माबिलुङ एनर्जीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

सोमबार, २६ श्रावण २०८२, १०:५७ AM
post-image

काठमाडौं, साउन २६। माबिलुङ एनर्जी लिमिटेडले आजदेखि (साउन २६) सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको हो।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत योजना अनुसार कम्पनीले जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरका १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएकामा बाँडफाँट भइसकेको छ।

अब दोस्रो चरणमा कम्पनीले १३ करोड ५४ लाख २३ हजार ५०० रुपैयाँबराबरका १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गर्दैछ। यसमध्ये ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन अवधि छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गते बन्द हुनेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाबाट सि आस्बा प्रणालीमार्फत दिन सकिनेछ।

इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इश्यूअर रेटिङ्ग सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

माबिलुङ एनर्जीले सञ्चालान गरेको ४.९५ मेगावाटको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}