जेठ २२ देखि एभरेष्ट कलरको आईपीओ खुल्ने

एभरेष्ट कलर लिमिटेडले यही जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

Artha Kendra Artha Kendra
आइतबार, १० जेठ २०८३, १२:० PM
फन्ट
जेठ २२ देखि एभरेष्ट कलरको आईपीओ खुल्ने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले यही जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ६ लाख ५५ हजार ७०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर कुल ७ लाख ९० हजार कित्ता आईपीओ बिक्रीका लागि अनुमति प्राप्त गरेको थियो। यसमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जसको बाँडफाँट सम्पन्न भइसकेको छ।

त्यसैगरी, ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिएको शेयरसमेत बाँडफाँट भइसकेको कम्पनीले जनाएको छ। अब बाँकी रहेको ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गर्न लागिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा जेठ २७ गते तोकिएको छ। यदि सो अवधिसम्म पूर्ण आवेदन नपरेमा बिक्री अवधि असार ५ गतेसम्म थप हुन सक्नेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक Muktinath Capital Limited रहेको छ। लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, Mero Share प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत अनलाइन आवेदनसमेत दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा CARE Ratings Nepal ले कम्पनीलाई ‘CARE-NP Double B Issuer Rating’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने बताइएको छ।

वित्तीय अवस्था कस्तो छ ?

कम्पनीको प्रति शेयर आम्दानी (EPS) आर्थिक वर्ष २०७९/८० मा ६ रुपैयाँ ६० पैसा रहेको थियो। यो आर्थिक वर्ष २०८०/८१ मा घटेर १ रुपैयाँ ८८ पैसामा झरेको भए पनि आर्थिक वर्ष २०८१/८२ मा सुधार हुँदै ९ रुपैयाँ ६० पैसा पुगेको कम्पनीले जनाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पौष मसान्तसम्म अपरिष्कृत ईपीएस ८ रुपैयाँ ३७ पैसा रहेको उल्लेख गरिएको छ।

यस्तै, आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको प्रति शेयर नेटवर्थ पुनर्मूल्यांकनसहित ११३ रुपैयाँ ९७ पैसा तथा पुनर्मूल्यांकनबाहेक १०० रुपैयाँ २ पैसा रहेको थियो। चालु आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीको नेटवर्थ ११८ रुपैयाँ ४० पैसा पुगेको छ।

हाल कम्पनीको चुक्ता पूँजी २२ करोड १० लाख रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपछि चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्नेछ भने संस्थापक समूहको स्वामित्व ७३.६७ प्रतिशत कायम रहने कम्पनीले जनाएको छ।

१४ वर्षदेखि पेन्ट उत्पादनमा सक्रिय कम्पनी

२०६८ साल वैशाख २२ गते प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको कम्पनी २०८१ असार १० गते पब्लिक लिमिटेडमा रूपान्तरण भएको हो। कम्पनीले चितवनको खैरहनी–३ मा उत्पादन केन्द्र स्थापना गरी विभिन्न प्रकारका पेन्ट उत्पादन गर्दै आएको छ। यसको कर्पोरेट कार्यालय भने भक्तपुरको मध्यपुर थिमी–३ मा रहेको छ।

कम्पनीसँग ISO 9001:2015 अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र रहेको छ। कम्पनीले Everstay, Evertop, Everguard, Sapphire, Bell, Jureli र Gaida लगायत ३३ प्रकारका पेन्ट उत्पादन गर्दै आएको जनाएको छ। कम्पनीका नाममा २३ वटा ट्रेडमार्कसमेत दर्ता रहेका छन्।

बिक्री र बजार विस्तारमा सुधार

कम्पनीको बिक्री आम्दानी निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा ६ करोड ७६ लाख रुपैयाँ रहेको कुल बिक्री आर्थिक वर्ष २०८०/८१ मा ९ करोड ५० लाख रुपैयाँ पुगेको थियो। आर्थिक वर्ष २०८१/८२ मा बिक्री बढेर १४ करोड २१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४९.५७ प्रतिशत बढी हो।

नेपालको पेन्ट बजारको आकार करिब १४ देखि १५ अर्ब रुपैयाँ रहेको अनुमान गरिएको छ। त्यसमध्ये बहुराष्ट्रिय कम्पनीहरूको हिस्सा करिब ५० प्रतिशत रहेको अवस्थामा एभरेष्ट कलरले आफ्नो बजार हिस्सा १ देखि १.५ प्रतिशतको हाराहारीमा रहेको जनाएको छ। कम्पनीको सबैभन्दा धेरै बिक्री बागमती प्रदेशमा हुने गरेको उल्लेख गरिएको छ।

आईपीओबाट उठेको रकम कहाँ खर्च हुनेछ ?

कम्पनीले आईपीओबाट संकलन हुने रकम मुख्य कार्यालयका लागि जग्गा तथा भवन खरिद, शाखा विस्तार, नयाँ मेसिनरी खरिद, ढुवानीका लागि ट्रक व्यवस्थापन, बजार विस्तार तथा कच्चा पदार्थ खरिदमा प्रयोग गर्ने योजना बनाएको छ। साथै, फर्निचर, सवारी साधन तथा अन्य उपकरण खरिदमा समेत रकम खर्च गरिने कम्पनीले जनाएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.