आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

आइतबार, १३ बैशाख २०८३, ९:४३ PM
post-image

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाल जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा अमेरिकासँग पराजित भएको छ । आइतबार सम्पन्न खेलमा अमेरिकाले नेपाललाई ७ विकेटले पराजित गरेको हो । नेपालले दिएको ८७ रनको लक्ष्य पछाएको अमेरिकाले ११.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर ८६ रन बनाएको थियो । यो नेपालको अमेरिकासँग दोस्रो र प्रतियोगित मा तेस्रो हार हो । त्यस्तै अमेरिकाले खेलेका ५ खेलमा ४ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् । नेपालले अर्को खेल अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

२- इरानी राष्ट्रपति मसुद पेजेशकियनले दबाब, धम्की र घेराबन्दीको अवस्थामा तेहरान कुनै पनि वार्तामा नबस्ने स्पष्ट पारेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग टेलिफोन संवादका क्रममा उनले यस्तो धारणा राखेका हुन् । वार्ताका क्रममा उनले अमेरिका वार्ता र युद्धविरामको समयमा समेत लगातार सम्झौता उल्लंघन गर्दै दबाबको नीति अपनाइरहेको आरोप लगाए । पेजेशकियनले अमेरिकाले लगाएको समुद्री प्रतिबन्ध अन्तर्राष्ट्रिय सम्झौता र संयुक्त राष्ट्रसंघको घोषणापत्रविपरीत रहेको बताए । उनका अनुसार यस्ता कदम र धम्कीपूर्ण अभिव्यक्तिले शान्ति प्रक्रियामाथिको विश्वास कमजोर बनाउछ । उनले इरान आफ्नो राष्ट्रिय सुरक्षाको रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताए । अमेरिका वा इजरायलसँग कुनै नयाँ टकराव भए त्यसको गम्भीर असर क्षेत्रीय तथा विश्व स्थिरतामा पर्ने चेतावनी उनले दिए । राष्ट्रपति पेजेशकियनले इरानले छिमेकी देशहरूसँग आपसी सम्मान र राम्रो सम्बन्धका आधारमा सहकार्य बढाउन चाहेको बताए । विशेषगरी फारसको खाडीका दक्षिणी देशहरूसँग सम्बन्ध सुदृढ गर्न चाहेको उल्लेख गर्दै बाह्य हस्तक्षेपबाट टाढा रही क्षेत्रीय शान्ति र सुरक्षामा सहयोग गर्न आग्रह गरेका छन् ।

३-  गुजरात टाइटन्सले जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा गुजरातले चेन्नईलाई ८ विकेटले पराजित गरेको हो । चेन्नईले दिएको १५९ रनको लक्ष्य पछाएको गुजरातले १६.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा साइ सुदर्शनले ८७ रन बनाए भने जोस बटलरले अविजित ३९ र कप्तान शुभमन गिलले ३३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले अविजित ७४ रन बनाएका थिए भने शिभम दुवेले २२ र जामी ओभरटनले १८ रन बनाएका थिए । त्यस्तै गुजरातका बलर कागीसो रावाडाले ३ विकेट लिएका थिए भने अर्शद खानले २ विकेट लिएका थिए ।

४-  नेपाल उद्योग वाणिज्य महासंघले स्थगित भएको ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनको नयाँ मिति सार्वजनिक गरेको छ । महासंघका अनुसार यसअघि २०८२ चैत २९ र ३० गतेका लागि तय गरिएको कार्यक्रम स्थगित भएपछि अब उद्घाटन समारोह वैशाख २१ गते हुनेछ । उद्घाटन समारोह ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गरिने जनाएको छ । यस्तै निर्वाचन कार्यक्रम वैशाख २२ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सञ्चालन हुने महासंघले जनाएको छ ।

