भए । बसिर अहमद, लोकेश बम र कप्तान लामिछाने पनि शून्यमै फर्किए ।

पवन सराफ र राशिद खानले समान ६/६ रन बनाए, जुन इनिङ्सकै सर्वाधिक हो । प्रतीश जीसीले ४, नन्दन यादवले २, ललित राजवंशीले अविजित २ र दीपक डुम्रेले १ रन जोडे ।

प्रिन्स यादवको ५ विकेट

भारत ‘ए’ का लागि प्रिन्स यादवले ५ ओभरमा ६ रन दिएर ५ विकेट लिए । हर्षित राणाले ६ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए भने स्पिनर शाहबाज अहमदले आफ्नो तेस्रो बलमै नन्दन यादवलाई आउट गर्दै नेपालको इनिङ्स समेटे ।

लिस्ट ‘ए’ इतिहासकै पाँचौं न्यूनतम योग

नेपालको २६ रन लिस्ट ‘ए’ क्रिकेटमा अहिलेसम्मकै पाँचौं न्यूनतम योग हो । यो सूचीमा सन् २००७ मा वेस्ट इन्डिज अन्डर–१९ ले बार्बाडोसविरुद्ध बनाएको १८ रन सबैभन्दा कम हो । सन् २०१९ मा ओमान स्कटल्यान्डविरुद्ध २४ रनमा अलआउट भएको थियो ।

भारतको ‘ए’ टोलीसँगको खेल भएकाले यसलाई आधिकारिक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलको मान्यता भने छैन । त्यसैले ओडीआईको न्यूनतम योगको रेकर्ड ३५ रन नै कायम छ, जुन सन् २००४ मा जिम्बाब्वे र सन् २०२० मा कीर्तिपुरमा नेपालविरुद्ध अमेरिकाले बनाएका थिए ।

नेपालका बाँकी खेल

समूह ‘बी’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’, नेपाल र यूएई छन् । शुक्रबारै भएको अर्को खेलमा पाकिस्तान ‘ए’ ले यूएईलाई ६१ रनले हराएको छ ।

नेपालले मंसिर ६ गते आइतबार यूएई र मंसिर ८ गते मंगलबार पाकिस्तान ‘ए’ सँग खेल्नेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल मंसिर १० र ११ गते तथा फाइनल मंसिर १३ गते हुने तालिका छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.