खल्तीको बदमासी? ईसेवाको क्यूआर स्क्यान गर्दा खल्तीले आफ्नै खातामा पैसा पठायो !
क्यूआर स्क्यान गर्दा खल्तीले स्पष्ट जानकारीबिना सोही नम्बरको खल्ती खातामा रकम पठाएपछि पसलेले पैसा नपाएको भन्दै ग्राहकले पुनः भुक्तानी गर्नुपरेको गुनासो।
काठमाडौं । पसलमा राखिएको ईसेवाको क्यूआर स्क्यान गरेर खल्तीमार्फत भुक्तानी गर्दा रकम ईसेवामा नभई सोही मोबाइल नम्बरको खल्ती खातामा पुगेपछि ग्राहकलाई अनावश्यक झन्झट भएको घटना सार्वजनिक भएको छ।
एक ग्राहकका अनुसार उनले पसलमा चिया खाएपछि पसलेले दिएको क्यूआर स्क्यान गरेर खल्तीमार्फत भुक्तानी गरेका थिए। खल्तीमा भने कारोबार सफल भएको देखियो र रकम खाताबाट काटिएको स्टेटमेन्टसमेत प्राप्त भयो।
तर पसलेले भने ईसेवाको स्टेटमेन्ट जाँच गर्दै आफूलाई रकम नआएको बताए। केही समयपछि मात्र क्यूआरमा रहेको मोबाइल नम्बर पहिचान गरी खल्तीले सोही नम्बरमा रहेको खल्ती खातामा रकम पठाएको थाहा भएको ग्राहकको भनाइ छ।
अर्थात्, ईसेवाको क्यूआर स्क्यान गर्दा खल्तीले ईसेवा खातामा रकम पठाएको होइन। क्यूआरमा उल्लेख भएको मोबाइल नम्बरका आधारमा सोही नम्बरको खल्ती खातामा रकम पठाइएको थियो। तर पसलेले आफ्नो ईसेवा खाताको स्टेटमेन्ट हेरेका कारण रकम प्राप्त नभएको ठाने।
पसलेसँग खल्तीको खाता रहेको वा नरहेको विषय ग्राहकलाई तत्काल थाहा नहुँदा अन्ततः ग्राहकले पुनः ईसेवामार्फत रकम तिर्नुपरेको थियो। यसरी एउटै चियाको बिलका लागि ग्राहकले दुई पटक भुक्तानी गर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरिएको छ।
पहिले ‘QR Not Supported’, अहिले रकम नै अर्को खातामा
ग्राहकका अनुसार यसअघि खल्तीबाट ईसेवाको क्यूआर स्क्यान गरी भुक्तानी गर्न खोज्दा “QR Not Supported” भन्ने सूचना देखिने गरेको थियो। यस्तो अवस्थामा क्यूआर अर्को भुक्तानी प्रणालीको रहेको कुरा ग्राहकले बुझ्न सक्थे।
तर अहिले भने त्यस्तो स्पष्ट चेतावनी नदिई क्यूआर स्क्यान गर्दा खल्तीले क्यूआरमा रहेको मोबाइल नम्बरका आधारमा सोही नम्बरको खल्ती खातामा रकम पठाउने अवस्था देखिएको भन्दै ग्राहकले प्रश्न उठाएका छन्।
अझ चासोको विषय, ईसेवाबाट खल्तीको क्यूआर स्क्यान गर्दा भने “QR Not Supported” भन्ने सूचना आउने र रकम पठाउन नमिल्ने अवस्था रहेको ग्राहकको दाबी छ।
यसले क्यूआर भुक्तानी प्रणालीमा ग्राहकलाई कारोबार हुनुअघि पर्याप्त जानकारी र स्पष्टता दिइएको छ कि छैन भन्ने प्रश्न उठाएको छ। विशेषगरी क्यूआर अर्को भुक्तानी सेवाको भए पनि स्क्यान गरेपछि रकम कुन खातामा जाने हो भन्ने कुरा ग्राहकलाई स्पष्ट रूपमा देखाइएन भने यस्ता घटनाले ग्राहक र व्यापारी दुवैलाई अन्योलमा पार्न सक्छ।
डिजिटल भुक्तानीको उद्देश्य कारोबारलाई सहज र छिटो बनाउनु हो। तर क्यूआर स्क्यान गरेर पैसा काटिएपछि व्यापारीले रकम प्राप्त नगरेको बताउने र अन्ततः ग्राहकले पुनः अर्को माध्यमबाट भुक्तानी गर्नुपर्ने अवस्था आएमा यसले उपभोक्तालाई अनावश्यक झन्झट थप्ने देखिन्छ।
यस विषयमा खल्तीले अर्को भुक्तानी सेवाको क्यूआर स्क्यान गर्दा क्यूआरमा रहेको मोबाइल नम्बरको आधारमा खल्ती खातामा रकम पठाइने हो भने त्यसबारे ग्राहकलाई कारोबारअघि स्पष्ट जानकारी वा चेतावनी किन नदिएको हो, भन्ने विषयमा स्पष्ट पार्न आवश्यक देखिन्छ।
नेपाल राष्ट्र बैंकले क्रस–वालेट कारोबार लागू गर्ने भने पनि कार्यान्वयन नहुँदा यस्तो समस्या देखिएको हो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.