५- जल तथा मौसम विज्ञान विभागले मौसम प्रणाली पूर्वतर्फ सरिरहेको जानकारी दिएको छ । आइतबार दिउसो मौसम अपडेट दिदै विभागले गण्डकी प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ । यस्तै बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा जारी रहेको छ । मौसमविद्का अनुसार यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकोले आसपासका क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । विभागले सम्भावित वर्षा, चट्याङ र त्यसबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

 ६-  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको आदमघाट नजिक माइक्रो बस दुर्घटना भएको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा-प्रदेश -०१- ००६ - ख - ७२२१ नम्बरको माइक्रो बस आदमघाट नजिकै सडकमा पल्टिदा १२ जना घाइते भएको धादिङ प्रहरीले जानकारी दिएको छ । दुर्घटना घाइते १२ जनामध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने अन्य सामान्य घाइतेको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 ७- इरानमा इन्टरनेट सेवा लगभग पूर्ण रूपमा अवरुद्ध भएको अवस्था लगातार ५८औँ दिन पनि कायम रहेको छ । इन्टरनेट निगरानी संस्था नेटब्लक्सका अनुसार देशभर नेटवर्क अवरोध नवौँ सातामा पुगेको छ र १ हजार ३६८ घण्टा नाघिसकेको छ । जानकारीअनुसार जनवरीको सुरुआतमा पुनः सुरु भएका सरकारविरोधी प्रदर्शनपछि इन्टरनेटमाथि नियन्त्रण कडा बनाइएको थियो । त्यसपछि फेब्रुअरी अन्त्यतिर इरानमाथि अमेरिका–इजरायल युद्ध सुरु भएपछि प्रतिबन्ध अझ कडा पारिएको बताइएको छ । इन्टरनेटमा निर्भर हजारौँ मानिसको दैनिक कामकाज प्रभावित भएको छ । विशेषगरी अनलाइन व्यवसाय, सञ्चार र सेवा क्षेत्रमा ठूलो समस्या देखिएको छ । विशेषज्ञहरूका अनुसार लामो समयसम्म इन्टरनेट बन्द हुँदा आर्थिक गतिविधिमा गम्भीर असर पर्नुका साथै सर्वसाधारणको जीवन पनि प्रभावित हुने गर्छ ।  

८- सन् २०२२ को चर्चित लागूऔषध प्रकरणमा अभिनेत्री श्रद्धा कपूर र नोरा फतेहीलाई राहत मिल्ने भएको छ । मुम्बई प्रहरीले उनीहरूविरुद्ध कुनै प्रमाण नभेटेपछि नाम हटाउने तयारी गरेको हो । सामाजिक सञ्जाल व्यक्तित्व ओर्हान अवत्रमानी, अभिनेता सिद्धान्त कपूर र नेता जीशान सिद्दिकीलाई पनि पूरक आरोपपत्रमा सफाइ दिइने बताइएको छ । यो प्रकरण अगस्ट २०२२ मा सुरु भएको थियो । मुम्बई प्रहरीको अपराध शाखा र लागूऔषध नियन्त्रण टोलीले मोहम्मद सलीम मोहम्मद सुहेल शेखलाई पक्राउ गरेको थियो । त्यसक्रममा १ लाख १९ हजार बराबरको मेफेड्रोन बरामद गरिएको थियो । सोधपुछका क्रममा शेखले विभिन्न चर्चित व्यक्तिहरू सहभागी हुने पार्टीमा लागूऔषध आपूर्ति गरेको दाबी गरेका थिए । त्यसपछि अनुसन्धानमा धेरै सार्वजनिक व्यक्तित्वहरूको नाम जोडिएको थियो । सन् २०२५ मा श्रद्धा कपूर र नोरा फतेहीसहित केही व्यक्तिसँग लागूऔषध नियन्त्रण टोलीले बयान लिएको थियो । तर अनुसन्धानका क्रममा उनीहरूलाई लागूऔषध सञ्जालसँग जोड्ने कुनै ठोस प्रमाण फेला नपरेको बताइएको छ । प्रहरीले प्रारम्भिक आरोपपत्र तीन जनाविरुद्ध दायर गरिसकेको छ भने अब थप पक्राउ परेका दुई अभियुक्त र फरार आरोपितविरुद्ध पूरक आरोपपत्र दायर गर्ने तयारी गरेको छ । यस घटनापछि फिल्म क्षेत्रका चर्चित नामहरू जोडिएकाले ठूलो चर्चा भएको थियो । तर प्रमाण अभावमा कलाकारहरूको नाम हटाइने भएपछि प्रकरणमा स्पष्टता आएको छ ।

९- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ ।  सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको सचिव दिनेश थापामगरले जानकारी दिएका छन् । बैठकले यसअघि स्पष्टीकरण सोधिएका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का बारे निर्णय गर्नसक्ने बताइएको छ । 

१०-  सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरहरूलाई स्नेहा केयर, क्याट लगायतका संस्थाहरुले  खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गर्ने कार्य गर्दै आएको छ । साथै, घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कामसमेत गरिरहेको छ ।

११- सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । साइबर ब्यूरोका अनुसार ईन्कोन प्रालिका शेयरधनी स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगानालाई पक्राउ गरिएको हो । उनीहरूले ई-गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरेको आरोप लागेको छ । यस विषयमा परेको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ । काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । हाल संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि यही प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेसहित १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

१२- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी गरिएको छ । कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन स्थगित गरेको थियो । यससँगै बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गर्न वार्ता टोली पनि गठन गरेको छ । कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे र निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही सदस्य रहेका छन् ।

१३- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानमा हिज्बुल्लाहका ठेगानामाथि कडा आक्रमण गर्न सेनालाई निर्देशन दिएका छन् । युद्धविराम तीन हप्ता थपिएको दुई दिनपछि उनले यस्तो आदेश दिएका हुन् । निर्देशनपछि इजरायली सेनाले नयाँ आक्रमण सुरु गरेको छ। यसअघि शनिबार दक्षिणी लेबनानमा भएका हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको थियो । सीमापार दुवै पक्षबाट भएका ताजा आक्रमणले युद्धविराम सम्झौतामाथि थप दबाब बढाएको छ। यसले युद्धविराम अझै कमजोर अवस्थामा रहेको देखाएको छ । वाशिङ्टनमा दुवै देशका प्रतिनिधिबीच भएको वार्तापछि बिहीबार युद्धविराम अवधि थपिएको थियो । यो सम्झौता पूर्ण रूपमा आक्रमण रोक्नेभन्दा पनि हिंसा कम गर्ने उद्देश्यमा सीमित रहेको बताइएको छ । शनिबार नबातियेह जिल्लाको योहमोर अल शकिफ क्षेत्रमा एक ट्रक र मोटरसाइकलमाथि भएको इजरायली आक्रमणमा ४ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै बिन्त जुबैल जिल्लाको सफद अल बत्तीख क्षेत्रमा भएको अर्को आक्रमणमा २ जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् । इजरायल रक्षा बलले शनिबार हतियार बोकेको सवारीमा रहेका हिज्बुल्लाहका ३ सदस्यलाई मारिएको दाबी गरेको छ। साथै मोटरसाइकलमा रहेका अर्का एक सदस्य पनि मारिएको जनाएको छ ।

