सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद सवारीसाधन राखिएको घटनाप्रति रास्वपाको आपत्ति

विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

Artha Kendra Artha Kendra
सोमबार, २९ असार २०८३, ५:२८ PM
फन्ट
सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद सवारीसाधन राखिएको घटनाप्रति रास्वपाको आपत्ति

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्य ले विज्ञप्ति जारी गर्दै आमसञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति पार्टीको ध्यान गएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा रहेको सञ्चारमाध्यम र सञ्चारकर्मीले निर्भीक रूपमा काम गर्ने वातावरणमाथि असर पार्ने वा मनोवैज्ञानिक दबाब सिर्जना गर्ने उद्देश्यले गरिएका गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताको उल्लंघन भएको उल्लेख गरिएको छ।

लोकतान्त्रिक व्यवस्था, जिम्मेवार राजनीति र विधिको शासनमा विश्वास गर्ने दलका रूपमा रास्वपा पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढ रहेको विज्ञप्तिमा जनाइएको छ। कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, सञ्चार गृहमा त्रासको वातावरण सिर्जना गर्ने वा सञ्चार क्षेत्रलाई कमजोर बनाउने गतिविधि स्वीकार्य नहुने रास्वपाले स्पष्ट पारेको छ।

स्वतन्त्र र निर्भीक पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको भन्दै रास्वपाले प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित जुनसुकै गतिविधिको भर्त्सना गरेको छ।

रास्वपाले यस्ता घटनाको तत्काल, निष्पक्ष र तथ्यमा आधारित छानबिन गरी सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ।

साथै, यस्ता शंकास्पद गतिविधिमा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनअनुसार कारबाही गर्न पनि माग गरिएको छ।

विज्ञप्तिमा रास्वपाले सम्पूर्ण सञ्चार जगतलाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै सञ्चारकर्मी र सञ्चार गृहको सुरक्षा तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सदैव उभिने प्रतिबद्धता जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

SR

Sagar Raut

·

गाडि कस्को हो भन्ने कुरा ट्राफिक प्रहरि र यातायात कार्यालयमा सहकार्य गरेर गाडिको नम्बर अनुसार कस्को नाममा छ भन्ने यातायात ले निकाल्न सक्लानि त अनि गाडि धनि लाइ सम्पर्क गरे भैगोनि ।