आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

शनिबार, १२ बैशाख २०८३, ८:४२ PM
post-image

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जनाएको छ ।  विभागका अनुसार हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।  मौसम प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आसपासका क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । विभागले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

२- नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएसपछि प्राप्त एमपीएच, एमडी र एमएस इन बेसिक साइन्सेसको शैक्षिक उपाधिलाई निश्चित मापदण्डका आधारमा समकक्ष मान्ने निर्णय गरेको छ । काउन्सिलको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको रजिष्ट्रार डा. सतिस कुमार देवले जानकारी दिएका हुन् । काउन्सिलका अनुसार एमबीबीएस र बीडीएस दुवै चिकित्साशास्त्रअन्तर्गत समान तहको स्नातक उपाधि मानिन्छ । यी दुवै अध्ययनपछि चिकित्साशास्त्रको स्नातकोत्तर तहमा नन–क्लिनिकल विशेषज्ञता वा एमपीएच, एमडी तथा एमएस अध्ययन गरिने भएकाले ती उपाधिको ज्ञान, सीप र जनस्वास्थ्य तथा स्वास्थ्य व्यवस्थापनमा योगदान समान र विशिष्टीकृत हुने निष्कर्ष निकालिएको छ । सम्बन्धित शिक्षण संस्थाको पाठ्यक्रम र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राख्दै एमबीबीएस वा बीडीएसपछि प्राप्त एमपीएच, एमडी तथा एमएस इन बेसिक साइन्सेसलाई निश्चित मापदण्ड पूरा गरेपछि समकक्ष मानिने काउन्सिलले जनाएको छ ।

३- इरानको राजधानी तेहरानस्थित इमाम खुमैनी अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहानदेखि अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको छ । इरानी सञ्चारमाध्यमका अनुसार यस विमानस्थलबाट मध्यपूर्वका विभिन्न सहरतर्फ उडान सञ्चालनमा आएको छ । तीमध्ये साउदी अरेबियाको मदिना, ओमानको मस्कट र टर्कीको इस्तानबुल पनि रहेका छन् । फेब्रुअरी २८ मा अमेरिका र इजरायलसँग युद्ध सुरु भएपछि इरानको हवाई क्षेत्र अधिकांश रूपमा बन्द भएको थियो । त्यसयता करिब दुई महिनादेखि यात्रुवाहक उडान स्थगित रहेको थियो । अप्रिल ८ मा पाकिस्तानले अमेरिका र इरानबीच दुई साताको सशर्त युद्धविराममा सहमति भएको जनाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल २१ मा इरानले वार्ताका लागि प्रस्ताव नल्याएसम्म उक्त युद्धविराम अवधि थप्ने सहमति भएको बताएका थिए । यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा प्रतिनिधिमण्डल अहिले पाकिस्तानमा रहेको छ। विभिन्न प्रतिवेदनमा अमेरिकी प्रतिनिधिमण्डल पनि पाकिस्तानतर्फ प्रस्थान गरेको उल्लेख गरिएको छ ।

४- काठमाडौँका नदी किनारामा सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत संरचना बनाएर राखिएका वस्ती खाली गराउने क्रममा वागमती नदी खण्डको थापाथली क्षेत्रको वस्ती खाली गराइ सकिएको छ । यस्ता अनधिकृत वस्ती खाली गराउन विहीबारदेखि माइकिङ गरेर सूचित गरिएको थियो । जारी गरिएको सूचनाको पालना गर्दै शुक्रबार केही परिवारले घर टहरा खाली गराएको र यो क्रम शनिवार विहानसम्म पनि जारी रहेकोले विहान ६ बजेदेखि घरटहरा भत्काउने कार्यक्रम पछि सारेर आफैँ खाली गर्ने अवसर प्रदान गरिएको थियो । शनिबार बिहान करिब ८ बजेबाट संरचना हटाउन थालिएको थियो । थापाथलीका संरचना खाली गरिसकेपछि मध्यान्नपछि गैरीगाउँका संरचना हटाउन थालिएको थियो ।  यस क्रममा घरबारविहीन तथा भूमिहीन व्यक्तिहरुलाई दशरथ रंगशालामा ल्याएर तथ्याङ्क संकलन भइरहेको छ । आज साँझ ६:१५ बजेसम्ममा ६८ परिवारको लगत संकलन भइसकेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । उनीहरुमध्ये ३४ परिवार १४१ लाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा पठाइएको छ । लगत संकलनसँगै १८ जनालाई आधारभूत स्वास्थ्य सेवासमेत प्रदान गरिएको छ र यो क्रम जारी रहेको छ । अब भोलि मनोहरासहित अन्य क्षेत्रका अव्यस्थित बस्तीहरु खाली गराउने क्रम जारी रहने महानगरले जनाएको छ । मनोहरा क्षेत्रमा ८० प्रतिशत भन्दा बढीले आफै बस्ति छोडेर गएको प्रहरीले जानकारी दिएको छ ।

