रिज लाइन इनर्जीको आइपिओ बाँडफाँड
काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले विहिबार बिहान शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म आम सर्वसाधारणलाई ११ लाख ८० हजार २ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो ।
प्रभु क्यापिटलका अनुसार यस निष्काशनमा २७ लाख २३ हजार ९ सय १४ जनाको आवेदन परेकोमा २५ लाख ३७ हजार ३ सय १ जनाको आवेदन स्वीकृत भएका थिए । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसबाट १ लाख १८ हजार २६ जनाले १०- १० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रूपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रूपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरि बाँडफाँड गरिसकेको छ ।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयरएनपी डबल बी इस्युर' रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।
आईपीओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने छ ।