यातायात व्यवसायीलाई महासंघको कडा निर्देशन : यात्रुमैत्री सेवा दिन र नियम पालना गर्न आग्रह

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले सार्वजनिक यातायात सेवाप्रति बढ्दो गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सबै व्यवसायीलाई कानुनको पूर्ण पालना गर्दै यात्रुमैत्री सेवा प्रदान गर्न निर्देशन दिएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २५ असार २०८३, १:१६ PM
फन्ट
यातायात व्यवसायीलाई महासंघको कडा निर्देशन : यात्रुमैत्री सेवा दिन र नियम पालना गर्न आग्रह

काठमाडौं, २५ असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ ले सार्वजनिक यातायात सेवाप्रति बढ्दो गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सबै व्यवसायीलाई कानुनको पूर्ण पालना गर्दै यात्रुमैत्री सेवा प्रदान गर्न निर्देशन दिएको छ। महासंघले सार्वजनिक यातायातलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नियमविपरीतका सबै गतिविधि तत्काल रोक्न आग्रह गरेको हो।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनाअनुसार काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात सञ्चालनका क्रममा यात्रुलाई गन्तव्यसम्म नपुर्‍याउने, मनपरी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुमैत्री व्यवहार नगर्ने, तोकिएको स्थानबाहेक यात्रु चढाउने–ओराल्ने तथा यात्रु तानातान गर्ने जस्ता कार्य बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।

त्यसैगरी, सवारीसाधनको सरसफाइमा बेवास्ता गर्ने, डस्टबिनको व्यवस्था नगर्ने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक नियम उल्लंघन गर्ने तथा आवश्यक कागजात अद्यावधिक नराख्ने प्रवृत्तिप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ।

महासंघले यस्ता गतिविधिले सार्वजनिक यातायात क्षेत्रको विश्वसनीयता र छवि कमजोर बनाइरहेको उल्लेख गर्दै खर्बौं रुपैयाँ लगानी भएको तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व योगदान गर्ने यस क्षेत्रलाई थप मर्यादित, लगानीमैत्री र यात्रुमैत्री बनाउन व्यवसायी र मजदुर दुवैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

साथै, सेवामा सुधार नआए सम्बन्धित सरकारी निकायले सवारीसाधन, व्यवसायी तथा मजदुरमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सक्ने भन्दै महासंघले सबै सरोकारवालालाई नियमको पालना गर्न सचेत गराएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

1 comment · join the conversation

A

Abishek

·

कुरा सही हो मान्नै पर्छ तर सचेत गर्नको लागि देखिने गरी मूल्य तालिका गाडी पिच्छे देखिने ठाउँमा राख्ने र यदि त्यो अनुसार नभए उजुरीको लागि नम्बर सम्बन्धित निकायको नम्बर राख्नु पनि जरुरी छ