सिन्धुली एसबिआई बैंक लुटपाट: स्थानीयको सहयोगमा चार लुटेर पक्राउ
सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई स्थानीयको सहयोगमा पक्राउ गरिएको छ ।
मंगलबार साँझ करिब ७: ४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा लुटपाट भएको थियो । लुटेराले कर्मचारीलाई बाँधेर, सुरक्षा गार्डको हात काटिदिएर करोडौं रकम बोरामा हालेर भागेका थिए । फिल्मी शैलीमा घ्याङलेख शाखाबाट ३ करोड ११ लाख रुपैयाँ लुटपाट भएको थियो ।
बैक लुटिएको खबर पाउनासाथ स्थानीयले चारैतर्फबाट घेरा हालेर सोही गाउँपालिकाको वडा नम्बर- १, सुकाचुरीबाट ४ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । लुटिएको तीन करोड १० लाख ९५ हजार २८३ मध्ये एक करोड ८० लाख १० हजार ५०० प्रहरीले बरामद गरेको बताएको छ ।
लुटपाटमा प्रयोग गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको भए पनि अन्य केहि लुटेरा अझै फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले फरार लुटेराहरूको खोजी तीव्र बनाएको र थप अनुसन्धान जारी रहेको जनाएको छ ।