आज दिनभरका प्रमुख २० समाचार बुलेटिन
काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सरकारले १० किलोभन्दा कम तौलमा बेकरी सर्टेनिङ बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योगहरूले १० केजीभन्दा कम तौलको प्याकमा बेकरी सर्टेनिङ उत्पादन, प्याकेजिङ तथा बिक्री वितरण गर्न रोक लगाउने निर्णय गरेको हो । साथै विभागले बजारमा बिक्री वितरणमा रहेको १० केजीभन्दा कम तौलको बेकरी सर्टेनिङ १५ दिनभित्र बजारबाट फिर्ता गराउन निर्देशन दिएको छ । उद्योगहरूले बेकरी सर्टेनिङको उत्पादन, प्याकेजिङ तथा तथा बिक्री वितरण गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने विभागले जनाएको छ । विभागले भनेको छ: यस विभागको मिति २०८३/०१/१४ गतेको निर्णयानुसार बेकरी सर्टेनीङ्ग उत्पादन, प्याकेजिङ्ग तथा बिक्री वितरण गर्ने उद्योगहरुले १० के. जी. भन्दा कम तौलको प्याकमा बेकरी सर्टेनीङ्गको उत्पादन, प्याकेजिङ्ग तथा बिक्री वितरण नगर्न नगराउन हुन सम्वन्धित सबै उद्योगहरुलाई सूचित गरिन्छ । बजारमा बिक्रीवितरणमा रहेको १० के. जी. भन्दा कम तौलको बेकरी सर्टेनीङ्ग यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र बजारबाट फिर्ता (Recall) गरी यस विभाग र उद्योग रहेको क्षेत्रको विभाग मातहतको कार्यालयमा जानकारी गराउन हुन समेत सूचित गरिन्छ। यस सूचनाको बर्खिलाप हुने गरी कसैले बेकरी सर्टेनीङ्गको उत्पादन, प्याकेजिङ्ग तथा तथा बिक्रीवितरण गरेको पाईएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराईन्छ । यस विभागको मिति २०८३/०१/१४ गतेको निर्णयानुसार बेकरी सर्टेनीङ्ग उत्पादन, प्याकेजिङ्ग तथा बिक्री वितरण गर्ने उद्योगहरुले १० के. जी. भन्दा कम तौलको प्याकमा बेकरी सर्टेनीङ्गको उत्पादन, प्याकेजिङ्ग तथा बिक्री वितरण नगर्न नगराउन हुन सम्वन्धित सबै उद्योगहरुलाई सूचित गरिन्छ। बजारमा बिक्रीवितरणमा रहेको १० के. जी. भन्दा कम तौलको बेकरी सर्टेनीङ्ग यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र बजारबाट फिर्ता (Recall) गरी यस विभाग र उद्योग रहेको क्षेत्रको विभाग मातहतको कार्यालयमा जानकारी गराउन हुन समेत सूचित गरिन्छ। यस सूचनाको बर्खिलाप हुने गरी कसैले बेकरी सर्टेनीङ्गको उत्पादन, प्याकेजिङ्ग तथा तथा बिक्रीवितरण गरेको पाईएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराईन्छ ।
२- सर्वोच्च अदालतले सुकुम्बासी बस्ती भत्काउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सरकारलाई बोलाएको हो । सरकारले सुकुम्बासी बस्ती हटाउने निर्णय गरेपछि गोपाल रन पहेलीलगायतले रिट दायर गरेको रिटमा वैशाख २२ गते अन्तरिम आदेशमा छलफलका लागि बोलाएको छ ।
३- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका प्राविधिक सहायकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीले उद्योग नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेर हैरानी दिएको भन्ने उजुरीपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । अनुसन्धानका क्रममा चौधरीले खाद्य उद्योग अनुमति पत्र नवीकरण गर्ने काम गरिदिने भन्दै विभिन्न बहाना बनाएर सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागी लिएको पुष्टि भएको आयोगले जनाएको छ । सोही रकम लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको थियो । अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनलाई बिगो ३० हजार रुपैयाँ कायम गरी कैद र जरिवानाको मागसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
