नासा सेक्युरिटीजले दियो साइबर ब्यूरोमा उजुरी, कम्पनीको ख्यातिमा असर पुर्‍याएको आरोप

टिकटकमा भ्रामक भिडियो पोस्ट गरी कम्पनीको ख्यातिमा हानि पुर्‍याएको आरोप लगाउँदै नासा सेक्युरिटीज कम्पनी लिमिटेडले नेपाल प्रहरी साइबर ब्यूरोमा उजुरी दर्ता गरेको छ।

Artha Kendra Artha Kendra
बिहिबार, ३१ बैशाख २०८३, ८:३४ AM
फन्ट
नासा सेक्युरिटीजले दियो साइबर ब्यूरोमा उजुरी, कम्पनीको ख्यातिमा असर पुर्‍याएको आरोप

नासा सेक्युरिटीज कम्पनी लिमिटेड (ब्रोकर नं. ५८) ले आफ्नो कम्पनीको ख्यातिमा हानि पुर्‍याएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो, भोटाहिटी मा उजुरी दर्ता गरेको छ। वैशाख ३० गते बुधबार चलानी नं. १९०६ मार्फत यो उजुरी दर्ता गरिएको हो।

उजुरीअनुसार, SHARESATHI र SUNDAR sharediscussion नामक टिकटक खाताधारक व्यक्तिहरूले निवेदक कम्पनीको भवनको फोटो प्रयोग गरी अडियो भिडियो बनाएका छन्। ती भिडियोहरूमा कुनै आधार र प्रमाण नभए पनि तथ्यहीन रूपमा कम्पनीविरुद्ध भ्रामक व्यहोरा पोस्ट गरिएको कम्पनीले जनाएको छ।

के छ आरोप?

नासा सेक्युरिटीजका अनुसार उक्त टिकटक खाताधारकहरूले निम्न व्यहोरा लेखेर भिडियो प्रकाशन गरेका छन्:

"नासा सेक्युरिटीज (ब्रोकर नं. ५८) लाई कारबाही, लगानीकर्ताको पुँजी संरक्षणमा कमजोरीवित्तीय प्रणालीमा असर र बजारको विश्वास घटाएको भेटियो।"

कम्पनीको दाबी छ कि यी भनाइहरू कुनै आधार र प्रमाणविना पोस्ट गरिएका हुन्। उक्त भिडियोहरू टिकटक मार्फत सार्वजनिक रूपमा सेयर गरी व्यक्तिगत आर्थिक लाभ प्राप्त गर्ने उद्देश्यले निर्माण गरिएको र यसले कम्पनीको व्यवसायिक ख्यातिलाई हानि नोक्सानी पुर्‍याएको कम्पनीको ठहर छ।

कम्पनीको माग

नासा सेक्युरिटीजले साइबर ब्यूरोसामु दुई वटा माग राखेको छ:

१. आपत्तिजनक टिकटक भिडियो हटाउन लगाइयोस्।

२. सम्बन्धित खाताधारकहरूलाई प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गरियोस्।

उजुरीमा कम्पनीका तर्फबाट हस्ताक्षर र कम्पनीको छाप राखिएको छ। साथै, संलग्न कागजातका रूपमा भिडियोको स्क्रिनसटहरू पनि साइबर ब्यूरोलाई बुझाइएको छ।

लगानीकर्तालाई पनि सचेत गराइयो

उजुरीसँगसँगै नासा सेक्युरिटीजले छुट्टै सूचना जारी गर्दै आफ्ना ग्राहक महानुभावहरूलाई पनि सचेत गराएको छ। कम्पनीको आधिकारिक सूचनामा भनिएको छ:

"सामाजिक सञ्जालमा हाल केही व्यक्तिद्वारा आफ्नो व्यक्तिगत आर्थिक लाभ प्राप्त गर्नका लागि नासा सेक्युरिटीज कम्पनी लि. को भवनको फोटो प्रयोग गरी अडियो भिडियो बनाई कम्पनीको ख्यातिमा हानि पुर्‍याउने कार्य गरेको पाइएको छ।"

कम्पनीको थप भनाइ छ, "बिना कुनै आधार र प्रमाण, तथ्यहीन रूपमा हामीमा लागिएको लान्छनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, र हामी साइबर ब्युरोमा उजुरी दर्ता गरी उक्त व्यक्तिलाई कडा कारबाही गर्ने प्रक्रियामा लागेका छौं।"

कम्पनीले लगानीकर्ता तथा ग्राहकहरूलाई सामाजिक सञ्जालमा उपलब्ध नकारात्मक र भ्रामक सामग्रीदेखि सावधान रहन अनुरोध गरेको छ।

नासा सेक्युरिटीज कम्पनी लिमिटेड नेपाल धितोपत्र बोर्ड (SEBON) बाट इजाजतप्राप्त धितोपत्र दलाल हो। यो नेपाल स्टक एक्सचेन्ज (NEPSE) को सदस्यता नं. ५८ मा रहेको छ। कम्पनीको प्रधान कार्यालय लाल कोलोनी मार्ग, लालदरबार, काठमाडौं मा रहेको छ।

सम्बन्धित
नासा एक्समा समस्या : शेयर नदेखिँदा किनबेच प्रभावित, सम्पर्क हुन नसकेको लगानीकर्ताको गुनासो

प्रणालीमा आफूले धारण गरेको शेयर नदेखिँदा किनबेच गर्न समस्या भएको लगानीकर्ताहरूले बताएका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.