बन्दीपुर केवलकारले भदौ ११ गतेदेखि दोस्रो चरणको आईपीओ बिक्री गर्ने

काठमाडौं, ३ भदौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड (BCTL) ले सर्वसाधारण लगानीकर्ताका लागि आगामी भदौ ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ । साथै, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर पनि वितरण भइसकेको छ ।
कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँ मध्ये २०.७० प्रतिशत अर्थात् ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्न पाएको हो । जसमध्ये ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा, ५ लाख २९ हजार ४०० कित्ता विदेशमा रहेका नेपाली, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारी र २ लाख ६४ हजार ७०० कित्ता सामूहिक लगानी कोष का लागि छुट्याइएर वितरण गरिएको हो ।
अब दोस्रो चरणमा सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर (बराबर ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ) निष्काशन हुँदैछ । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आईपीओ छिटोमा भदौ १५ गते बन्द हुनेछ भने सो अवधिमा पूरा बिक्री नभएमा भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड ले बिक्री प्रबन्धकको जिम्मेवारी लिएको छ । लगानीकर्ताले सी–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि करिब ८.२२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.०५ वर्ष रहने अनुमान गरिएको छ । यसअघि केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ ।