रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता

बुधबार, ३० पुष २०८२, ७:१४ PM
post-image

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयको निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दायर गरिएका संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता लिने प्रक्रिया अघि बढाइनेछ ।

महान्यायाधिवक्ता सबिता भण्डारी बरालले सहकारी ठगीसम्बन्धी मुद्दा यथावत् रहने स्पष्ट पार्दै संगठित अपराध र सम्पत्ति शुद्धिकरणका अभियोग मात्रै फिर्ता लिने गरी आरोपपत्र संशोधन गर्न स्वीकृति दिइएको बताइन् । उनले यसलाई सम्पूर्ण मुद्दा फिर्ता लिएको रूपमा बुझ्न नहुने उल्लेख गरिन् ।

उनले बुधबार चारवटा जिल्ला अदालतमा चलिरहेका मुद्दाका अभियोगपत्र संशोधन गर्न स्वीकृति दिने निर्णय गरेकी हुन् । यस निर्णयपछि जिल्ला अदालत कास्कीमा चलिरहेको संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता हुनेछ भने रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा चलिरहेको संगठित अपराधसम्बन्धी मुद्दा पनि फिर्ता लिइनेछ ।

यद्यपि, चितवन जिल्ला अदालतमा संगठित अपराध वा सम्पत्ति शुद्धिकरणसम्बन्धी कुनै मुद्दा दर्ता नभएकाले त्यहाँ अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको छैन ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}