स्नो रिभर्स लिमिटेडको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला

मंगलबार, २९ बैशाख २०८३, १२:६ PM
post-image

काठमाडौं । स्नो रिभर्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अंकित मूल्यमा ७ लाख ७८ हजार १२५ कित्ता साधारण शेयर निष्कासन गरेको हो । यसमार्फत कम्पनीले करिब रु. ७ करोड ७८ लाख बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपिओमा आवेदन दिने अन्तिम मिति छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गतेसम्म रहने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेको छ । कम्पनीले कुल जारी पूँजीको १०% अर्थात् ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई छुट्याएको थियो ।

कम्पनीले सञ्चालन गरिरहेको १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजनाको कुल लागत करिब रु. २ अर्ब ७१ करोड ९० लाख रहेको छ । प्रति मेगावाट लागत करिब रु. २० करोड १४ लाख रहेको कम्पनीले जनाएको छ । ताप्लेजुङको सिरीजङ्गा गाउँपालिका–८ याम्फुदिनमा रहेको आयोजनाले २०८१ पुस ५ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । कम्पनीका अनुसार आयोजना निर्धारित मितिभन्दा करिब ३ महिना २४ दिन अगावै सञ्चालनमा आएको हो ।

उत्पादित विद्युत ३०.३५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको अमरपुर (काबेली) सबस्टेसनमा जोडिएको छ । कम्पनीले प्राधिकरणसँग ३० वर्षे विद्युत खरिद बिक्री सम्झौता (PPA) गरेको छ । सम्झौताअनुसार वर्षायाममा प्रतियुनिट रु. ४.८० र सुख्खायाममा रु. ८.४० दरमा विद्युत बिक्री हुनेछ ।

ICRA Nepal Limitedले कम्पनीलाई [ICRANP-IR] BB+ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । यो रेटिङ २०८२ असोज ३१ गते अपग्रेड गरिएको हो ।

कम्पनीको अधिकृत तथा जारी पूँजी रु. ९३ करोड ७५ लाख रहेको छ । संस्थापक समूहले ८०% अर्थात् रु. ७५ करोड चुक्ता गरिसकेका छन् भने बाँकी २०% शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो । आइपिओबाट उठेको रकम बैंक ऋण भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ ।

वित्तीय सूचकअनुसार आयोजनाको Pay Back Period ८.१७ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता अवधि १५.७७ वर्ष रहेको छ । त्यस्तै, आयोजनाको Project IRR ११.६१% तथा Equity IRR १४.८३% रहेको कम्पनीले जनाएको छ ।

विशेष सुविधा अन्तर्गत आयोजनाले पहिलो १० वर्ष शतप्रतिशत आयकर छुट र त्यसपछिका ५ वर्ष ५०% आयकर छुट पाउने व्यवस्था रहेको छ ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा रु. ३ करोड ३० लाख ७४ हजार खुद नाफा कमाएको थियो । उक्त अवधिमा कम्पनीको प्रति शेयर आम्दानी (EPS) रु. ४.९८ तथा प्रति शेयर नेटवर्थ रु. १०५.०६ रहेको छ ।

लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ASBA सेवा उपलब्ध बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले एकभन्दा बढी आवेदन दिएमा सबै आवेदन स्वतः रद्द हुने जनाएको छ ।

कम्पनीले लगानीकर्तालाई आइपिओमा आवेदन दिनुअघि कम्पनीको पूर्ण विवरणपत्र अध्ययन गरी स्वविवेकले निर्णय लिन आग्रह गरेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}