५- प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानमा अत्यधिक वर्षा भइरहेका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि राजमार्ग बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीका अनुसार लगातारको वर्षाले सडकमा पहिरो, ढुंगा खस्ने तथा अन्य अवरोधको जोखिम बढेकाले यात्रु र सवारी साधनको सुरक्षाका लागि यो निर्णय गरिएको हो । मौसममा सुधार आएपछि र सडकमार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गर्दै बाटो सञ्चालनबारे जानकारी गराइने प्रहरीले जनाएको छ । थप जानकारी लिनुपर्ने भएमा १०० र १०३ नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।

६-  भक्तपुरको मनोहरा क्षेत्रको नदी किनारामा संरचना बनाएर बस्नेमध्ये करिब ८० प्रतिशत बासिन्दाले आफ्नो सामानसहित बस्ती छोडेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार  ८० प्रतिशतले आफै छोडेर हिडेको र बाँकी रहेका परिवारले पनि आफ्ना सामान ओसार्ने कार्य जारी राखेका छन् । यो बस्तीमा ७७७ घरटहरामा करिब एक हजार ६०० भन्दा बढी मानिस बसोबास गर्दै आएका थिए ।

७-  बलिवुड अभिनेता रणवीर सिंहले फिल्म‘कान्तारा : च्याप्टर १’ मिमिक्री विवादसँग सम्बन्धित मुद्दामा अदालतमा माफी मागेका छन् । रणवीरले कर्नाटक उच्च अदालतमा संशोधित शपथपत्र दायर गर्दै बिना शर्त माफी मागेका हुन् । अदालतले उक्त शपथपत्र अभिलेखमा राख्दै मुद्दा टुंग्याउने संकेत दिएको छ । न्यायाधीश एम. नागप्रसन्नाको इजलासले रणवीरविरुद्ध दर्ता गरिएको एफआईआर खारेज गर्न माग गरिएको निवेदनमाथि सुनुवाइ गरेको थियो। गत वर्ष आयोजित एक कार्यक्रममा रणवीरले फिल्मको एक पात्रको मिमिक्री गर्नुका साथै मन्दिरकी देवीबारे आपत्तिजनक टिप्पणी गरेको आरोपमा उनीविरुद्ध एफआईआर दर्ता गरिएको थियो । रणवीरका तर्फबाट अधिवक्ता सज्जन पूवैय्याले अदालतलाई अभिनेता बिना शर्त माफी माग्दै नयाँ शपथपत्र दायर गरिएको जानकारी दिएका थिए । साथै उनले रणवीरले मन्दिरमा पुगेर श्रद्धा प्रकट गर्ने प्रतिबद्धता पनि जनाएको बताए । उजुरीकर्ताका तर्फबाट यो केवल कानुनी विवाद नभई धार्मिक आस्थासँग जोडिएको विषय भएको दाबी गरिएको थियो । त्यसपछि अदालतले यही कारण एफआईआरमाथि रोक नलगाइएको स्पष्ट पारेको छ । अदालतले मौखिक रूपमा चार साताभित्र अभिनेता मन्दिर जाने कुरा आदेशमा उल्लेख गरिने जनाएको छ । रणवीर पक्षले भने धार्मिक भावनाको सम्मान गर्ने भएकाले मुद्दाको गुण-दोषबारे बहस नगरेको जनाएको छ । यसअघि पनि उच्च अदालतले प्रसिद्ध व्यक्ति भएकै कारण कसैले कुनै समुदायको धार्मिक भावनामा चोट पुर्‍याउन नहुने र सार्वजनिक मञ्चमा बोल्दा सावधानी अपनाउनुपर्ने टिप्पणी गरेको थियो ।

