फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

बुधबार, १६ बैशाख २०८३, १२:४ PM
post-image

१६ वैशाख, काठमाडौं । इन्धनको मूल्य वृद्धि भएसँगै यातायात व्यवस्था विभागले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा वृद्धि गरेको हो । बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ ।

अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।

विभागका अनुसार हाल डिजेलको औसत बजार मूल्य प्रतिलिटर रु. २३५.८३ पुगेको छ । अघिल्लो पटक चैत २५ गते भाडा समायोजन हुँदा डिजेलको मूल्य प्रतिलिटर रु. १८०.८३ रहेको थियो । त्यसयता डिजेलको मूल्यमा करिब ३०.४१ प्रतिशतले वृद्धि भएपछि स्वचालित भाडा समायोजन प्रणालीअनुसार पुनः भाडा बढाउनुपरेको विभागले जनाएको छ ।

भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत १२ वैशाखमा सैद्धान्तिक सहमति दिएको थियो । सोहीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ ।

विभागले इन्धनको बजार मूल्यमा ५ प्रतिशत वा सोभन्दा बढी घटबढ हुँदा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा भाडा परिवर्तन हुने व्यवस्था रहेको जनाएको छ । जनजीविकामा पर्नसक्ने असरलाई न्यून गर्ने उद्देश्यले सरोकारवालासँग परामर्श गरी निर्णय गरिएको विभागको भनाइ छ ।

विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने विभागले स्पष्ट पारेको छ । विद्युतीय सवारीसाधनले भाडा बढाएमा कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}