४- युएईले जारी आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ सिरिज अन्तर्गतको खेलमा ओमानलाई पराजित गरेको छ । सोमबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा युएईले ओमानलाई २५ रनले पराजित गरेको छ । युएईले दिएको २६९ रनको लक्ष्य पछाएको ओमानले ४७.५ ओभरमा अल आउट हुदै २४३ रन बनाएको थियो । ओमानलाई अल आउट गर्नेक्रममा युएईका बलर अजय कुमारले ६ विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गरेको युएईले आर्यांश शर्माको १०५ रनको शतकीय पारीको मद्धतले ५० ओभरमा ७ विकेट गुमाएर २६८ रन बनाएको थियो । यो जितपछि युएईको २२ खेलमा १२ रन भएको छ भने ओमानको २५ खेलमा २९ अंक रहेको छ ।
५- सरकारले विश्व भू-राजनीतिक तनाव र विशेषगरी मध्यपूर्वको बढ्दो द्वन्द्वले नेपालको अर्थतन्त्रमा बहुआयामिक चुनौतीहरू थप्ने देखिएको बताएको छ । अर्थ मन्त्रालयले सोमबार प्रकाशन गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्रमा द्वन्द्वले नेपालको अर्थतन्त्रमा बहुआयामिक चुनौतीहरू थप्ने देखिएको उल्लेख गरेको छ । जस अनुसार पश्चिम एसियाका १५ मुलुकमा कार्यरत करिब १७.५ लाख नेपाली कामदार र कुल विप्रेषण (रेमिट्यान्स) को ३७.४ प्रतिशत हिस्सा ओगटेको यस क्षेत्रको अस्थिरताले वैदेशिक रोजगारी र विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष जोखिम निम्त्याएको छ । यसैगरी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध आउँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनामै करिब ६० प्रतिशतले वृद्धि भई आन्तरिक मूल्यमा समेत चाप परिसकेको छ। यसका साथै रासायनिक मलमा निर्भर नेपाली अर्थतन्त्रलाई यसले थप प्रभावित तुल्याउने देखिएको स्थितिपत्रमा उल्लेख छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा नेपाल ग्रे- लिष्टमा परेको छ। वित्तीय कारबाही कार्यदलले २०८१ फागुन ९ देखि नेपाललाई ग्रे-लिष्टमा राखेसँगै अन्तर्राष्ट्रिय जगतमा मुलुकको वित्तीय विश्वसनीयतामा प्रश्न उठेको स्थितिपत्रमा उल्लेख छ। स्थितिपत्र अनुसार नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने चरणमा रहे तापनि यसलाई दिगो बनाउने चुनौती छ। आगामी २४ नोभेम्बर २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन नेपाल योग्य छ। विकास यात्राको एउटा महत्वपूर्ण कोशेढुंगा भए तापनि यस स्तरोन्नतिलाई दिगो बनाउनु स्थितिपत्रमा उल्लेख गरिएको छ ।
६- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रमहरू अब कार्यालय भित्रकै सभा हल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने भएको छ । मन्त्रालयको योजना अनुगमन तथा मूल्याकंन महाशाखाले आज सबै महाशाखा, आयोग, प्राधिकरण, विभाग तथा कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी खर्चलाई मितव्ययी र उपलब्धिमूलक बनाउन यस्तो निर्देशन दिएको हो । महाशाखाका अनुसार अब कुनै पनि कार्यालयले बैठक, गोष्ठी, तालिम, सेमिनार लगायतका कार्यकमहरु होटेल तथा रिसोर्टहरुमा सञ्चालन नगरी आफनै कार्यालय परिसर वा सरकारी संरचनाभित्र रहेका सभा कक्ष र तालिम कक्षमा मात्रै गर्नुपर्ने छ ।
७- अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको गोलीकाण्डका संदिग्धलाई आज अदालतमा पेश गरिने भएको छ । यो घटना ह्वाइट हाउस कफ्रिपोन्डेन्ट्स डिनरको रात भएको थियो । अमेरिकी मिडियाका अनुसार पक्राउ परेका व्यक्ति ३१ वर्षका कोल टोमस एलन हुन् । उनी क्यालिफोर्नियाको टोरान्सका बासिन्दा भएको बताइएको छ । अमेरिकी अटर्नी जनरल टोड ब्लान्चले प्रारम्भिक अनुसन्धानमा आरोपीले ट्रम्प प्रशासनका सदस्यहरूलाई लक्षित गरेको देखिएको बताएका छन् । उनका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प पनि सम्भावित निशानामा परेको आशंका गरिएको छ । अधिकारीहरूले सीबीएस न्यूजलाई दिएको जानकारी अनुसार आरोपीलाई सुरुमा वासिङ्टन डीसीको उत्तर–पश्चिम क्षेत्रमा रहेको प्रहरी स्टेशनमा राखिएको थियो । उनलाई पछि राजधानीको दक्षिण–पूर्व भागमा रहेको हिरासत केन्द्रमा सारिनेछ । यता ह्वाइट हाउसले आइतबार जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद् सदस्य र राष्ट्रपतिलाई लक्षित गरी भएको आक्रमण प्रयासपछि पनि डोनाल्ड ट्रम्प डराएका छैनन् भन्ने उल्लेख गरेको छ । ह्वाइट हाउस कफ्रिपोन्डेन्ट्स एसोसिएसनकी अध्यक्ष वेइजिया जियाङले यो घटनालाई निकै डर लाग्दो भन्दै प्रतिक्रिया दिएकी छन् ।
८- सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन आव्हान भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आगामी बिहीबारबाट बस्ने गरि बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेश मन्त्रिपरिषद्को सिफारिसको आधारमा बैशाख १७ गते बिहीबार अपराह्न ४ बजे बैठक बस्ने गरि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखका कार्यालयले जनाएको छ । सुदूरपश्चिमको पछिल्लो अधिवेशन गत चैत्र २९ गते राती १२ बजेदेखि अन्त्य भएको थिए ।
९- भारत र न्यूजील्याण्डबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ । दुवै देशले सोमबार यो सम्झौतामा हस्ताक्षर गरेका हुन् । भारतको तर्फबाट केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र न्यूजील्याण्डको तर्फबाट व्यापार तथा लगानी मन्त्री टोड म्याक्लेले सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतापछि पीयूष गोयलले यो सम्झौता मात्र नौ महिनाको छोटो समयमा सम्पन्न हुनु दुवै देशबीचको विश्वास र साझा लक्ष्यको संकेत भएको बताए । उनका अनुसार पछिल्ला साढे तीन वर्षमा यो सातौँ व्यापार सम्झौता हो, अझ केही प्रक्रिया बाँकी रहेका सम्झौताहरू पनि चाँडै अघि बढ्नेछन् । उनले आगामी केही महिनामा युरोपेली संघ र संयुक्त राज्य अमेरिकासँग पनि यस्तै सम्झौता अघि बढ्ने संकेत दिए । यता न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्जनले यो सम्झौतालाई दुई देशको सम्बन्धमा ऐतिहासिक मोड भनेका छन् । सामाजिक सञ्जालमा उनले यस सम्झौताले न्यूजील्याण्डलाई विश्वका सबैभन्दा सक्रिय बजारमध्ये एकमा नयाँ अवसर खोल्ने बताएका छन् । उनका अनुसार यसले व्यापार, लगानी, नवप्रवर्तन र आपसी सहकार्यलाई अझ विस्तार गर्नेछ र निर्यात बजारलाई विविध बनाउनेछ । सम्झौताले भारतका लागि विकास र नयाँ अवसरका ढोका खोल्ने बताइएको छ । यसले भारतीय निर्यातकर्तालाई पहिलो दिनदेखि नै न्यूजील्याण्ड बजारमा कर बिना पहुँच दिनेछ भने भारतीय उपभोक्तालाई न्यूजील्याण्डका उच्च गुणस्तरका उत्पादन सजिलै उपलब्ध हुनेछन् ।