१४- अव्यवस्थित बस्तीबाट स्क्रिनिङ्का लागि दशरथ रंगशालामा ल्याइएका भूमिहीन तथा सुकुम्बासीहरुलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।  अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६ जना महिला, गर्भवती २ जना, काटेर चोटपटक लागेका १ जना र विभिन्न अरु समस्या भएका १२ जनालाई सेवा प्रदान गरिएको छ । यस्तै मनोसामाजिक परामर्शका लागि वहुविवाह गर्ने, पिता नभएका महिला, विद्यालय उमेरका बालबालिका, रोजगारीमा भएका अभिभावकहरुले आफूलाई परेको मानसिक समस्याका विषयमा परामर्श लिएको काठमाडौँ महानगरले जनाएको छ । पारिवारिक तथा रोजगारीका कारण मनमा धेरै कुरा खेलाउने, बालबालिकाको शिक्षालाई कसरी निरन्तरता दिने जस्ता विषयमा धेरै चिन्ता देखिएको, स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले जानकारी दिएका छन् । शनिवार राधास्वामी सत्संग व्यास आश्रममा २३२ जना लगिएकोमा बालाजु क्षेत्रका होटलहरुमा १११ जनालाई व्यवस्थापन गरिएको थियो भने बाँकी आफन्त भेट्ने, कोठा खोज्ने विवरण टिपाएर बाहिर निस्किएका थिए ।

१५- सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जिम्मेवारी सम्हालेको एक महिनाको अवधिमा शिक्षा क्षेत्रलाई दलीय राजनीतिबाट मुक्त राख्न विद्यालय र विश्वविद्यालय हाताभित्र रहेका दलीय विद्यार्थी सङ्गगठनका संरचनाहरु हटाउनेदेखि शैक्षिक वातावरण, गुणस्तर अभिवृद्धि, अनलाइनबाट एनओसी लिनेजस्ता महत्वपूर्ण निर्णयहरु गरिएको छ । यसबिचमा विद्यार्थी भर्ना र शुल्क व्यवस्थापन, शैक्षिक क्यालेन्डर सुधारका कामलाई पनि कार्यान्वयनमा ल्याइएको छ । दलीय संगठनको विकल्पमा विद्यार्थीको वास्तविक प्रतिनिधित्व गराउन आगामी ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ जस्ता गैर–राजनीतिक संयन्त्रहरुको विकास गरिने छ । ६० दिनभित्र शिक्षण संस्थाहरुबाट दलीय आधारमा बनेकासङ्गगठनका संरचनाहरु हटाइने १०० बुँदे कार्यसीचीमा उल्लेख छ । काठमाडौं विश्वविद्यालयबाट स्टुडेन्ट काउन्सिल कार्य सुरु भएको छ । विश्वविद्यालय समन्वय समितिको हालैको निर्णयअनुसार सबैलाई विद्यार्थी संगठन स्थापनका लागि भवन, जमिन उपलब्ध नगराउने, संगठनका भौतिक संकेत हटाउने र कुनै कानुनी व्यवस्था गरेको भए खारेज गर्ने निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि स्नातक तहसम्मको अध्ययनमा नागरिकताको अनिवार्यता हटाउने निर्णय भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मनित्रपरिषद्ले सार्वजनिक गरेको शासकीय सुधारको १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ८८ मा विद्यार्थीहरुलाई स्नातकसम्मको अध्ययनका लागि नागरिकता आवश्यक नपर्ने गरी विश्वविद्यालयहरुले तत्काल कार्यविधि बनाउनुपर्ने उल्लेख छ । काठमाडौँ विश्वविद्यालयले कार्यविधि बनाउन लागेको छ भने अन्य विश्वविदालयहरु कार्यान्वयनमा गइसकेकाछन् ।  यस्तै, शैक्षिक क्यालेन्डरअनुसार समयमै नतिजा सार्वजनिक गर्ने र आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्मका आन्तरिक परीक्षाहरु बन्द गरी ‘वैकल्पिक मूल्याङ्कन प्रणाली’ लागू गर्नेे तयारी गरिएको छ । नतिजामा आधारित शासकीय प्रवन्ध ‘डेलिभरी बेस्ट गभर्नेन्स’को लागि विश्वविद्यालयहरु र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले परीक्षा सम्पन्न भएको मितिले दुई महिनाभित्र परीक्षाफल प्रकाशन गर्नको लागि परिपत्र भएको र सम्बन्धित संस्थाहरुबाट कार्यतालिका तयारी भइरहेको मन्त्रालयले जनाएको छ । एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको क्षमता विस्तार गर्नका लागि जिआइडिसी मा भएको नेटवर्क इस्यू को समाधान भएको छ । सिकाइ चौतारी मोबाइल एप विकास गरी सञ्चालनमा ल्याइएको छ । माध्यमिक शिक्षा परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको दुई महिनाभित्र नै रिजल्ट आउनेगरी तयारी भइरहेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ बमोजिम संस्थागत विद्यालयहरुले अनिवार्य रुपमा छात्रवृत्ति उपलब्ध गराउनको लागि मन्त्रालयबाट सबै स्थानीय तमहरुलाई परिपत्र भई सोको प्रतिवेदन समेत प्राप्त भइसकेको छ । जेन्जी आन्दोलनबाट प्रभावित परिवार र नागरिकहरुलाई सरकारी सार्वजनिक र निजी क्षेत्रमा रोजगारीका अवसर, सीप, विकास, मनोसामाजिक परामर्श तथा पुनस्थापना गर्नको लागि मन्त्रालयबाट परिपत्र भएको छ । प्रमाणपत्रहरु नागरिकले आधिकारिक मोबाइल एप, नागरिक एप, वा इमेलमा डाउनलोड गर्न मिल्ने व्यवस्था मिलाउनको लागि विश्वविद्यालयलाई पत्राचार गरिएको छ । नेपाललाई आरोग्य पर्यटनको हब बनाउनको लागि पाठ्यक्रम विकास केन्द्रलाई मौजुदा पाठ्यक्रम तथा पाठ्यपुस्तक परिमार्जनका बखत आरोग्य पर्यटनको नीति र सिद्धान्तलाई अनुसरण गर्न परिपत्र गरिएको छ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा मन्त्रालय अन्तर्गतको एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय(केयू)बीच हालै एपीआई गर्ने कार्य सम्पन्न गरेको हो । केयूसँग यसअघि नै सम्झौता भइसकेको छ । योसँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् ।  अटिजम भएका बालबालिकालाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यसहित सरकारले सातै प्रदेशमा अटिजम नमुना विद्यालय स्थापना गर्ने घोषणा गरेअनुरुप उक्त कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन विभिन्न मन्त्रालयबीच समन्वय गरी अवधारणा–पत्र तयार गर्न प्राविधिक समिति गठन गरिएको छ ।