८-  नेपालले आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग-२ को सिरिजमा विजयी शुरुवात गरेको छ । शनिबार युएईलाई ३७ रनले पराजित गरेर नेपालले विजयी शुरुवात गरेको हो । नेपालले दिएको २०१ रनको लक्ष्य पछाएको युएईले ४८.२ ओभरमा अल आउट हुदै १६३ रन बनौएको थियो । युएईका लागि हर्प्रित सिंहले सर्बाधिक ३९ रन बनाए भने कप्तान मुहमद वासीमले ३४ र आकाशदीप नाथले ३० रन बनाएका थिए । त्यस्तै नेपाली बलर करण केसीले ४ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २-२ तथा दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।   यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४८.१ ओभरमा अल आउट हुदै २०० रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ७५ रन बनाएका थिए भने कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ सेख र सोमपाल कामीले १५-१५ रन बनाएका थिए । त्यस्तै युएईका बलर अजय कुमार र जुनैद सिद्धिकीले ३-३ विकेट लिएका थिए भने  खुजैमा तनवीरले २ विकेट लिएका थिए । त्यस्तै हैदर अली र मुहमद शहदादले एक एक विकेट लिएका थिए । यो जितपछि नेपालको लिग-२ मा २१ खेलमा १४ अंक रहेको छ र नेपाल हाल सातौं स्थानमा छ । त्यस्तै युएईको २१ खेलमा १० अंक रहेको छ । अब सिरिज अन्तर्गत अर्को खेल सोमबार युएई र ओमानबीच हुदैछ ।

९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुंगाको विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडियो भाइरल भएपछि सार्वजनिक रूपमा माफी मागेका छन् । पूर्वएआइजी समेत रहेका सांसद पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो बोली र व्यवहारमा संयमता नदेखिएको स्वीकार गरेका हुन् । उनले घटनाबाट कसैको आत्मसम्मान र मर्यादामा चोट पुगेको भए हृदयदेखि नै क्षमायाचना गरेका छन् । उनले भनेका छन्- ‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ । यद्यपि, सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु ।’ विज्ञप्तिमा उनले भिडियोलाई काटछाँट गरी अपूर्ण सन्दर्भमा प्रस्तुत गरिएको दाबी गरेका छन् । यद्यपि, सार्वजनिक पदमा रहँदा आफूले अझ बढी धैर्य र मर्यादा देखाउनुपर्ने उनले स्विकारेका छन् । सांसद पोखरेल ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा पुग्दा भएको विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उनले आफु जिल्लाको माननीय विद्यालयमा आउदा स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापकमाथि आक्रोश पोखेका थिए । पोखरेलले यस घटनाका कारण पार्टी, शुभेच्छुक, विद्यालय परिवार र आम जनसमुदायमा पर्न गएको ठेसप्रति क्षमा माग्दै आगामी दिनमा थप जिम्मेवार र मर्यादित हुने प्रतिबद्धता जनाएका छन् ।

१०-  इरानका विदेशमन्त्री अब्बास अराघचीले इस्लामाबाद भ्रमणका क्रममा पाकिस्तानका सेना प्रमुख आसिम मुनीरसँग भेटवार्ता गरेका छन् । अमेरिका र इरानबीच क्षेत्रीय स्तरमा वार्ताको प्रयास भइरहेका बेला भएको यो भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । पाकिस्तानले दुवै देशबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको समयमा अराघची र मुनीरबीचको भेटले कूटनीतिक गतिविधि थप सक्रिय भएको संकेत दिएको छ । अराघची शुक्रबार राति इस्लामाबाद पुगेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकफ र ज्वाइँ जेरेड कुशनरलाई पनि पाकिस्तान पठाएका छन् । उनीहरू आज इस्लामाबाद पुग्ने बताइएको छ । यसपटक अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान गएका छैनन् । आवश्यक परे उनलाई इस्लामाबाद पठाउन तयारी अवस्थामा राखिएको छ । यता, संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ भने यस वार्तामा सहभागी नहुने भएका छन् । उनी यसअघि अप्रिल ११ र १२ मा भएको पहिलो अमेरिका-इरान वार्तामा प्रतिनिधिमण्डलका प्रमुख थिए । ह्वाइट हाउसले अमेरिकी टोलीले पाकिस्तानमा इरानसँग प्रत्यक्ष शान्ति वार्ता गर्ने जनाएको छ। तर इरानले भने यस्तो कुनै बैठक तय नभएको स्पष्ट पारेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघईले सामाजिक सञ्जालमार्फत इरानले आफ्नो धारणा अमेरिका समक्ष प्रत्यक्ष नभई पाकिस्तानका अधिकारीमार्फत राख्ने बताएका छन् । यसले वार्ता भए पनि आमनेसामने नभई पाकिस्तानको मध्यस्थतामा हुने संकेत देखिएको छ। अमेरिका प्रत्यक्ष वार्ताको पक्षमा देखिए पनि इरानले त्यसलाई अस्वीकार गरेको छ ।