१०- नेपाली कांग्रेसका सभापति गगन थापाले संसदीय नेता चयन सर्वसम्मतको प्रयास गर्दा ढिला भएको बताएका छन् । संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गरेको जानकारी दिदै सभापति थापाले समय बढी लागेकोमा टिका टिप्पणी हुनु स्वाभाविक भएको भन्दै सर्वसम्मतको प्रयासले गर्दा ढिला भएको बताएका हुन् । उनले निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेताको चयनको प्रक्रिया टुंगो लगाउन सकिने भएतापनि बहुसंख्यक सांसदहरुको चाहना सर्वसम्मत रुपमा चयन हुनुपर्ने चाहना भएकाले ढिला भएको स्पष्ट गरेका थिए । उनले भने- 'चयनको प्रक्रियामा समय अलि बढि लागेकाले स्वभाविक रुपमा टिकाटिप्पणी धेरै भए । निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेता चयनको प्रक्रिया टुंगो लगाउन सकिन्थ्यो । तर यो पटक बहुसंख्यक सांसदहरुको चाहना सर्वसम्मत रुपमा होस् भन्ने थियो । कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो छ तर सर्वसम्मत गराउने कुरा गार्हो छ । ढिला भएपनि परिपक्व बनाइरहेका थियौं ।’
११- दुई दिनदेखि अवरुद्ध विपी राजमार्ग सुचारु भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार विपी राजमार्गको रोशि गाउँपालिकास्थित सडक खण्डका ५ स्थानमा डाइभर्सन निर्माण गरेपछि सडक सुचारु भएको हो । रोशि गाउँपालिका खण्डको घुमाउने,चौकिडाँडा,चारसय बेसि,चिउरिबास र बोक्सिकुनामा डाइभर्सन निर्माण गरिएको छ । दुई दिन पानी परेपछि रोशि खोलामा आएको बाढीले डाइभर्सन बगयेपाची प्रहरीले सडक बन्द गरेको थियो ।
१२- नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको बैठकले आङ्देम्बेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको सभापति गगन थापाले बैठकपछि जानकारी दिएका छन् । संसदीय दलको नेता चयनपछि आङ्देम्बेले पार्टीको विशेष अधिवेशनले पारित गरेको विधान अनुसारको प्रक्रिया अनुसार नै भएको स्पष्ट गरेका थिए ।
१३- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५१ कम्पनिका एक करोड ९ लाख २८ हजार ६१७ कित्ता शेयर ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार १२७ मा कारोबार भएको थियो । आज हाइड्रो, लगानी, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, कर्पोरेट विकास बैंक, पाल्पा सिमेन्ट, शिखर पावर र माइ खोला हाइड्रोको शेयर शेयरमामा सकरात्मक सर्किट लागेको छ । त्यस्तै आज सिटी होटलको शेयर १४.९९ प्रतिशतले बढेको छ ।त्यसैगरी आज सबैभन्दा बढी निफ्रा ग्रिन इनर्जी डिभेन्चारको शेयर १४.०१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको ३० करोड ७४ लाख र अन्खु खोला हाइड्रोको २६ करोड १८ लाख बराबरको कारोबार भएको छ ।
१४- त्रिवि क्रिकेट मैदानको संरचना नभत्किने सरकारले स्पष्ट गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदानको संरचना नभत्किने स्पष्ट गरेका हुन् । उनले लिग एग्रिमेन्ट फेरी हुने बताउदै नभ्त्किने बताएका छन् । उनले भनेका छन्- 'आज बिहान मेरो त्रिविको उपकुलपतिसहितका पदाधिकारीसँग बैठक बसेको थियो । खाली गराउने उद्देश्य होइन, लिज सकिएकाले नयाँ एग्रिमेन्ट हुन्छ । त्यसमा कुनै समस्या छैन ।' यसअघि त्रिवि प्रशासनले ३५ दिनभित्र क्रिकेट मैदानका संरचना हटाउन सूचना निकाले पछि यस विषयमा चासो बढेको छ ।
१५- सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सोसम्बन्धी जानकारी दिएका हुन् । त्यसैगरी आजको बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ भने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।