१६- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी ह्वाइट हाउस संवाददाता संघको रात्रिभोज कार्यक्रममा गोली चलाउने व्यक्ति दक्षिण क्यालिफोर्नियाका शिक्षक तथा भिडियो खेल निर्माता रहेको खुलेको छ । गोली चलाउने व्यक्ति ३१ वर्षीय कोल टोमस एलेन भएको सिएनएनले उल्लेख गरेको हो । राष्ट्रपति ट्रम्पसहित उच्च अधिकारीहरू सहभागी भएको कार्यक्रममा उनलाई हतियारसहित नियन्त्रणमा लिइएको छ । उनी लस एन्जलस नजिकैको टोरेन्स क्षेत्रमा बसोबास गर्दै आएका थिए । सार्वजनिक अभिलेखअनुसार एलेन परीक्षा तयारी तथा ट्युसन सेवा दिने एक संस्थामा अंशकालीन शिक्षकका रूपमा काम गर्थे । उनलाई सन् २०२४ डिसेम्बरमा कम्पनीले ‘महिनाको उत्कृष्ट शिक्षक’ समेत घोषणा गरेको थियो । उनले सन् २०१७ मा क्यालिफोर्निया प्रविधि संस्थानबाट यान्त्रिक इन्जिनियरिङमा स्नातक गरेका थिए । त्यसपछि गत वर्ष क्यालिफोर्निया राज्य विश्वविद्यालय-डोमिङ्गेज हिल्सबाट कम्प्युटर विज्ञानमा स्नातकोत्तर पूरा गरेका थिए । विद्यार्थी जीवनमा उनले ह्विलचेयरका लागि आपत्कालीन ब्रेकको नमुना तयार गरेका थिए, जसका कारण स्थानीय समाचारमा पनि स्थान पाएका थिए । एलेनले आफूलाई भिडियो खेल निर्माता पनि बताएका छन् । उनले ‘बोर्डम’ नामक स्वतन्त्र भिडियो खेल सार्वजनिक बिक्रीमा राखेका थिए । साथै ‘फर्स्ट ल’ नामक दोस्रो खेल विकास गरिरहेको जानकारी पनि दिएका थिए । उनले किन गोली चलाए भन्ने बारेमा भने खुलासा हुन बाँकी रहेको छ । 