११- आफ्नै बुबा ५८ वर्षीय जङ्ग बहादुर थारूको हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका-४ बेलडाँडा बस्ने २४ वर्षीय सुनिल थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनिलले कुटपिट गर्दा गम्भीर घाइते भएका जङ्ग बहादुरको पिपरा अस्पताल कपिलबस्तुमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रूद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

१२- चलचित्र ‘रोल नं १’को गीत सार्वजनिक भएको छ । सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमाको टाइटल सङ रिलिज भएको हो । टाइटल सङमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको छ । सार्वजनिक गीतले नेपाली शिक्षा प्रणाली र विद्यालय तहमा हुने ‘र्याङ्किङ’ (श्रेणी) को दौडमा बालबालिकाले भोग्नुपर्ने दबाबलाई मुख्य विषय बनाएको छ । जसमा एक ग्रामीण भेगको बालकको कथा देखाइएको छ । गीतका शब्दहरूले 'अरू सबै मुर्ख, एउटै मात्र विद्वान' भन्दै विद्यालयमा पहिलो हुने विद्यार्थीलाई मात्र सम्मान दिने सामाजिक सोचमाथि कडा प्रहार गरेको छ । गीतले बालमनोविज्ञान केलाउने प्रयास गरेको छ । पढाइसँगै गलत शैक्षिक प्रणालीका कारण बालबालिकामा त्यसको कस्तो असर पर्छ भन्ने यो सिनेमाको मुख्य कथा हो । सिनेमाको यही थिमको वरपर रहेर चलचित्रको गीत तयार भएको छ । भिडियोमा हिमाली भेगको सुन्दर दृश्य, ढुङ्गाले बनेका परम्परागत घर र ग्रामीण स्कुलको जनजीवनलाई बडो कलात्मक ढंगले उतारिएको छ । एकातिर बालकले मैनबत्तीको उज्यालोमा अबेरसम्म पढ्नुपर्ने बाध्यता छ भने अर्कोतिर साथीहरूसँग भलिबल खेल्ने र घुम्ने उसको रहरलाई दबाइएको देखिन्छ । 'रट्टा मार' भन्दै विद्यार्थीलाई बुझ्नुभन्दा पनि घोक्न लगाइने प्रवृत्तिलाई गीतले व्यङ्ग्य गरेको छ । गीतले सिनेमालाई अपिलिङ बनाउने बल राख्ने देखिएको छ । भविष्य उज्योजा बनाउन स्कुल जाने विद्यार्थीमा उल्टै कस्तो असर परिरहेको छ देखाउने प्रयास गीतमार्फत गरिएको छ । ‘हरेक विद्यार्थीको कथा’ स्लोगन दिएको विनोद पौडेलको चलचित्र ‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शन हुँदैछ । जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका छन् । चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् । निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ ।

१३- इजरायल र लेबनानबीच युद्धविरामको अवधि थपिए पनि दुवै पक्षबीच आक्रमण जारी रहेको छ । इजरायली हवाई आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । इजरायल रक्षा बलले दक्षिणी लेबनानका यातेर र कफरा क्षेत्रमा हिजबुल्लाहका रकेट प्रक्षेपणस्थलमा आक्रमण गरेको जनाएको छ। ती स्थान आफ्ना सैनिक र नागरिकका लागि खतरा बनेको दाबी इजरायलले गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा ६ जनाले ज्यान गुमाएका छन् भने २ जना घाइते भएका छन् । यता, हिजबुल्लाहले दक्षिणी लेबनानको रम्याह क्षेत्रमा इजरायली बख्तरबन्द सवारीलाई निशाना बनाएको दाबी गरेको छ । युद्धविराम कायम रहे पनि दुवै पक्षबीच तनाव र सैन्य भिडन्त भने अझै जारी रहेको देखिएको छ ।

