बेनी हाइड्रोपावरको सर्वसाधारणका लागि आइपीओ भदौ २२ गतेदेखि खुल्दै
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
काठमाडौँ । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ । यस्तै, २० हजार ८ सय कित्ता कम्पनीका कर्मचारी र ५२ हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकिएको छ ।
अब कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २ सय कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओको निष्कासन छिटोमा भदौ २५ गते बन्द हुनेछ भने सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी–आईआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
बेनी हाइड्रोपावरले १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ४७ लाख ५ हजार ८ सय ९ रुपैयाँ ४५ पैसा अनुमान गरिएको छ ।
आयोजनाको विद्युत् अनुमतिपत्रको अवधि २४ वर्ष बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयरमार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ ।
Comments
1 comment · join the conversation
Prabin sir
·Dhanna yo ayexa , arko auni aaba 2 month pachi ta hola hai ??
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.