इलाममा भीषण पहिरोः १८ जनाको मृत्यु, धेरै बेपत्ता र सडक अवरुद्ध

इलाम । निरन्तर वर्षासँगै इलामका विभिन्न स्थानमा गएको भीषण बाढी–पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने केही व्यक्ति अझै बेपत्ता रहेका छन् ।
आइतबार बिहानसम्म इलामका कम्तीमा छ वटा स्थानमा पहिरो खस्दा ठूलो जनधनको क्षति भएको हो ।
सबैभन्दा बढी क्षति इलाम नगरपालिका–६ घोसस्थित डम्बरबहादुर तामाङको घरमा पुगेको छ, जहाँ घरभित्र रहेका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यहाँ सशस्त्र प्रहरी श्रीअन्तु गणको उद्धार टोली खटिएको थियो ।
सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको ज्यान गएको छ । चार जनाको शव घरभित्रैबाट निकालिएको र एक जना घाइतेको उपचारका क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, देउमाई नगरपालिका–५ घुसेनीमा दीपक लिम्बुको घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । सोही नगरपालिका–५ धारे र धुसुने क्षेत्रमा पनि पहिरोले मानवीय क्षति पुर्याएको छ ।
माङसेबुङ गाउँपालिका–५ पाटीगाउँमा मदन लिम्बुको घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने फाकफोकथुम गाउँपालिका–३ रातामाटे बस्ने ३२ वर्षीय सुरेश लिम्बुको पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धार तथा राहत कार्यमा खटिएका छन् ।