गणेश नेपालीको मृत्युप्रति वीर अस्पतालले के भन्यो ?

त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको विषयमा वीर अस्पतालले शरीरको करिब ५५ प्रतिशत भाग जलेर अत्यन्तै नाजुक र जटिल अवस्थामा भर्ना भएका नेपालीको आज बिहान ११:१९ बजे निधन भएको जनाएको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, २६ असार २०८३, ४:३ PM
फन्ट
गणेश नेपालीको मृत्युप्रति वीर अस्पतालले के भन्यो ?

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको विषयमा वीर अस्पतालले शरीरको करिब ५५ प्रतिशत भाग जलेर अत्यन्तै नाजुक र जटिल अवस्थामा भर्ना भएका नेपालीको आज बिहान ११:१९ बजे निधन भएको जनाएको छ ।

मुगु जिल्ला सोरु गाउँपालिका–१ निवासी नेपालीलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएदेखि नै सघन उपचार कक्ष (आईसीयू) मा राखी मेकानिकल भेन्टिलेटरको सहयोगमा चौबीसै घण्टा निरन्तर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ।

उनको ज्यान बचाउन अस्पतालका प्लास्टिक सर्जरी, एनेस्थेसिया र क्रिटिकल केयर विधाका वरिष्ठ विशेषज्ञ चिकित्सक तथा नर्सिङ स्टाफको टोलीले निरन्तर प्रयास गरिरहेको अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

अस्पतालका अनुसार उनलाई थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारी समेत भइरहेको थियो। तर अचानक स्वास्थ्य स्थितिमा गम्भीर आकस्मिक जटिलता उत्पन्न भएपछि चिकित्सकहरूले तत्काल आपतकालीन सीपीआर (CPR) र जीवनरक्षक औषधिहरू प्रदान गरी अन्तिम क्षणसम्म बचाउने प्रयास गरेका थिए। उपलब्ध उच्चतम चिकित्सा सेवा र अथक प्रयासका बाबजुद बिरामीलाई बचाउन नसकिएको अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।

वीर अस्पतालले जारी गरेको विज्ञप्तिः

मुगु जिल्ला, सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपाली शरीरको करिब ५५ प्रतिशत भाग जलेको (Severe Burn) अत्यन्तै नाजुक र जटिल अवस्थामा हिजो यस अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएको थियो। अस्पताल भर्ना भएदेखि नै उहाँको जीवन रक्षाका लागि विशेषज्ञ टोलीले आईसीयूमा राखी मेकानिकल भेन्टिलेटरको सहयोगमा चौबीसै घण्टा निरन्तर उपचार गरिरहेको थियो।

बिरामीको संवेदनशीलतालाई मध्यनजर गर्दै अस्पतालका प्लास्टिक सर्जरी, एनेस्थेसिया र क्रिटिकल केयर विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकहरू तथा नर्सिङ स्टाफको टोलीले उहाँको ज्यान बचाउनका लागि चिकित्सा विज्ञानले भ्याएसम्मका सबै प्रयासहरू गरिरहेका थिए। उहाँलाई थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारी भइरहेका बेला अचानक स्वास्थ्य स्थितिमा गम्भीर आकस्मिक जटिलता उत्पन्न भएपछि चिकित्सकहरूले तत्काल आपतकालीन सीपीआर (CPR) र जीवनरक्षक औषधिहरू प्रदान गरी अन्तिम क्षणसम्म अथक प्रयास जारी राखेका थिए।

यसरी अस्पतालको बहु-विशेषज्ञ टोलीराज्य संयन्त्रको तर्फबाट रातदिन उपलब्ध सबै प्रविधि, औषधि र विशेषज्ञताको प्रयोग गरी निरन्तर प्रयास गर्दागर्दै पनि उहाँको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन। उपचारकै क्रममा आज शुक्रबार बिहान ११:१९ बजे उहाँको दुःखद र असामयिक निधन भएको छ।

उपलब्ध उच्चतम चिकित्सा सेवा र अथक प्रयासका बावजुद बिरामीलाई बचाउन नसकेकोमा वीर अस्पताल परिवार पूर्ण रूपमा स्तब्ध भएको छ। स्वर्गीय गणेश नेपालीप्रति गहिरो दुःख र श्रद्धाञ्जली व्यक्त गर्दै वीर अस्पताल परिवार र नेपाल सरकारले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, यस अपूरणीय क्षतिको कठिन घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.