पाल्पा सिमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

शुक्रबार, १५ फाल्गुण २०८२, १२:४३ PM
post-image

काठमाडौँ । पाल्पा सिमेन्टको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो ।

शुक्रबार बिहानसम्म यस आइपिओमा २२ लाखभन्दा बढी लगानीकर्ताले आवेदन दिइसकेका छन् ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँड गरेको थियो। कुल जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँमध्ये २० प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये १८ लाख ७५ हजार कित्ता स्थानीय बासिन्दा, ५ लाख ६२ हजार ५०० कित्ता विदेशमा रहेका नेपाली, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि बाँडफाँड गरिएको थियो ।

अब बाँकी रहेका ४५ करोड रुपैयाँ बराबरको ४५ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको छ । आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आइपिओको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको तोकिएका शाखा कार्यालय वा ‘मेरो शेयर’ अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}