मौसम विभागको विभिन्न जिल्लामा तातो लहर चल्ने चेतावनी, सतर्क रहन आग्रह
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न तराई क्षेत्रहरूमा अत्यधिक गर्मी र तातो लहरको जोखिम बढ्दै गएको भन्दै विशेष बुलेटिन जारी गरेको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न तराई क्षेत्रहरूमा अत्यधिक गर्मी र तातो लहरको जोखिम बढ्दै गएको भन्दै विशेष बुलेटिन जारी गरेको छ।
महाशाखाका अनुसार जेठ १९ गतेदेखि मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भने तापक्रम ३९ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
देशभरको तापक्रम अवस्थाको विश्लेषण गर्दा आगामी तीन दिनसम्म पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विशेषगरी मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा आगामी तीन दिनसम्म मध्यम स्तरको तातो लहर चल्न सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा तातो दिनको अवस्था रहने सम्भावना भएकाले विभागबाट जारी हुने पछिल्ला मौसम सूचनाहरू नियमित रूपमा हेर्न अनुरोध गरिएको छ।
महाशाखाले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासी, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । त्यस्तै कञ्चनपुर, कैलाली, पूर्वी नवलपरासी, चितवन, सुनसरी, मोरङ र झापा जिल्लाका बासिन्दालाई मौसमसम्बन्धी अद्यावधिक सूचनामा नियमित ध्यान दिन भनिएको छ।
महाशाखाका अनुसार तातो हावा र तातो लहरका कारण थकान महसुस हुने, शरीर कमजोर हुने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्छन् ।
यस्ता समस्याबाट बच्न अत्यधिक गर्मी हुने समयमा घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा बाहिर ननिस्किन, चर्को घामबाट जोगिन, हल्का तथा सुतीका कपडा लगाउन, बाहिर जाँदा टाउको छोप्न वा टोपी प्रयोग गर्न, प्रशस्त मात्रामा पानी तथा झोल पदार्थ पिउन र स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग तत्काल परामर्श लिन महाशाखाले सुझाव दिएको छ।
महाशाखाले दैनिक रूपमा जारी हुने मौसम पूर्वानुमान बुलेटिनमार्फत थप अद्यावधिक जानकारी सार्वजनिक गरिने जनाएको छ। साथै सम्पूर्ण नागरिकलाई आधिकारिक मौसमी सूचनाहरू नियमित रूपमा पछ्याउन अनुरोध गरेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.