मागअनुसारको ग्यास आपूर्ति भइरहेको आयल निगमको दाबी

नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मागअनुसार नियमित रूपमा ग्यास आपूर्ति भइरहेको स्पष्ट पारेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, १९ श्रावण २०८३, ६:४७ PM
फन्ट
मागअनुसारको ग्यास आपूर्ति भइरहेको आयल निगमको दाबी

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मागअनुसार नियमित रूपमा ग्यास आपूर्ति भइरहेको स्पष्ट पारेको छ।

निगमले २०८३ असार ३१ गतेको निर्णयअनुसार १४.२ किलोग्राम क्षमताको ग्यास सिलिन्डर बिक्री–वितरणको व्यवस्था मिलाइसकेको जनाएको छ।

निगमले ग्यास उद्योगीहरूलाई बजारमा सहज आपूर्तिको व्यवस्था मिलाउन आग्रह गर्दै विक्रेताहरूलाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राखी व्यवस्थित रूपमा बिक्री–वितरण गर्न निर्देशन दिएको छ। साथै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगीलाई प्राथमिकता दिन पनि आग्रह गरिएको छ।

काठमाडौँ उपत्यकामा केही ग्यास उद्योगको उच्च मागलाई ध्यानमा राख्दै साउन १६ गते शनिबारदेखि टेकुस्थित नेपाल आयल निगमको कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योगमार्फत बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको निगमले जनाएको छ।

ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न पनि उपभोक्तालाई अनुरोध गरिएको छ।

निगमका अनुसार खाना पकाउने ग्यासको आयात र बिक्री–वितरण नियमित रूपमा भइरहेको छ र आगामी दिनमा पनि निरन्तर रहनेछ। त्यसैले आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक रूपमा भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरिएको छ।

निगमले हाल मासिक औसत ४७ हजार मेट्रिक टन ग्यास खपत हुने जनाएको छ। वर्तमानमा मागअनुसार नै आपूर्ति भइरहेको र आकस्मिक रूपमा बढेको मागलाई ध्यानमा राख्दै यस महिनाको आयात परिमाणसमेत बढाइसकिएको जानकारी दिएको छ।

साउन १ गतेदेखि १८ गतेसम्म कुल ३१ हजार ८१६ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। आयातको अवस्थाले आपूर्तिमा कुनै समस्या नरहेको देखिएकाले हल्लाको पछि नलागी आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न निगमले पुनः आग्रह गरेको छ।

यस्तै, काठमाडौँ उपत्यकामा उपभोक्ताको सहजताका लागि ग्यास उद्योगहरूले आफ्नै उद्योग परिसरबाट समेत बिक्री–वितरणको व्यवस्था मिलाएको निगमले जनाएको छ। उपत्यकाबाहिर ग्याससम्बन्धी कुनै गुनासो भएमा निगमका प्रदेश कार्यालय, शाखा कार्यालय तथा डिपोमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

यद्यपि, निगमले ग्यास पर्याप्त रहेको दाबी गरे पनि काठमाडौँका अधिकांश ग्यास डिपोमा अझै ग्यासको अभाव देखिएको छ। निगमले बिक्री–वितरण गर्ने भनिएको टेकुस्थित केन्द्रमा समेत उपभोक्ताको ठूलो लाइन देखिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

NS

Nabaraj Shrestha

·

खै त बुटवल मा ग्यास पाईएको छैन त आयात भएको ग्यास कहाँ गयो त हजुर