कोदारी, लार्चा र कोप्लाङ क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं, ४ असार । बाढी पहिरोका कारण पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोक, कान्ति लोकपथअन्तर्गत ललितपुर र कालिगण्डकी करिडोरअन्तर्गत गुल्मीमा सडक अवरुद्ध भएको छ ।
नवलपरासी पश्चिमको विनयी त्रिवेणी गाउँपालिका–१ मा पर्ने विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । अहिले पानीको सतह घटेकाले डाइभर्सन बनाउने काम भइरहेको र केही घण्टामा सडक खुल्ने सडक डिभिजन भरतपुरले जनाएको छ ।
यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत कोदारी, लार्चा र कोप्लाङ क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । ललितपुरको बागमती गाउँपालिकामा पर्ने छपेलीमा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको छ । यस्तै पहिरोका कारण हिजो दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै खुल्न सकेको छैन ।
कालीगण्डकी करिडोर सडकको गुल्मी खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–६ बरल्बामा हिजो दिउँसो चट्टानसहित पहिरो खसेको हो । सडक खुलाउन पहल गरे पनि माथिबाट छिनछिनमा पहिरो खसिरहेका कारण समस्या परेको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिनुभयो । लामो समयसम्म सडक बन्द हुँदा यात्रु समस्यामा परेका छन् । त्यस्तै, धनकुटाको रवि–राके–भेडेटार सडक र जुम्लाको जुम्ला–मुगु सडक खण्ड पनि पहिरोका कारण एकतर्फी सञ्चालन भइरहेको छ । यी ठाउँमा आवतजावत गर्नुपरेमा सावधानी अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह छ ।