१४- सांसद महावीर पुनले रास्वपा सांसद विश्वराज पोखरेलको विवादित अभिव्यक्ति बारे कडा टिप्पणी गरेका छन् । पुनले सामाजिक संजालमा लेख्दै आफु यिनको नेता भएको भएको भए ठाउको ठाउ बर्खास्त गरिदिने बताएका छन् । ओखलढुंगाको एक विद्यालयमा पुगेका सांसद पोखरेललाई गेटमा पर्खाएको भन्दै उनले प्रधानाध्यापकलाई दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । सांसद पोखरेलले माननीय आउदा गेटमा नआएको भन्दै खेद प्रस्ताव पारित गरेमात्र विद्यालयमा छिर्ने भन्दै प्रधानाध्यापकलाई रवाफ देखाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको चौतर्फी आलोचना भइरहेको छ । यस घटनामा रास्वपाको आधिकारीक प्रतिक्रिया भने आएको छैन । यसै प्रसंगमा सांसद पुनले सांसद भनेको जनताको नोकर भएको भन्दै एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नुपर्ने बताउदै दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ ? भन्दै प्रश्न गरेका छन् । 

१५- अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता पाकिस्तानमा हुने सम्भावना बढेको छ । इरानका विदेशमन्त्री अब्बास अराघची शुक्रबार राति इस्लामाबाद पुगेपछि वार्ताको सम्भावना बढेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकफ र ज्वाइँ जेरेड कुशनरलाई पनि पाकिस्तान पठाएका छन् । उनीहरू आज इस्लामाबाद पुग्ने बताइएको छ । यसपटक अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान गएका छैनन् । आवश्यक परे उनलाई इस्लामाबाद पठाउन तयारी अवस्थामा राखिएको छ । यता, संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ भने यस वार्तामा सहभागी नहुने भएका छन् । उनी यसअघि अप्रिल ११ र १२ मा भएको पहिलो अमेरिका-इरान वार्तामा प्रतिनिधिमण्डलका प्रमुख थिए। ह्वाइट हाउसले अमेरिकी टोलीले पाकिस्तानमा इरानसँग प्रत्यक्ष शान्ति वार्ता गर्ने जनाएको छ। तर इरानले भने यस्तो कुनै बैठक तय नभएको स्पष्ट पारेको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघईले सामाजिक सञ्जालमार्फत इरानले आफ्नो धारणा अमेरिका समक्ष प्रत्यक्ष नभई पाकिस्तानका अधिकारीमार्फत राख्ने बताएका छन्। यसले वार्ता भए पनि आमनेसामने नभई पाकिस्तानको मध्यस्थतामा हुने संकेत देखिएको छ। अमेरिका प्रत्यक्ष वार्ताको पक्षमा देखिए पनि इरानले त्यसलाई अस्वीकार गरेको छ ।

१६- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदामा सरोकारवालाबाट राय सुझाव आह्वान गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै उक्त रणनीतिलाई थप परिष्कृत, व्यावहारिक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक रहेको जनाएको हो । मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नं. ७४ (क) र (ग) बमोजिम ऊर्जा खपत र निर्यात रणनीतिलाई सम्बोधन गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले उच्चस्तरीय अध्ययन समिति गठन गरेका थिए । उक्त समितिले बिहीबार रणनीतिको मस्यौदा तयार गरी बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समक्ष पेश गरेको थियो । मन्त्रालयका अनुसार ऊर्जा खपत बढाउने तथा खपत गरी बढी भएको विद्युत निर्यातलाई व्यवस्थित गर्ने उद्देश्यले तयार गरिएको रणनीतिमा व्यापक सुझाव समेट्न खोजिएको छ । सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज, विषय विज्ञ तथा आम सर्वसाधारणलाई मस्यौदा अध्ययन गरी तीन दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ । मस्यौदा मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको छ । इच्छुकले मन्त्रालयको इमेल वा फिड ब्याक पोर्टलमार्फत सुझाव पठाउन सक्नेछन् । मन्त्रालयले प्राप्त सुझावलाई समेट्दै रणनीतिलाई अन्तिम रूप दिइने जनाएको छ ।

