बैतडी जन्ती बस दुर्घटना अपडेट: मृतकको संख्या १३ पुग्यो
धनगढी । बैतडीमा बिहीवार राति जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप पाँच जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा ३६ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा अस्पताल र पुर्चौडीकै कोटीला स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
पुर्चौडी नगरपालिका–७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीवार राति करिब ८ बजे पुर्चौडी नगरपालिका–७ को बडगाउँ मोडमा दुर्घटनामा परेको थियो ।
बेहुला बेहुली अर्को जीपमा रहेकाले सकुशल रहेका प्रहरीले जानकारी दिएको छ ।