कर्ण शाक्य भन्छन्- हामी खराब उद्धमी होइनौं, नियम मिचेका छैनौं
काठमाडौँ । कर्ण शाक्यले पोखरा स्थित वाटरफ्रन्ट होटलले कुनै नियम नामिचेको दाबि गरेका छन् ।
शनिबार बिहान फेवा किनारमा रेहेको वाटरफ्रन्ट होटलमा महानगरले डोजर चलाएर संरचना भत्काएपछि शाक्यले आफु खराब उधमी नभएको बताउदै आफुहरुसँग लालपुर्जा र सरकारका सबै निकायसँग लिएको स्वीकृतिको प्रमाणपत्र रहेको बताएका छन् ।
शाक्यले भनेका छन्- ' ६५ मिटरको मापदण्ड कुनै निजी मुद्दा होइन, यो त राष्ट्रिय सरोकारको विषय हो । नीति ठीक छ कि छैन, आफ्नो ठाउँमा छ । तर हाम्रो होटलले कुनै नियम उल्लङ्घन गरेको छैन । जग्गा मिचेको छैन । लालपुर्जा छ, नक्सा पास छ । पर्यटन विभागको लाइसेन्स छ । उद्योग विभागको प्रमाणपत्र छ । राष्ट्र बैंकको इजाजतपत्र सबै छ । हरेक वर्ष कर तिरेका छौं । कुनै बैकको ऋण छैन । एउटा होटल सञ्चालन गर्न एक उद्यमीले पालना गर्नुपर्ने सबै नियम पालना गरेका छौँ । तर पनि हामीमाथि यस्तो कठोर व्यवहार किन ?'
उनले पोखराको वाटरफ्रन्ट होटल केवल व्यवसाय मात्र नभएर विश्वास, संघर्ष र आस्थाको प्रतिक भएको बताउदै बिस वर्ष पहिले, माओवादी आन्दोलनताका जब देशमा तन, मन र धन पलायन भयो, तर मैले स्वदेशमै पर्यटन व्यवसायमा लाग्ने निर्णय गरेको उल्लेख गरेका छन् ।
उनले आफुले दिवाकर राजकर्निकारले फेवाताल नजिक एउटा पोखरेली रैथाने उद्यमीसँग ‘बुद्ध लज’ सहितको १७ रोपनी जग्गा किनेर अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण गरेको बताएका छन् । उनले कुनै पूर्वसूचना बिना नगरपालिकाले होटलको पर्खाल भत्काएको बताउदै यस घटनाले मनमा गहिरो पीडा र चिन्ता जागेको बताएका छन् ।
उनले भनेका छन्- 'पोखरामा सबैभन्दा पहिले UN-Habitat सँग समन्वय गरी अत्याधुनिक DEWAT सेफ्टी ट्यांकी बनाएका छौँ । हामी खराब उद्यमी होइनौँ, जिम्मेवार र सचेत नागरिक हौँ । हामी नीति नियम पालन गर्ने मान्छे हौ । मापदण्ड अनुसार होटलको भवन ६५ मिटर टाढा छ । तीन तल्लाको छ । होटल र तालबीच अरूको जग्गा छ, जहाँ पैराग्लाइडिङ गरिन्छ ।'
शाक्यले लेकसाइड क्षेत्रमा हजारौँ बस्ती, उद्योग, व्यापार, होटल र रेस्टुरेन्टहरू अवस्थित रहेको बताउदै यस्ता संरचना र जग्गा उचित मुआवजा दिएर विधिवत् अधिग्रहण नगरी, पूर्वसूचना बिना भत्काउनु कसरी जायज ठहरिन सक्छ ? भन्दै यस्तो कार्यप्रणालीलाई न्यायसंगत मान्न सकिन्छ ? भनेर सरकारसँग प्रश्न गरेका छन् ।
उनले इतिहासले फेवाताल राणाकालमा बाँध निर्माण गरेर विस्तार गरिएको देखाएको उल्लेख गर्दै पछि राजा महेन्द्रको पालामा बाँधको उचाइ थप बढाइयो र ताल अझ फैलाइएको र यसरी समयसँगै यसको स्वरूप निरन्तर परिवर्तन हुँदै आएको बताएका छन् ।
उनले पोखरा जस्तों अन्तराष्ट्रीय पर्यटकीय नगरीमा विकासका लागि संरक्षण नीति अपनाउने हो भन्दै संरक्षणले विकासलाई रोक्ने होइन, टेवा दिने हो र कोठामा झिंगा आयो भनेर झ्याल बन्द गर्ने होइन, जाली लगाउने हो भनेका छन् ।