१७- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई पुरानो जुङ्गाको लडाई छोड्न सुझाव दिएका छन् । सरकारले काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाउन शुरु गरेपछि साम्पाङले प्रधानमन्त्री बालेनलाई पुरानो जुङ्गाको फाइट छोड्न आग्रह गरेका हुन् । उनले जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन भन्दै पुरानो जुङ्गाको फाइट छोडेर विकासमा लाग्न आग्रह गरेका हुन् ।  उनले भनेका छन्:   बालेन जी... तपाइँलाई मेरो सुझाव "जनतालाई धेरै दु:ख नदिनु ! जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन ! सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा बिलय हुनु पर्छ ! सत्य यही एउटा माटो हो ! त्यसैले चुनाव चिन्ह पनि माटो नै लिएर आएको म त ! बिकासमा लाग्नु ! पुरानो जुङ्गाको फाइट छोड्नु ! आजको मितिमा तपाईकै जुङ्गा लामो छ ! छोड्दिनु भो !"  

१८-  स्मार्टफोन कम्पनीहरूले जानाजानी फोन छिट्टै कमजोर बनाउने गरेको आशंकाबीच युरोपेली संघले यस विषयमा कडाइ थालेको छ । नयाँ फोन सुरुमा निकै छिटो चल्ने भए पनि केही समयपछि ब्याट्री छिट्टै सकिने, कार्यक्षमता घट्ने र मर्मत महँगो हुने समस्या बढ्दै गएको भन्दै यसलाई योजनाबद्ध रूपमा पुरानो बनाउने’ रणनीति मानिएको छ । युरोपेली संघका नीति निर्माताहरूका अनुसार धेरै कम्पनीहरूले उपकरणलाई यस्तो ढंगले डिजाइन गर्छन्, जसले केही वर्षपछि प्रयोग गर्न असहज बनाउछ। फोन पूर्ण रूपमा बिग्रिँदैन, तर ब्याट्री क्षमता घट्ने, सफ्टवेयर अद्यावधिक बन्द हुने र पार्टपुर्जा नपाइने कारण प्रयोगकर्ता नयाँ फोन किन्न बाध्य हुने अवस्था सिर्जना हुन्छ। तथ्यांकअनुसार अधिकांश मानिसले २ देखि ३ वर्षभित्र स्मार्टफोन परिवर्तन गर्ने गरेका छन् । यसमा ब्याट्रीको अवस्था, कार्यक्षमता र मर्मत खर्च मुख्य कारण मानिएको छ । सन् २०१७ मा पुराना आइफोनको गति घटाइएको विषय सार्वजनिक भएपछि यो बहस अझ चर्किएको थियो। कम्पनीले ब्याट्री कमजोर हुँदा फोन अचानक बन्द हुन नदिन यस्तो गरिएको बताएको भए पनि यसले ब्याट्रीको अवस्थाले फोनको अनुभवमा सीधा असर पर्ने देखाएको थियो । पहिले फोनमा ब्याट्री सजिलै फेर्न सकिने भए पनि अहिले अधिकांश स्मार्टफोन बन्द संरचनामा आउने गरेका छन् । यसले फोन पातलो, पानी नछिर्ने र आकर्षक बनाएको भए पनि मर्मत कठिन र महँगो बनाएको छ । प्रयोगकर्ता कम्पनीकै सेवा प्रणालीमा निर्भर हुनुपर्ने अवस्था बढेको छ । युरोपेली संघले अब यस्ता उपकरणलाई बढी टिकाउ, सजिलै मर्मत गर्न सकिने र लामो समयसम्म प्रयोग गर्न मिल्ने बनाउने नियम ल्याउने तयारी गरेको छ। नयाँ व्यवस्थाअनुसार ब्याट्री लामो समय टिक्नुपर्ने, स्पेयर पार्ट्स लामो समयसम्म उपलब्ध हुनुपर्ने र सफ्टवेयर सहयोग पनि बढाइनेछ । साथै, तेस्रो पक्षबाट मर्मत गर्ने प्राविधिकलाई पनि आवश्यक उपकरण र जानकारी उपलब्ध गराइनेछ । यसले प्रयोगकर्तालाई बारम्बार नयाँ फोन किन्नुपर्ने बाध्यता घटाउने अपेक्षा गरिएको छ ।

