सागर डिष्टिलरीले साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्दै

मंगलबार, २१ श्रावण २०८२, १२:३४ PM
post-image

काठमाडौं, साउन २०सागर डिष्टिलरी लिमिटेडले आगामी साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ (प्राथमिक शेयर) निष्कासन गर्न लागेको छ। कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबरको १४ लाख ५२ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो। उक्त शेयरमध्ये १० प्रतिशत, अर्थात् १ लाख ४५ हजार २०० कित्ता शेयर, विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

प्रत्येक कित्ताको अंकित मूल्य १०० रुपैयाँ रहेको यस आईपीओमा न्यूनतम १० कित्ताअधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद भदौ १ गतेसम्म तोकिएको छ, तर सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ ११ गतेसम्म समय थपिनेछ।

यस निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले साउन १२ गते अनुमति दिएको हो भने निष्कासन तथा बिक्री व्यवस्थापकको जिम्मा मुक्तिनाथ क्यापिटल लिमिटेडले पाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल सरकारबाट श्रम स्वीकृति लिएको प्रमाणसहित सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनको लागि गरिएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सागर डिष्टिलरीलाई IRN C(B)+ रेटिङ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्न कम्पनी सक्षम भए पनि उच्च जोखिम रहेको संकेत गर्दछ।

वि.सं. २०६९ सालमा स्थापना भएको सागर डिष्टिलरीको उत्पादन केन्द्र नवलपुरको देवचुलीमा अवस्थित छ। कम्पनीले Royal Blue, Grey Wolf, Berries & Blues, The GovernorNepse Bulls जस्ता ब्राण्डको मदिरा उत्पादन गर्दै आएको छ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}