नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

आइतबार, १६ कार्तिक २०८२, २:२९ PM
post-image

काठमाडौं – नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सञ्चालन र मर्मतका लागि अन्तर्राष्ट्रिय सेवा प्रदायक छनोट गर्न टेन्डर आह्वान गरिएको छ।

नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अनुभवी र सक्षम अन्तर्राष्ट्रिय कम्पनीहरूलाई प्रतिस्पर्धात्मक टेन्डरमा सहभागी हुन आमन्त्रण गरेको हो। बोलपत्र बुझाउने अन्तिम मिति आगामी पुस २ (सन् २०२५ डिसेम्बर १७) तय गरिएको छ।

हाल सुरुङमार्ग भौतिक रूपमा सवारीसाधन चलाउन सक्षम भए पनि दक्ष जनशक्ति र सुरक्षासम्बन्धी तयारी अभावका कारण सञ्चालनमा आउन सकेको छैन। मुख्य सुरुङको लम्बाइ २.७ किलोमिटर र आपत्कालीन सुरुङको लम्बाइ २.६ किलोमिटर रहेको छ। सरकार यस मार्गबाट गुड्ने सवारीसाधनका लागि सडक उपभोग दस्तुर (टोल) पनि निर्धारण गरिसकेको छ।

सुरुङमा अत्याधुनिक प्रविधि समावेश भएकाले यसको सञ्चालन र मर्मतका लागि विशेष तालिम प्राप्त दक्ष जनशक्ति आवश्यक भएको आयोजनाले जनाएको छ। सडक विभागको सीमित जनशक्ति र अनुभवका कारण पाँच वर्षका लागि अन्तर्राष्ट्रिय सेवा प्रदायकमार्फत सञ्चालन र मर्मत गराउने निर्णय गरिएको हो। यस अवधिमा विदेशी विज्ञहरूले नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण गर्ने र भविष्यमा अन्य सुरुङ तथा फास्ट ट्र्याकजस्ता परियोजनाहरू स्वदेशी जनशक्तिबाट सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

सुरुङलाई २४ घण्टा सञ्चालन गर्नुपर्ने भएकाले दुर्घटना, आगलागी वा प्रणाली बिग्रिएमा तुरुन्त आपतकालीन सेवा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेछ। त्यसका लागि शिफ्ट प्रणालीमा कर्मचारी खटाइने र आपतकालीन टोली गठन गरिनेछ।

सञ्चालनका लागि कुल १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ। सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा टोली रहनेछ। यसमा सुरक्षा व्यवस्थापन युनिटमा ६४ जना, टोल संकलनका लागि ५४ जना, ट्राफिक अनुगमन तथा नियन्त्रणका लागि १४ जना, र सिभिल तथा अन्य संरचना मर्मतका लागि ८–८ जना कर्मचारी रहने व्यवस्था गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}