जर्मनीको सहयोगमा निर्माण हुने लेखनाथ-दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास

बिहिबार, ५ चैत २०८२, ११:८ AM
post-image

काठमाडौँ । लेखनाथ-दमौली २२० केभी प्रसारण लाइन आयोजनाको शिलान्याससँगै नेपाल-जर्मनी ऊर्जा सहकार्य थप मजबुत बनेको छ ।

तनहुँको दमौली सबस्टेसनमा बुधबार आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरण र जर्मनी सरकारका प्रतिनिधिहरूले संयुक्त रूपमा आयोजनाको शिलान्यास गरेका हुन् । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, नेपालका लागि जर्मनीका राजदूत उडो भोल्ज लगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यो आयोजना जर्मनीको सहयोगमा निर्माण हुन लागेको हो । करिब ४५ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ भने लेखनाथ र दमौलीमा आधुनिक ग्यास इन्सुलेटेड सबस्टेसन पनि स्थापना गरिनेछ । आयोजनाको क्षमता करिब १००० मेगावाट रहने जनाइएको छ ।

यस प्रसारण लाइनले क्षेत्रीय विद्युत सञ्जाललाई थप मजबुत बनाउने र तनहुँ जलविद्युत आयोजना लगायत विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित विद्युत सहज रूपमा प्रसारण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । साथै, विद्युत आपूर्तिको भरपर्दोपन बढाउने र नवीकरणीय ऊर्जाको उपयोग विस्तारमा पनि योगदान पुग्नेछ ।

कार्यक्रममा बोल्दै जर्मनीका राजदूत भोल्जले नेपालको बढ्दो ऊर्जा आवश्यकताका लागि भरपर्दो प्रसारण संरचना अत्यन्त आवश्यक रहेको बताए । उनले स्वच्छ ऊर्जा घर, व्यवसाय र उद्योगसम्म पुर्‍याउन यस्ता आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

नेपाल र जर्मनीबीच ऊर्जा क्षेत्रमा लामो समयदेखि सहकार्य हुँदै आएको छ । यसअघि तल्लो र मध्य मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणदेखि प्रसारण लाइन तथा राष्ट्रिय लोड डिस्प्याच केन्द्रसम्म जर्मनीले सहयोग गर्दै आएको छ ।

यस्तै, सौर्य ऊर्जा, सिँचाइ प्रणाली र विद्युतीय सवारी चार्जिङ स्टेशन जस्ता क्षेत्रमा पनि सहकार्य विस्तार हुँदै आएको छ । आगामी दिनमा विद्युत वितरण प्रणाली सुदृढीकरणमा पनि थप सहयोग केन्द्रित गरिने जनाइएको छ ।

यो आयोजना कार्यान्वयनसँगै नेपालमा दिगो, भरपर्दो र वातावरणमैत्री ऊर्जा प्रणाली विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}