भिजिट भिसा छानबिन समितिका यी हुन् ९ कार्यादेश
सरकारले भिजिट भिसा प्रकरणको विस्तृत अध्ययन तथा अनुसन्धान गर्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ।
गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधि सभामा बोल्दै उक्त समितिलाई ९ बुँदे कार्यादेश दिइएको जानकारी गराएका हुन्। उनका अनुसार केही सुधारका कार्यहरू सुरु भइसकेका छन्, तर ती अपुग हुन सक्ने भएकाले समस्या समाधानका लागि दीर्घकालीन योजनासहित समिति बनाइएको हो।
उनले छानबिनको काम अहिले प्रारम्भ भइसकेको जनाउँदै विस्तृत प्रतिवेदन आएपछि अध्यागमन प्रणालीमा सुधार ल्याउने दिशामा काम अघि बढाइने बताए। समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काममा बाधा नपर्ने गरी स्वतन्त्र रूपमा काम गर्नेछ।
समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। यस समितिमा गृहमन्त्रालयसहित ६ मन्त्रालयका सहसचिव स्तरका प्रतिनिधिहरू सदस्य रहेका छन्।
समितिको ९ बुँदे कार्यादेश :
१) अध्यागमन व्यवस्थापन, भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने आउने व्यक्तिहरूको यात्रालाई सहजीकरण सम्बन्धमा अध्ययन, विश्लेषण, तथा तथ्यगत छानबिन गरी देखिने समस्या समाधान गर्न नीतिगत, कानुनी एवम् संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाउने।
२) अध्यागमन व्यवस्थापन भिजिट भिसा लगायत सबै प्रयोजनका लागि विदेश जाने तथा नेपाल भित्रिने व्यक्तिहरूको यात्रालाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्यविधि, मापदण्डलगायत नीतिगत र कानुनी व्यवस्थामा संशोधन वा पुनरवलोकन आवश्यक भए, सोको मस्यौदा पनि बुझाउने।
३) अध्यागमन व्यवस्थापनमा विद्यमान संरचनागत, कर्मचारी व्यवस्थापनमा सुधारका लागि प्रस्तावसहितको सुझाव पेस गर्ने।
४) अध्यागमन व्यवस्थापन र नागरिकहरूको आवतजावतमा समस्या सिर्जना हुन नदिन सम्बद्ध निकायहरू बीचका समन्वय र सहकार्यका गर्नुपर्ने सुधार एवम् व्यवस्थाबारेमा सुझाव पेस गर्ने।
५) अध्यागमन व्यवस्थापन र नागरिकहरूको यात्रा सहजीकरण सम्बन्धमा अन्तर्राष्ट्रिय असल अभ्यासको अध्ययन गरी नेपालको परिवेशअनुरूप कार्यान्वयन गर्न सकिने सुझाव पेस गर्ने।
६) भिजिट भिसा, श्रम भिसा लगायतका अन्य भिसा प्रयोग गरी यात्रा गर्ने व्यक्तिहरूबीचको समस्यामा पर्ने तथा विदेशमा अवैध रूपमा बस्दा समस्या हुने समस्याका सम्बन्धमा आवश्यक अध्ययन गरी सोको रोकथामका लागि अपनाउनुपर्ने उपायहरूका सम्बन्धमा सुझाव पेस गर्ने।
७) अध्यागमन प्रणालीलाई प्रविधिमैत्री सरल, सहज, छिटो, छरितो बनाई सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक सुझाव पेस गर्ने।
८) विदेश आवतजावत गर्ने विषयसँग सम्बन्धित सरोकारवाला निकायहरूको भूमिका व्यवस्थित गर्न आवश्यक सुझाव पेस गर्ने।
९) अध्यागमनको आवतजावतको अभिलेख राखी सुरक्षित र दुरूस्त राख्न अपनाउनुपर्ने उपायका बारेमा सुझाव पेस गर्ने।
दूधको साक्षी बिरालो जस्तो छानबिन समिति स्वीकार्य छैन : राप्रपा
भिजिट भिसा प्रकरणमा सरकारद्वारा गठन गरिएको छानबिन समितिको राप्रपाले कडा विरोध गरेको छ।
अब भिजिट भिसासम्बन्धी सबै समस्या समाधान हुन्छन् : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गरिने बताएका छन्।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.