श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले ४ करोड बढी नाफा कमायाे

काठमाडौ, बैशाख ०९ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले ४ करोड ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो मुनाफा गत वर्षको यसै अवधिको तुलनामा ५७.३१ प्रतिशतले धेरै हो । कम्पनीले गत वर्षको यसैअवधिमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा सुधार आएको हो । गत वर्ष १५ करोड १६ लाख रहेको खुद ब्याज आम्दानी अहिले २५.४५ प्रतिशतले बढेर १९ करोड रुपैयाँ कायम भएको छ ।
यस्तै, सञ्चालन नाफा पनि ५७.३१ प्रतिशतले बढेर ७ करोड १ लाख रुपैयाँ कामय भएको छ । यस फाइनान्सको इम्पेयरमेन्ट चार्ज भने बढेको छ । हाल श्री इन्भेष्टमेन्टको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ३६ करोड ७२ लाख रुपैयाँ जम्मा छ ।
यसको प्रतिसेयर आम्दानी बढेर ६ रुपैयाँ ५५ पैसा भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २४ पैसा रहेको थियो । यसको नेटवर्थ भने १४०.३४ रुपैयाँ छ ।