गैंडाकोटमा तीन सवारीसाधन एकापसमा ठोक्किए, १२ जना घाइते
चितवन । नवलपुरको गैंडाकोटमा सोमबार बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट-९ स्थित हनुमान मन्दिर नजिकै तीनवटा सवारी साधन एकापसमा ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सोमबार बिहान करिब ६: ४५ बजे नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०९१० नम्बरको बसले गैंडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बा.प्र. ०१-०२८ च ५००४ नम्बरको हात्तीगाडी र सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा तीनै वटा सवारी साधनका चालकहरू घाइते भएका छन् ।
दुर्घटनामा परि ठक्कर दिने बसमा सवार ९ जना यात्रुहरू पनि सामान्य घाइते भएका छन् । घाइते सबैको चितवन मेडिकल कलेज र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोलीले दुर्घटनाग्रस्त सवारी साधनहरूलाई सडकबाट किनारा लगाएर अबरुद्द सडकलाई एकतर्फी संचालनमा ल्याईएको छ ।