बाढीले सायपत्री हाइड्रोको विद्युत उत्पादन र प्रसारण अवरुद्ध

बागलुङमा आएको बाढीका कारण सायपत्री हाइड्रोपावर लिमिटेडको विद्युत उत्पादन तथा प्रसारण कार्य अवरुद्ध भएको छ।

Artha Kendra Artha Kendra
सोमबार, १२ असोज २०८३, ११:२५ AM
—
फन्ट
बाढीले सायपत्री हाइड्रोको विद्युत उत्पादन र प्रसारण अवरुद्ध

काठमाडौं। बागलुङमा आएको बाढीका कारण सायपत्री हाइड्रोपावर लिमिटेडको विद्युत उत्पादन तथा प्रसारण कार्य अवरुद्ध भएको छ।

कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिएको जानकारीअनुसार बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा निर्माण गरिएको २.५ मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत आयोजनाको स्रोत नदी दरमखोलामा असोज ९ गते शुक्रबार आएको बाढीले आयोजनाको संरचना तथा प्रसारण लाइनमा क्षति पुर्‍याएको हो।

बाढीका कारण आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको हरिचौर सबस्टेसनसम्म रहेको ३३ केभी प्रसारण लाइनका पोल तथा तारहरूमा क्षति पुगेको कम्पनीले जनाएको छ। क्षतिपछि असोज ९ गते राति ११ बजेदेखि विद्युत उत्पादन तथा प्रसारण कार्य बन्द रहेको छ।

त्यस्तै, असोज १० गते बेलुकी ११ बजेदेखि ताराखोला गाउँपालिकामा रहेका सञ्चार माध्यमका टावरहरूमा समेत विद्युत आपूर्ति अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको कम्पनीले उल्लेख गरेको छ। यसका कारण आयोजनास्थलमा रहेका कर्मचारीसँग हालसम्म सम्पर्क हुन नसकेको जनाइएको छ।

कम्पनीका अनुसार सञ्चार सम्पर्क हुन नसकेका कारण आयोजनास्थलमा भएको थप क्षतिको विस्तृत विवरण हालसम्म प्राप्त हुन सकेको छैन। कर्मचारीसँग सम्पर्क स्थापित भएपछि आयोजनाको वास्तविक अवस्था तथा थप क्षतिको विवरण सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

हालसम्म प्राप्त जानकारीअनुसार ३३ केभी प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विषयमा कम्पनीले आफ्नो बीमा व्यवस्थाअन्तर्गत बीमित रहेको समेत जानकारी गराएको छ।

कम्पनीले उक्त जानकारी २०८३ असोज १२ गते नेप्सेलाई पत्रमार्फत गराएको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.