१६- इरानले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने र युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकासमक्ष नयाँ प्रस्ताव राखेको छ । उक्त प्रस्तावमा आणविक विषयमा हुने वार्ता भने पछि मात्रै गर्ने उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक अमेरिकी अधिकारी र यस विषयसँग सम्बन्धित दुई स्रोतका अनुसार इरानले तत्कालको संकट समाधानलाई पहिलो प्राथमिकता दिएको छ। पहिले युद्ध अन्त्य गर्ने, होर्मुज जलडमरूमध्य खुला गर्ने र त्यसपछि मात्रै आणविक कार्यक्रमबारे छलफल अघि बढाउने रणनीति अपनाइएको बताइएको छ। वासिङ्टन र तेहरानबीच कूटनीतिक प्रयास केही समयदेखि सुस्त बनेका छन्। इस्लामाबादमा हालै भएको वार्ताबाट पनि कुनै ठोस निष्कर्ष ननिस्किएको जनाइएको छ । इरानभित्र पनि आणविक मुद्दामा कति लचकता देखाउने भन्ने विषयमा मतभेद रहेको बताइएको छ। नयाँ प्रस्तावले ती मतभेदलाई केही समयका लागि पन्छाएर तत्कालको युद्ध र तनाव कम गर्न जोड दिएको छ। यो समाचार सार्वजनिक भएसँगै विश्वका धितोपत्र बजारमा सकारात्मक प्रभाव देखिएको छ। विशेषगरी एसियाली चिप निर्माण कम्पनीहरूको हिस्सामा उल्लेख्य वृद्धि भएको छ । ताइवान अर्धचालक निर्माण कम्पनीको हिस्सा करिब ६ प्रतिशतले बढेर नयाँ कीर्तिमानी स्तरमा पुगेको छ । एसियाली प्रविधि कम्पनीहरूको सूचक पनि उच्चतम बिन्दुमा पुगेको बताइएको छ। भारतमा सेन्सेक्स करिब ५०० अङ्कले बढेर ७७ हजार २०० को आसपास कारोबार गरिरहेको छ भने निफ्टी पनि १५० अङ्कले बढेर २४ हजार ५० को स्तरमा पुगेको छ । विश्लेषकहरूका अनुसार शान्ति वार्ता पुनः सुरु हुने सम्भावना बढेपछि बजारमा देखिएको डर कम भएको छ र त्यसकै प्रभावस्वरूप विश्व बजारमा उत्साह देखिएको हो।
१७- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजिकरणबारे ६ बुँदे सर्कुलर जारी गरेका छन् । मन्त्रीको निर्देशन पछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित वस्ति स्थानान्तरण हुँदा त्यहाँ विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित वस्तिमै रहेका विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन विभिन्न निर्देशन तथा अनुरोध जारी गरेको हो । केन्द्रले सुकुम्वासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सहजीकरण सबै स्थानीय तहलाई अनुरोध गरेको छ । खासगरी आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म जान आवश्यक सहजीकरण गर्न र विद्यालय नै प्रभावित भएको ठाउँमा वैकल्पिक व्यवस्था गर्न गराउन अनुरोध गरेको छ । सुकुम्वासी वस्तिका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित अन्य कुनै गुनासो, समस्या या सुझाव भए पनि केन्द्रमा पठाउन स्थानीय तहहरूलाई मन्त्रालयले अनुरोध गरेको छ । सरकारले जोखिमयुक्त तथा सार्वजनिक जग्गामा रहेका अव्यवस्थित वस्तीहरूको व्यवस्थापन, संरक्षण तथा आवश्यकतानुसार स्थानान्तरण गर्ने विषयलाई थप प्राथमिकतामा राखी कार्यप्रारम्भ गरेको र बस्तीका विद्यार्थीहरू विद्यालय पहुँच नियमित उपस्थिति, शैक्षिक सामग्री सुरक्षित वातावरण लगायतका आधारभूत सुविधाबाट वञ्चित हुनसक्ने संभावनलाई मध्यनजर गर्दै विद्यार्थीहरूको पठनपाठन कार्य नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न जारी गरिएको निर्देशन: १. विद्यार्थी स्थानान्तरण सहजीकरणः प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयहरूमा स्थानान्तरण गर्न आवश्यक समन्वय गरी सहज वातावरण सिर्जना गर्ने । २. प्रगति विवरण पेश गर्नेः विद्यार्थी स्थानान्तरण, समायोजन तथा शिक्षण सिकाइको निरन्तरता सम्वन्धी कार्यहरूको प्रगति विवरण यस केन्द्रमा पठाउने व्यवस्था मिलाउने । ३. कक्षा १२ का परीक्षार्थीका लागि सहजीकरणः कक्षा १२ का परीक्षार्थीहरूलाई तोकिएको परीक्षा केन्द्रसम्म सुरक्षित रूपमा आउन जान आवश्यक यातायात तथा अन्य सहजीकरणको व्यवस्था मिलाउने । ४. विद्यालय समायोजन तथा दिगो व्यवस्थापनः अव्यवस्थित