१७- बीपी राजमार्गमा अलपत्र यात्रुहरूको उद्धार गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेले करिब ५०० जना यात्रुको उद्धार गरिएको जनाएको छ । काभ्रेपलाञ्चोक र सिन्धुलीको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाएपछि सडक अहिले बन्द गरिएको छ । प्रहरीले तत्काल सडक नखुल्ने भएपछि आइतबार बिहानदेखि अलपत्र यात्रुलाई बैकल्पिक बाटो तेमाल हुँदै धुलिखेल निकालेको बताएको छ ।

१८-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार आइतबार सुनको मुल्य तोलाको २७ सयले बढेर तोलाको २ लाख ९९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९६ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर ४९९५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।

१९-  अमेरिकाको ह्वाइट हाउस संवाददाता रात्रिभोज कार्यक्रमका क्रममा गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससहित सहभागी वाशिंगटनस्थित होटल हिल्टनमा उपस्थित रहेका बेला बाहिर गोली चलेको बताइएको छ । घटनापछि सुरक्षाकर्मीले ट्रम्प र भान्सलाई तत्काल सुरक्षित स्थानमा लगेका थिए । आक्रमणकारीलाई सुरक्षाबलले घटनास्थलबाट पक्राउ गरिएको बताइएको छ । गोलीबारी रात्रिभोज हलमाथि रहेको लबी क्षेत्रमा भएको जनाइएको छ । सिक्रेट सर्भिसको निर्देशनपछि कार्यक्रममा रहेका अतिथिहरूलाई टेबलमुनि झुक्न भनिएको थियो । भारी हतियारसहितका सुरक्षाकर्मी तुरुन्तै मञ्चमा पुगेर सम्पूर्ण कार्यक्रमस्थललाई सुरक्षित बनाएका थिए । घटनापछि केही मानिस बाहिर निस्किएको देखिए पनि मञ्चबाट कार्यक्रम केही समयपछि पुनः सुरु हुने घोषणा गरिएको थियो । तर राष्ट्रपति ट्रम्प फेरि कार्यक्रममा सहभागी हुने वा नहुनेबारे स्पष्ट भएको छैन । यो ट्रम्प राष्ट्रपति बनेपछि उक्त रात्रिभोज कार्यक्रममा सहभागी भएको पहिलो अवसर थियो । उनी घटना हुनुभन्दा केही मिनेटअघि मात्र पुगेका थिए ।

२०- इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनलले आ-आफ्ना खेल जितेका छन् । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नालीमाथि १-० को जित हासिल गरेको हो । म्यानचेस्टर सिटीको जितमा खेलको पाँचौं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । त्यस्तै अर्को खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको थियो । खेलको नवौं मिनेटमा एबेरेची एजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । आर्सनल यो जितपछि लिगको शिर्ष स्थानमा उक्लिएको छ । ३४ खेलमा ७३ अंकसहित आर्सनल शिर्ष स्थानमा रहेको छ । त्यस्तै एक खेल कम खेलेको म्यानचेस्टर सिटीको भने ३३ खेलमा ७० अंक रहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}