खल्ती वालेटको सेवा २–३ घण्टा देखी ठप्प, प्रयोगकर्ता मर्कामा
काठमाडौं । देशकै ठूलो डिजिटल वालेटमध्ये एक खल्तीको सेवा आज करिब २–३ घण्टासम्म ठप्प हुँदा प्रयोगकर्ताहरू मर्कामा परेका छन् । एप लगइन देखि भुक्तानीसम्म, ट्रान्ज्याक्सन हिस्ट्री, हवाई टिकट बुकिङलगायतका सुविधा तथा व्यवसायीले प्रयोग गर्ने पेमेन्ट ग्याटवे समेत नचलेपछि दैनिक कारोबार प्रभावित भएको छ । यति मात्र नभई, विभिन्न व्यवसायहरूले प्रयोग गर्ने खल्तीको पेमेंट गेटवे सेवा पनि अवरुद्ध हुँदा अनलाइन कारोबारमा समेत असर परेको छ।
आइएमई पेसँग मर्जर भएयता खल्तीमा बारम्बार डाउन हुने र सुस्त चल्ने समस्या देखिन थालेको प्रयोगकर्ताहरूको गुनासो छ । पहिले भरपर्दो मानिने खल्तीमा मर्जरपछि नै यस्ता समस्या बढेको प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमार्फत् व्यापक रूपमा औंल्याएका छन् ।
खल्तीका प्रतिनिधिले पनि प्रणालीमा समस्या आएको स्वीकार गरेका छन् । उनीहरूका अनुसार प्राविधिक टोली समस्या समाधानमा खटिरहेको छ र सेवा सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको छ ।
लाखौं नेपालीले दैनिक कारोबारमा प्रयोग गर्ने देशकै ठूलो वालेटमध्ये एक खल्ती २–३ घण्टासम्म ठप्प हुनु गम्भीर विषय मानिएको छ । डिजिटल भुक्तानीको विश्वसनीयतामा यस्ता बारम्बारका अवरोधले असर पार्ने जानकारहरूको भनाइ छ ।