बजार अनुगमनमा लागेको जरिबाना १ महिनाभित्र तिर्न निर्देशन, नतिरे पसल सिल र दर्ता खारेज

गत आर्थिक वर्ष विभागले ५३७ फर्मलाई कुल २ करोड ६१ लाख रुपैयाँ जरिबाना गरेको थियो ।

Artha Kendra Artha Kendra
शुक्रबार, ११ मंसिर २०८३, २:२० PM
—
फन्ट
बजार अनुगमनमा लागेको जरिबाना १ महिनाभित्र तिर्न निर्देशन, नतिरे पसल सिल र दर्ता खारेज

काठमाडौं । बजार अनुगमनका क्रममा जरिबाना तोकिएका तर अझै रकम नबुझाएका व्यवसायीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक महिनाभित्र जरिबाना तिर्न निर्देशन दिएको छ । विभागले मंसिर ११ गते शुक्रबार जारी गरेको ‘अत्यन्त जरुरी सूचना’ अनुसार सूचना पहिलो पटक प्रकाशित भएको मितिले एक महिनाभित्र रकम सरकारी राजस्व खातामा जम्मा गरी सक्कल भौचरसहित विभागमा जानकारी गराउनुपर्नेछ ।

तोकिएको अवधिभित्र जरिबाना नतिर्ने फर्म, कम्पनी र प्रतिष्ठानको पसल सिलबन्दी गर्ने, दर्ता खारेजका लागि सिफारिस गर्ने र जरिबाना सरकारी बाँकीसरह असुल गर्ने चेतावनी विभागले दिएको छ ।

किन आयो सूचना ?

उपभोक्ताको हकहित संरक्षण तथा स्वच्छ र प्रतिस्पर्धी बजार व्यवस्थापनका लागि विभाग र मातहतका कार्यालयले विभिन्न मितिमा नियमित तथा आकस्मिक बजार अनुगमन गरेका थिए । त्यस क्रममा कानुनविपरीत व्यवसाय गरेको भेटिएका फर्म, कम्पनी र प्रतिष्ठानलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ र ३९ अनुसार निरीक्षण अधिकृतले तत्कालै जरिबाना गरेका थिए ।

तर, तीमध्ये कतिपयले अहिलेसम्म रकम राजस्व खातामा जम्मा नगरेको र जम्मा गरेको प्रमाण पनि विभागमा नबुझाएको अभिलेखबाट देखिएको विभागले जनाएको छ । कति व्यवसायीले कति रकम तिर्न बाँकी छ भन्ने विवरण भने सूचनामा खुलाइएको छैन ।

उपभोक्ता संरक्षण ऐन र नियमावलीसँगै प्राइभेट फर्म रजिस्ट्रेसन ऐन, साझेदारी ऐन, कम्पनी ऐन, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, गुणस्तर (प्रमाण-चिह्न) ऐन र मुलुकी देवानी कार्यविधि संहिताअनुसार जरिबाना तिर्न बाँकी सबै व्यावसायिक फर्म, कम्पनी र प्रतिष्ठानलाई यो निर्देशन लागू हुन्छ ।

कहाँ तिर्ने ?

जरिबाना रकम हिमालयन बैंकको नयाँ बानेश्वर शाखामा राजस्व शीर्षक नम्बर १४३१२ र कार्यालय कोड ३०७०५३५०१ प्रयोग गरी जम्मा गर्नुपर्नेछ । रकम जम्मा गरेपछि सक्कल भौचर (रसिद) सहित विभागमा अनिवार्य रूपमा जानकारी दिनुपर्नेछ ।

थप जानकारीका लागि विभागको वेबसाइट doc.gov.np हेर्न वा टोल फ्री नम्बर ११३७ मा सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।

नतिरे के कारबाही हुन्छ ?

१. पसल सिलबन्दी र कारोबार रोक्का

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९(५) र दफा ४० बमोजिम सम्बन्धित फर्म, पसल वा प्रतिष्ठान सिलबन्दी गरी व्यावसायिक कारोबार तत्काल रोक्का गरिनेछ ।

२. दर्ता खारेज र इजाजतपत्र निलम्बनको सिफारिस

प्राइभेट फर्म रजिस्ट्रेसन ऐन, २०१४, कम्पनी ऐन, २०६३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम फर्म वा कम्पनीको दर्ता खारेज गर्न तथा अन्य सरकारी निकायबाट लिएका इजाजतपत्र र अनुमतिपत्र निलम्बन वा खारेज गर्न सम्बन्धित निकायलाई लेखी पठाइनेछ ।

३. सरकारी बाँकीसरह असुली

जरिबाना रकम सरकारी बाँकीसरह असुल गर्न मालपोत कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत व्यवसायीको चलअचल सम्पत्ति र बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाइनेछ ।

गत वर्ष ५३७ फर्मलाई जरिबाना

विभागले साउन ८ गते सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा ९६५ अनुगमन टोलीले ४ हजार ४८१ फर्म अनुगमन गरेका थिए । तीमध्ये ५३७ फर्मलाई कुल २ करोड ६१ लाख २३ हजार ३०० रुपैयाँ जरिबाना तोकिएको थियो ।

त्यस्तै, ३ हजार ४६२ फर्मलाई निर्देशन दिइएको थियो भने ३६२ फर्मसँग कागजात माग गरिएको थियो । ४ फर्मको सामान नष्ट गरिएको र एउटा फर्मको सामान फिर्ता पठाइएको थियो । ११५ फर्म सामान्य अवस्थामा भेटिएका थिए ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.