हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्णायक चरणमा

करिब १२ वर्षदेखि विभिन्न प्रक्रियागत समस्याका कारण अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजना निर्माणको निर्णायक चरणमा पुगेको छ ।

Artha Kendra Artha Kendra
शनिबार, १७ असोज २०८३, १०:१२ PM
—
फन्ट
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्णायक चरणमा

काठमाडौं । करिब १२ वर्षदेखि विभिन्न प्रक्रियागत समस्याका कारण अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन आयोजना निर्माणको निर्णायक चरणमा पुगेको छ ।

मुआब्जा, जग्गा तथा अन्य प्रक्रियागत विषयका कारण लामो समयदेखि रोकिएको आयोजनालाई गति दिन निरन्तर पहल र सरोकारवालासँगको समन्वयपछि कामले गति लिन थालेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार हेटौंडा क्षेत्रमा निर्माण गर्न बाँकी १४ वटा टावरको काम अहिले अन्तिम चरणमा पुगेको छ । स्थानीयवासी, जनप्रतिनिधि, जिल्ला प्रशासन, सरोकारवाला तथा नेपाल विद्युत् प्राधिकरणको सक्रियताले आयोजनाले ठोस गति लिन थालेको उनले बताएका छन् ।

हेटौंडा–ढल्केबर खण्ड सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह थप सुदृढ, भरपर्दो र दिगो हुने अपेक्षा गरिएको छ। यसले देशभित्रको विद्युत् आपूर्ति प्रणाली बलियो बनाउनुका साथै बढ्दो औद्योगिक विद्युत् माग सम्बोधन गर्न सहयोग पुग्नेछ ।

त्यस्तै, आयोजना सम्पन्न भएपछि अन्तर्देशीय विद्युत् व्यापार विस्तार गर्न तथा वर्षायाममा उत्पादन हुने विद्युत् खेर जान नदिनसमेत महत्वपूर्ण योगदान पुग्ने बताइएको छ। यसबाट राष्ट्रिय विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता र विद्युत् व्यापारको सम्भावना थप विस्तार हुने अपेक्षा छ ।

मन्त्री श्रेष्ठले बाँकी काम समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन्। साथै, नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित शाखा तथा निकायलाई आवश्यक सहजीकरण र समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

आयोजना निर्माणलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रभावित नागरिक, नेपाल विद्युत् प्राधिकरणका व्यवस्थापन, प्राविधिक तथा कर्मचारी, निर्माण कम्पनी र सम्बन्धित सरकारी निकायलाई मन्त्री श्रेष्ठले धन्यवाद दिएका छन् ।

उनले अब ढिलाइभन्दा गति, समन्वय र परिणाम आवश्यक रहेको भन्दै हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनलाई छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.