सान्भि इनर्जी लिमिटेडको आइपीओ बिक्री खुला

काठमाडौ, बैशाख ०५ । सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको छ ।
अर्थात, स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ९ नम्बरसम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स।.का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु) र वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स. का १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गा.वि.स.को वडा नं. ५) का स्थानीयले आवेदन दिन सक्नेछन् ।
यसैगरी, सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सोही नगरपालिकाको वडा नं. १ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नम्बर वडाहरु) का स्थायी बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । छिटोमा वैशाख १९ गते र उक्त अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन मिल्नेछ ।
यता, कम्पनीले आज वैशाख ५ गतेदेखि नै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता आइपीओ बिक्री खुला गरेको छ । यसमा पनि प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम २० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने वैशाख १९ गते बिक्री बन्द गरिने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।