१९- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार तेस्रो दिन पनि प्रतिव्यारेल १०० डलरभन्दा माथि कायम रहेको छ। यसले विश्व बजारसँगै आयातमा निर्भर देशहरूमा चिन्ता बढाएको छ । वैश्विक मापदण्ड ब्रेन्ट क्रुड शुक्रबार १ दशमलव ८ प्रतिशतले बढेर प्रतिव्यारेल १०१.२ डलर पुगेको छ। यसअघि बुधबार र बिहीबार पनि यसको मूल्य १०० डलरभन्दा माथि बन्द भएको थियो। अमेरिकी मापदण्ड डब्लुटिआई पनि १.८ प्रतिशतले बढेर प्रतिव्यारेल ९७.६ डलरमा कारोबार भएको छ । विश्लेषकहरूका अनुसार अमेरिका–ईरान तनाव अन्त्यतर्फ कुनै ठोस प्रगति नदेखिएकाले बजारमा अनिश्चितता कायम छ। इजरायल–लेबनानबीच युद्धविराम अवधि थपिए पनि क्षेत्रीय तनाव अझै कम भएको छैन । होर्मुज जलडमरूमध्यमा जहाज नियन्त्रणमा लिने घटना र समुद्री सुरक्षामाथि उठेका प्रश्नहरूले पनि तेल आपूर्तिको चिन्ता बढाएको छ । तेलको मूल्य बढिरहँदा विश्व शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ। जापान र हङकङका बजारमा सुधार देखिए पनि युरोपेली बजार भने दबाबमा रहेका छन्। विशेषज्ञहरूले कच्चा तेलको मूल्य लामो समयसम्म १०० डलरभन्दा माथि रहे भारतजस्ता आयातमुखी देशमा महँगी र व्यापार घाटाको दबाब थप बढ्न सक्ने बताएका छन् ।

२०- फोर्ब्सले विश्वका सबैभन्दा धनी व्यक्तिहरूको बारेमा नयाँ दृष्टिकोण जारी गरेको छ । अर्बपतिहरूको सूचीलाई उनीहरूको दानलाई ध्यानमा राखेर पुन: गणना गरिएको छ । यसको उद्देश्य संसारका सबैभन्दा उदार अर्बपतिहरू कस्तो हुन्थे भनेर बुझ्नु हो यदि उनीहरूले कहिल्यै दान नगरेको भए कति सम्पत्ति हुन्थ्यो भन्ने जान्नु रहेको जनाएको छ । यसको जवाफ दिन, फोर्ब्सले 'रियल नेट वर्थ; श्रेणीकरण सिर्जना गर्‍यो । यसले  अर्बपतिहरूले उनीहरूले दान गरेको शेयर राख्नेछन्, र नगद दान बजार दरमा लगानी गरिनेछ । एलन मस्क दुबै फोर्ब्स सूचीमा शीर्ष स्थानमा छन् । यद्यपि, उनले वास्तवमा आफ्नो सम्पत्तिको सानो भाग मात्र दान गरेका छन्, लगभग ०.०६ प्रतिशत मात्र । बिल गेट्सले माइक्रोसफ्टको लगभग ७३१ मिलियन शेयर दान गरेका छन् । यदि उनले यी शेयरहरू राखेका भए, उनको सम्पत्ति लगभग चार गुणा बढी हुने थियो, जसले गर्दा उनी हाल १९औं को सट्टा विश्वको दोस्रो धनी व्यक्ति बन्ने थिए । त्यस्तै, वारेन बफेट ९ औंबाट तेस्रो स्थानमा पुग्ने थिए । उनले दान गरेका शेयरहरूको मूल्य २००६ देखि लगभग ७०० प्रतिशतले बढेको छ । उनले धेरै जसो बर्कशायर हाथवेका शेयर दान गरेका छन् । म्याककिन्से स्कट ५८ स्थान माथि चढेर २६ औँ स्थानमा पुग्ने थिए । उनका पूर्व पति जेफ बेजोस शीर्ष पाँचबाट बाहिरिने थिए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

1 comment · join the conversation

K

Kamar

·

I like this news but you are always give news same as today

}