हजारौं छोरीहरूलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेको छुः अर्थमन्त्री पुन
काठमाडौं, २४ वैशाख । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटबारे महिला उद्यमीसँग अन्तरक्रिया गरेका छन्। सोमबार मन्त्रालयमा उनले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गरेका हुन्।
कार्यक्रममा महासंघ अध्यक्ष एवं सञ्चार उद्यमी शोभा ज्ञवाली, डा. माला खरेल, अभिलाषा पौडेललगायतले महिला उद्यम प्रवर्द्धनका लागि बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव दिएका थिए।
कार्यक्रममा अर्थमन्त्री पुनले महिलाको आर्थिक अवस्था बलियो नभएसम्म मुलुकको अर्थतन्त्र सबल नहुने बताए। बजेट निर्माण गर्दा महिला उद्यमी लक्षित सहुलियतपूर्ण व्यवस्थाहरू गर्ने सोचमा आफू रहेको उनको भनाइ थियो। बढीभन्दा बढी महिलालाई कसरी उद्यमी बनाउन सकिएला भन्नेबारे आफूलाई सुझाव दिन उनले आग्रह गरे।
‘महिलाको आर्थिक अवस्था राम्रो भए छोरीहरूले अनिवार्य गुणस्तरीय शिक्षा पाउने अवस्था बन् । राम्रो शिक्षा भएपछि छोरीहरू आफैं आत्मनिर्भर बन्छन्। छोरीहरू आर्थिकरुपले अघि आउँदामात्र राजनीति, प्रशासन, सामाजिक सेवा सबैतिर महिला अगाडि आउने वातावरण बन्छ,' उनले भने। मन्त्री पुनले मुलुकको समग्र विकास र आर्थिक समुन्नतिका लागि महिला आर्थिक रुपले बलियो हुनुपर्ने अनिवार्य सतै रहेको उल्लेख गरे।
मन्त्री पुनले महिलाका नाममा पास गर्दा घरजग्गाको रजिष्ट्रेशनमा शुल्क छुट दिने नीतिका कारण २७ प्रतिशत महिला सम्पत्तिको मालिक भएको स्मरण पनि गरे । ‘२७ प्रतिशत महिलासँग सम्पत्ति भएकाले व्यवसाय गर्दा बैंकले ऋण पत्याउने अवस्था छ। बाबुआमाले पनि सम्पत्तिको हक राख्ने भएकाले पढाउनुपर्छ छोराछोरी बराबर हो भन्ने धारणाको विकास भएको छ । किन भने छोरी पढायो भने बुहारी पनि पढेकै आउँछ भन्ने लाग्न थालेको छ । यो सम्पत्ति सम्बन्धका कारण भएको परिवर्तन हो । पुरुषलाई सम्पत्ति धितो राखेर व्यवसाय गर्छु भन्ने अवस्था पर्याप्त छ । तर, कमै मात्र छोरीहरूको हातमा सम्पत्ति भएकाले ऋण लिएर व्यवसाय गर्ने अवस्था अझै छैन’, उनले भने, ‘यो वर्षको बजेटमा हजारौं छोरीहरूलाई कसरी उद्यमी बनाउन सकिन्छ भन्ने विषयमा सोचिरहेको छु ।’ उनले नयाँ आउने महिला उद्यमीलाई अहिले व्यवसायमा रहेका महिलाहरूले बाटो देखाउनुपर्ने उल्लेख गरे । महिलाको हातमा सम्पत्ति भएपछि उनीहरूको आत्मविश्वास पनि बढ्ने उनको भनाइ थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.