माउन्ट एभरेष्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्दै

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि असार ३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २१ जेठ २०८३, १२:२२ PM
फन्ट
माउन्ट एभरेष्ट पावरको आईपीओ असार ३ गतेदेखि खुल्दै

काठमाडौं, २१ जेठ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि असार ३ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १४ लाख २७ हजार ६ सय कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको कम्पनीले अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले प्राप्त गरेको CARE-NP BB+ (Is)] ले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। आईपीओमा आवेदन दिने अवधि छिटोमा असार ८ गतेसम्म रहनेछ भने पर्याप्त आवेदन नपरेमा असार १७ गतेसम्म लम्बिनेछ।

आईपीओको रकम कहाँ खर्च हुन्छ ?

कम्पनीको विवरणपत्रअनुसार सर्वसाधारणबाट उठ्ने रकम मुख्य रूपमा आयोजना निर्माणका लागि लिइएको बैंक कर्जा भुक्तानीमा प्रयोग गरिनेछ। कम्पनीले सञ्चालन गरिरहेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत् आयोजना व्यापारिक उत्पादनमा प्रवेश गरिसकेको भएकाले आईपीओबाट प्राप्त रकम नयाँ आयोजना वा विस्तारमा खर्च हुने छैन।

कम्पनीले आयोजना निर्माणका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको थियो। आईपीओबाट प्राप्त रकमले ऋणभार घटाउँदा ब्याज खर्च कम हुने र आगामी वर्षहरूमा नाफामा सकारात्मक प्रभाव पर्ने कम्पनीको प्रक्षेपण छ।

नाफा र प्रतिफल सुधार हुने अपेक्षा

विवरणपत्रअनुसार ऋण घटेसँगै वित्तीय खर्च क्रमशः घट्ने अनुमान गरिएको छ। कम्पनीले आगामी वर्षहरूमा प्रतिशेयर आम्दानी (EPS) समेत उल्लेखनीय रूपमा वृद्धि हुने प्रक्षेपण गरेको छ।

व्यापारिक उत्पादनको पहिलो पूर्ण वर्ष आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले करिब ३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको खुद नाफा ७ करोड ३० लाख रुपैयाँभन्दा बढी पुगेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबि एस क्यापिटल लिमिटेड ले सम्हालेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.