काठमाडौं उपत्यकामा ट्राफिक कारबाही कडा, एकै दिन २,४४५ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले निगरानी तथा कारबाहीलाई थप तीव्र बनाएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २१ जेठ २०८३, १२:८ PM
फन्ट
काठमाडौं उपत्यकामा ट्राफिक कारबाही कडा, एकै दिन २,४४५ चालक कारबाहीमा

काठमाडौं, २१ जेठ। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले निगरानी तथा कारबाहीलाई थप तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नियम उल्लङ्घन गरेको अभियोगमा २ हजार ४४५ जना चालक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व संकलन भएको छ। सडक सुरक्षा सुदृढ गर्ने, दुर्घटना न्यूनीकरण गर्ने तथा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले नियमित अनुगमनलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ।

कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १२८ जना चालक रहेका छन्। त्यसैगरी, नियमविपरीत राइड सेयरिङ सेवा सञ्चालन गर्ने १६० जना चालकलाई पनि जरिवाना गरिएको छ।

ट्राफिक प्रहरीका अनुसार ट्राफिक बत्ती उल्लङ्घन गर्ने १४१ जना, अत्यधिक गति (ओभर स्पिड) मा सवारी चलाउने १८३ जना तथा लेन अनुशासन उल्लङ्घन गर्ने ४३ जना चालक कारबाहीमा परेका छन्।

यस्तै, अनावश्यक रूपमा हर्न बजाई ध्वनि प्रदूषण गर्ने १२३ जना चालकलाई जरिवाना गरिएको छ भने सडक पेटी (फुटपाथ) मा सवारी पार्किङ गर्ने १४ जनामाथि पनि कारबाही गरिएको छ।

एकतर्फी सडकमा सवारी सञ्चालन गर्ने १६६ जना चालकलाई नियन्त्रणमा लिइएको छ। साथै अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ४८७ जना चालक पनि कारबाहीको दायरामा आएका छन्।

ट्राफिक प्रहरीले सडक सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै नियमित चेकजाँच, निगरानी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। साथै, चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन तथा जिम्मेवारीपूर्वक सवारी सञ्चालन गर्न आग्रह गरेको छ।

प्रहरीको भनाइमा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनले सडक दुर्घटना न्यूनीकरण, यातायात व्यवस्थापन सुधार तथा यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.