वस्तीवाट प्रभावित विद्यालयहरूको अवस्थाको मूल्याङ्कन गरी दिगो रूपमा स्थानान्तरण गर्ने वा नजिकका उपयुक्त विद्यालयहरूमा समायोजन गर्ने सम्बन्धमा आवश्यक निर्णय तथा कार्यान्वयन गर्ने । ५. समन्वय र सहकार्यः उपर्युक्त कार्यहरू कार्यान्वयन गर्न विद्यालय, अभिभावक तथा अन्य सरोकारवाला निकायहरूवीच आवश्यक समन्वय र सहकार्य सुनिश्चित गर्ने । ६. अन्यः उल्लेखित कार्यहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरी विद्यार्थीहरूको शिक्षामा निरन्तरता कायम राख विशेष ध्यान दिनुहुन अनुरोध छ । साथै, कार्यान्वयनको क्रममा देखा पर्ने समस्या तथा सुझावहरू यस केन्द्रमा उपलब्ध गराइदिनुहुन समेत अनुरोध छ ।
१८ - नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १३ सयले बढेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ५०४५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४९९५ मा कारोबार भएको थियो ।
१९- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन नेतृत्वको सरकार असफल भइसकेको टिप्पणी गरेका छन् । उनले गरिबको गाँस खोस्ने र बासस्थान भत्काउने सरकारलाई असफल सरकारको संज्ञा दिँदै अब त्यसको अवसान मात्रै बाँकी रहेको टिप्पणी गरेका हुन् । साम्पाङले गरिबमाथि हुने दमन र अमानवीय व्यवहार कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउदै पत्रकार वा सामाजिक सञ्जालमार्फत गरिब र उनीहरूको पक्षमा बोल्नेलाई गाली गरेर यस्तो कार्यको समर्थन गर्न नसकिने स्पष्ट पारे । उनले ठूलो भ्रष्टाचार गरेर महलमा आरामसँग बस्नेहरूलाई चुनौती दिँदै गरिबलाई सहज रूपमा बाँच्न सक्ने वातावरण बनाउन आग्रह गरेका छन् । उनले गरिबलाई दबाउन हजारौँ प्रहरी र सेना परिचालन गर्ने सरकार लोकतान्त्रिक हुन नसक्ने बताउदै चुनावका बेला मत माग्नेहरू अहिले जनताको पीडा देखेर मौन बसेको आरोप लगाए । उनले भनेका छन्- 'चुप चाप घण्टीमा छाप भन्दै भोट माग्ने र दिनेहरु अब चुपचाप सामान बोकी टाप दिन पर्दाको विजोगलाई म कुनै पनि हालतमा अनुमोदन गर्न सक्दिन ! गरीबको दु:ख नदेख्ने आँखा ! गरीबको घाऊमा मलहम लगाउन नसक्ने हात र गरीबको पिडा बोल्न नसक्ने ओठको केही काम छैन ! सबैलाई यो बेला सरकारको जमेर विरोध गर्न आह्वान गर्दछु !' साम्पाङले गरिबको दुःख नदेख्ने आँखा, घाउमा मलहम लगाउन नसक्ने हात र पीडा बोल्न नसक्ने ओठको कुनै अर्थ नरहेको उल्लेख गर्दै सरकारको कडा विरोध गर्न सबैलाई आह्वान गरेका छन् । उनले नेता महलमा बस्ने र जनता सडकमा बस्नुपर्ने अवस्था किन आएको भन्दै सम्पूर्ण नेपालीसमक्ष गम्भीर प्रश्न उठाएका छन् ।
२०- कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा सुपर ओभरमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा यस आइपिएलको पहिलो सुपर ओभरमा कोलकोताले लखनउलाई पराजित गर्दै महत्वपूर्ण २ अंक बटुलेको हो । सुपरओभरमा ३ बलमा दुवै विकेट गुमाएको कोलकोताले केवल २ रनको लक्ष्य दिएकोमा कोलकोताका रिंकु सिंहले पहिलो बलमा चौका प्रहार गरेर जित दिलाएका थिए । यसअघि कोलकोताले दिएको १५६ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ८ विकेट गुमाउदै १५५ रन बनाए पछि खेल सुपर ओभरमा पुगेको थियो । यो जारी आइपिएलमा कोलकोताको दोस्रो जित हो । यो जितपछि कोलकोताको ८ खेलमा ५ अंक भएको छ र आठौँ स्थानमा उक्लिएको छ । त्यस्तै लखनउको भने यो यस सिजनमा छैटौं हार हो । ८ खेलमा ४ अंकसहित लखनउ अंक तालिकामा पुछारमा रहेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.